Skip to content


नारायण तिवारी नेपाली साहित्याकाशका चिरपरिचित स्रष्टा हुन् । सुनसरीमा जन्मेर विराटनगरमा स्थायी बसोबास गर्ने उनका आधा दर्जन कृतिहरू प्रकाशित छन् । २ कविता र ४ कथा विधाका सिर्जना प्रकाशित गराएका तिवारीको सद्य प्रकाशित कृति ‘शत्रु’ भित्र विभिन्न आकारका ३३ कथाहरू छन् । तिनीहरूले मानव जीवनका विकृति, विसङ्गतिदेखि समाजका उतारचढाव र असमानतासम्मको चिरफार गर्ने भरमग्दुर प्रयास गरेका छन् । मान्छेले मान्छेमाथि गर्ने चिथोमिचोदेखि आदिकालदेखि नै भइरहेका होची अर्घेलीसम्मलाई व्यथाको विषयवस्तु बनाएर लेखकले सुन्दर समाजको कल्पना गरेको आभाष हुन्छ । उनी कतै विचारको पर्खालमा चुर्लम्म डुब्छन् त कतै आस्थाको सगरमाथा छातीमा उभ्याउने भरमग्दुर प्रयासमा लाग्छन् ।

उनका कथाले राजनीतिदेखि समाजनीतिसम्म सबैलाई समेटेका छन् । बाहिर भलाद्मीको आवरणमा देखिने गरेका कतिपय स्वनाम धनहरू समेत भित्रभित्रै कति गनाइसकेका हुन्छन् भन्ने कुरालाई समेत यहाँ लेखकले चिरफार गरेका छन् । जीवनका विविध परिधिदेखि आरोहअवरोधसम्मको आन्द्राभुँडी केलाउन उनी दत्तचित्त भै लागेको देखिन्छ ।

आफैँबाट त्रसित अत्याचारी नेताको फेहरिस्त ‘हालखबर’बाट सुरू गरेर मान्छेको साथी मान्छे नै हो भन्ने सन्देश दिने ‘मान्छे’ कथा अन्तिममा समावेश गरिएका प्रस्तुत सङ्ग्रहले कतै सोझो कर्मचारीको बेहाल अवस्थाको चित्र उतारेको छ त कतै हेलिकप्टरले बम झारेर ध्वस्त बनाएको एउटा निरीह गाउँको कथा प्रस्तुत गरेको छ ।

यसैगरी ग्रामीण महिलाको दुःख, पीडा, गरिबले गरिबलाई मात्र शोषण गर्नसक्छ भन्ने सन्दर्भ, नैतिकता ह्रास हुँदै गएको प्रसङ्ग, ठूलाबडाको कुटिल मायाको अर्थ, आजका मानिसमा हुर्किएको अमर्यादित क्रियाकलाप र हराउँदै गएको नैतिकता, परिश्रम गरेर कमाएको र लुटेको धनबीचको तुलना, परिवर्तनले साँच्चै परिवर्तन नल्याई मात्र विसङ्गति बढाएको सङ्केत तथा स्वाभिमानीले कसरी आफ्नै मातहतका व्यक्तिहरूको समेत ताड्ना सहनुपर्छ भन्ने थुप्रै प्रसङ्गलाई लेखकले बडो सहज ढङ्गले अभिव्यक्त गरेका छन् । समग्रमा भन्दा प्रस्तुत सङ्ग्रह उच्च कोटिको आञ्चलिक कथा सङ्ग्रह हो भन्न सकिन्छ । यसले पूर्वी नेपालको विराटनगरको सेरोफेरोका आवाजलाई केन्द्रमा पुर्‍याउने प्रयास गरेको छ ।

कृति ः शत्रु (कथासङ्ग्रह)
कथाकार ः नारायण तिवारी
प्रकाशक ः साझा प्रकाशन
संस्करण ः पहिलो, २०६६
पृष्ठ ः १३०+ ६
मूल्य ः रु. १९५।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *