मेरी बहिनी पुतली १२ वर्षकी भई । अझै पनि उसमा बालापन गएको छैन । ऊ पुतलीजस्तै छुनमुन छुनमुन नाच्छे । जिस्कन्छे । ऊ दिनहुँ मलाई जिस्काउँदै भन्छे, “दाइ मलाई भाउजू ल्याइदेऊ न ।” म झन् उसलाई जिस्काउँदै भन्छु, “धत् मोरी ! मलाई यस्तो भन्छेस् । बरु तँलाईचाहिँ ज्वाइँ खोजेर पठाइदिन्छु ।”
मेरो कुराले ऊ ठुस्किन्छे । रिसाएझैँ गरेर भन्छे, “म तिमीसँग बोल्दिनँ के, कट्टी !”
साँच्चै, एकछिनसम्म ऊ बोल्दा पनि बोल्दिनँ । जिस्कँदा पनि जिस्किन्न । खाँदा पनि खाँदिनँ । दिक्क भएर म फकाउँदै भन्छु, “मलाई माफ गरिदे बहिनी ।”
“यत्तिकै माफ मागेर हुन्छ, २० चोटि उठबस गर,” उसले अड्को थाप्छे ।
“हुन्छ,” म २० चोटि उठबस गर्छु । ऊ अनुहार हँसिलो बनाएर भन्छे, “भन न दाइ, मलाई भाउजू कहिले ल्याइदिने ?”
उसको कुराले म दिक्क हुँदै भन्छु, “भोलि ल्याइदिन्छु ल !”
“आहा क्या मज्जा भोलि भाउजू आउने रे !” ऊ नाच्दै बाहिर निस्किन्छे ।
सानै हुँदा बुबाको मृत्यु भयो । आमा काखेनानीलाई लात्ती हान्दै अर्कै लोग्ने खोजेर गएपछि यो संसारमा बहिनीको म र मेरो बहिनीबाहेक अरू कोही छैन । त्यसैले सकेसम्म उसलाई आमा, बा र दाजुको माया दिने प्रयास गरेको छु । मनमनै सोचेको छु, बहिनीलाई डाक्टर बनाउँछु ।
मेरो सोचाइ अनुसार नै बहिनीले पढेकी छे । हाँस्दै आएर भनी, “दाइ ! म स्कुल फस्ट भएँ ।”
उसका कुराले मेरा आँखा भरिए । उसलाई अँगालो हाल्दै भनेँ, “स्याबास् बहिनी ! तँ डाक्टर बन्नुपर्छ ।”
उसले मलाई गिज्याउँदै भनी, “छोरो मान्छे रोएको त सुहाएन ब्यारे !”
“काँ म रोएको छु र !” हत्तपत्त आँखा पुछ्दै मैले भनेँ ।
बहिनी भित्र गई । जानासाथ आत्तिँदै बाहिर आई ।
“किन पुतली, के भो ? किन डराएकी ?” बहिनीको भययुक्त अनुहार देखेर मैले सोधेँ ।
“भित्र ढाडे बिरालो रहेछ, डर लाग्यो दाइ !” काँपेको स्वरमा उसले भनी ।
“धत् ! बिरालो देखेर पनि डराउने ? डाक्टर भएपछि रोगीको उपचार कसरी गर्छेस् ?” उसको भय हटाउने प्रयास गर्छु ।
“म त डाक्टर नबन्ने के ?” ऊ घुर्की लगाउँछे ।
“त्यसो नभन बहिनी,” उसको अनुहार हेर्दै म फकाउँछु । ऊ चुप लाग्छे ।
साँच्चै, भगवान्ले पनि हामी अनाथका आवाज सुनेर हो कि कुन्नि स्कुल जान थालेपछि बहिनीले कहिल्यै दोस्रो हुनुपरेको छैन ।
बुधबार सधँै हटिया लाग्ने हुँदा म हटियाबाटै सामान ल्याउने गर्छु । आज पनि हटिया भएकाले बहिनीलाई खाना खुवाएर स्कुल पुर्याएँ । र, घर आएर झोला बोकी हटियातिर लागेँ ।
हटियामा बहिनीलाई मनपर्ने चुरा, धागो, माला र केही कथाका पुस्तकहरू किनेँ । घरायसी सामान पनि किन्दा झमक्क साँझ पर्यो । हतारहतार घरतिर आएँ ।
अचम्म ! घरमा आइपुग्दा बहिनी रहिनछ । अज्ञात भयले मन काम्न थाल्यो । यति ढिलासम्म बस्ने ठाउँ नै कहाँ छ र उसको ? मनभरि प्रश्नका थाक लागे ।
ऊसँगै पढ्ने उसकी साथी कमलीको घरतिर लागेँ ।
घरका सम्पूर्ण व्यक्ति एउटै गाँठो परेर गफ गरिरहेका रहेछन् । म पुग्नासाथ उनीहरू चुप लागे । जानासाथ हत्तपत्त मैले सोधेँ, “पुतली किन स्कुलबाट आइन ?”
कमली टुलुटुलु हेरिरही मात्र, केही बोलिन ।
“किन बोल्दिनौ ? भन न !” म एकाएक चिच्याउन थालेछु ।
म चिच्याएको सुनेर कमलीले पिलपिल आँसु मात्र झारिरही ।
अब भनेँ मलाई भाउन्न होलाजस्तो भयो । फनन रँिगटा लागेर आयो । ओठतालु सुक्यो । सोधेँ, “हैन के भयो मेरी पुतलीलाई, किन बोल्दिनौ कमली ?”
बल्ल उसले लर्बराउँदै भनी, “दाइ पुतलीलाई त माओवादीहरूले लगे ।”
म रोएँ । चिच्याएँ । सम्पूर्ण गाउँलेहरू मूकदर्शक मात्र बने ।
धेरै बेरपछि घर फर्किएँ । आँखाभरि बहिनीको आकृति सजीव बनेर आयो ।
बिचरी मेरी बहिनी बिरालो देख्दा मात्र पनि डराउँथी । मबिना कहिल्यै पनि राती एक्लै सुत्दैनथी । अहिले के गर्दै होली ? ती पापीहरूले मेरी बहिनीलाई के गर्दै होलान् ? दाइ भनेर मलाई सम्झेर कति रुँदी हो ? म नभई कहिल्यै एक्लै नसुत्ने मेरी बहिनी अब कोसँग सुत्दी हो ! सोच्दासोच्दै आँखाभरि आँसु आएर पूरै सिरानी भिजिसकेछ ।
निन्द्रा कोसौँ टाढा भागिसकेको थियो । आँखाभरि बहिनी मात्र आइरहेकी थिई । बिचरी रुँदारुँदा नीलो भएकी होली । सम्झँदा सम्झँदै डाँको छोडेर रुन मन लाग्यो ।
मनभरि अनेक कुरा खेलिरहेका थिए । ढोकामा ढक्ढक्को आवाज आयो । घडी हेरेँ, रातको १२ बजेको रहेछ । एकछिनसम्म लगातार ढोका बजिरहेपछि ढोका खोलेँ । १५/२० जना मान्छेहरू कम्ब्याट ड्रेसमा हतियारसहित आएका रहेछन् । बहिनी तिनीहरूको बीचमा निन्याउरो अनुहार लगाएर उभिएकी रहिछे ।
हामी दुवैका आँखा जुधे । रुँदारुँदा ऊ नीली भइछ । आँखाभरि आँसु छचल्किरहेको थियो । उसको भययुक्त अनुहार देखेपछि एकैछिन थामिएको मेरो आँखाबाट पनि आँसु र्झन सुरु भयो । म रुन थालेको देखेर कमान्डरजस्तो देखिने जुँगामुठेले भन्यो, “नरुनूस् दाइ ! तपाईंकी बहिनीलाई हामीले यत्तिकै लगेका होइनौँ । बुर्जुवा शिक्षा पढेर के काम ? देश र जनताको मुक्तिका लागि एक मात्र उपाय क्रान्ति हो । त्यसैले क्रान्ति गर्नका लागि हामीलाई तपाईंकी बहिनीजस्ती बहादुर युवतीको खाँचो छ ।”
यति भन्दा नभन्दै ऊ बहिनीलाई लिएर गायब भयो ।
जाने बेलामा बहिनीले पुलुक्क मलाई हेरी । कठै त्यो उज्यालो अनुहार कसरी एकै ठाउँमा गाँठो परेको ? बिचरी ! कलम बोक्ने हातले अब कसरी राइफल समात्ली ? किताब बोक्ने पिठ्यूँमा अब कसरी बन्दुकको भारी बोक्ली ? ती कोमल हातले कसरी बम र बन्दुक चलाउली ? फनन्न रँिगटा लाग्यो, बेहोस् भएँछु । भोलिपल्ट अबेला मात्र आँखा खुल्यो ।
बिचरी बहिनी अहिले के गर्दै होली ? बहिनीको मात्र तर्कनाले मन अटेसमटेस भयो । रोएँ, आँसु बगाएँ, चिच्याएँ । रुनुबाहेक अरू के नै विकल्प थियो र ?
बहिनीलाई लगिसकेपछि म नितान्त एक्लो थिएँ । के गर्ने जीवन बाँच्नु नै पर्ने रहेछ । बहिनीको यादमा उसलाई केही नहोस् भनी भगवान्को नाम पुकार्दै दिनहरू बिताउन थालेँ ।
बेलाबेलामा रेडियोमा डरलाग्दा समाचार सुन्थेँ । भिडन्त र युद्धका समाचार सुन्दा आङ जिरिंग हुन्थ्यो । बहिनीलाई सम्झन्थेँ । के मेरी बहिनीले हानेको बम लागेर सुरक्षाकर्मी मारिएका होलान् त ? कसरी प्रहार गरी होली मेरी बहिनीले बम ? सुरक्षाकर्मीबाट आतंककारी मारिएको समाचार सुन्नासाथ झन् पेट पोल्न थालिहाल्थ्यो । कतै मेरी बहिनी त परिन ?
विभिन्न हिंसात्मक समाचार सुन्दैमा दिनहरू बितिरहेका थिए । यत्तिकैमा बहिनीको लामो चिट्ठी मेरो हातमा पर्यो ः
आदरणीय दाइ अभिवादन !
दाइ, अहिलेसम्म म आरामै छु । हजुर पनि आरामै हुनुहुन्छ भन्ने विश्वासमा छु ।
दाइ जीवनको आरोह-अवरोह पनि कस्तो ? पढेर ठूलो डाक्टर बनेर रोगीहरूको सेवा गर्छु भन्ने सोचेकी थिएँ तर त्यो पूरा हुन पाएन । के गर्ने भाग्यमा जे लेख्यो, त्यो मात्र पाइने रहेछ ।
दाइ पहिले पहिले त मलाई खुब डर लाग्थ्यो । डर मेट्नका लागि कमरेडहरूले पटकपटक उत्तेजक औषधी पनि खुवाए । विस्तारै यस्तै त रहेछ नि जस्तो लाग्यो । बानी पर्दै जान थाल्यो । अहिले त मलाई डर भन्ने नै मेरो जिन्दगीको शब्दकोशबाट हराइसकेजस्तो लाग्छ ।
दाइ ! तपाईंबाट अलग भएको दिन म धेरै रोएँ । तपाईंको यादले कति दिनसम्म खाना पनि खाइनँ । निर्जन पहाडतिर गाउँलेसित खाना मागेर खान सिकाए । त्यसपछि विस्तारै बन्दुक चलाउन, घस्रिन, अग्लो ठाउँबाट हाम फाल्न सिकाए ।
करबि तीन महिनाको तालिमपछि म लड्नका लागि तयार भएँ । त्यसपछि खलंगा, गोकुलेश्वर, मंगलसेन, लम्कीलगायतका भिडन्तमा सामेल भएँ ।
दाइ ! युद्धमा जाने सिपाही कि मर्छ कि मार्छ । आफ्नो ज्यानलाई तरबारको धारमा राखेर हिँड्न अत्यन्त कठिन हुँदो रहेछ । एकपल्ट गोरखाको आँबुखैरेनीमा दुस्मनले थाहा पाएर आफ्नो घेरामा पार्न खोजेपछि म भाग्दा भीरबाट लडेँ । अब त पक्कै मर्ने भएँजस्तो लागेको थियो । साह्रै गाह्रो भयो । मरौँ मरौँ जस्तो पनि लाग्यो । तर, यति धेरै दुःख पाउनु लेखेको रहेछ, मर्न कहाँ सकिन्छ र !
अँ दाइ ! मैले बिहे पनि गरेकी छु, हाम्रै जनमुक्ति सेनाको कमान्डरसँग । मेरो बिहे कति धुमधामसँग गरििदन्छु भन्नुहुन्थ्यो हगि के गर्नु आफू यतातिर आइयो ।
दाइ थाहा छैन यो चिट्ठी तपाईंसम्म पुग्दा म दुस्मनको घेरामा परसिकेकी पनि हुन सक्छु । बाँचँे भने अवश्य भेट्नेछु । बिदा ।
तपाईंकी अभागिनी बहिनी
पुतली, कमरेड कदम
बहिनीको चिट्ठी पढ्नासाथ मलाई चिच्याउन मन लाग्यो तर सकिनँ । आँखाबाट आँसुका ताता दाना मात्र बर्सिए ।
दिनहरू बितिरहेका थिए । राजाको असंवैधानिक कदमको विरोधमा देशभर आन्दोलनको आगो सल्कियो । राजसंस्था पतन भयो । जनआन्दोलनको सफलतापछि ०६३ जेठमा युद्धविराम भयो । युद्धविरामपछि माओवादीहरू जंगल छोडी बाहिर आए । एकदिन बेलुकी सुनेँ, बहिनीलाई चितवनको शक्तिखोरमा ल्याइएको छ रे
मन खुसीले फुरुंग भयो । बहिनीलाई कहिले भेट्न पाउँला भनेर छट्पटी भयो । एकरात पनि एक दशकजस्तो लामो लाग्न थाल्यो ।
बिहान चारै बजे उठेर कलंकीबाट चितवनतिर हान्निएँ ।
बहिनीलाई दाजु भेट्न आएको छ भनेर खबर पठाएँ । केही क्षण गेटमै उभिरहेँ ।
एकैछिनपछि एउटा कम्ब्याट पोसाक लगाएकी जवान युवती सुस्त चालमा आई । आउनासाथ लाहुरे छाँटमा अभिवादन गरी, “दाइ सञ्चै हुनुहुन्छ ?” निन्याउरो अनुहार बनाएर उसले सोधी । म उसलाई निर्निमेष हेर्न थालेँ । आम्मै पुतली त कति ठूली भइसकिछ ! पहिलेभन्दा कति राम्री पनि भएकी ! अब त उसलाई एक्लै सुत्ने बानी परसिक्यो होला हगि ? उसलाई देख्नासाथ मनभरि कुरा खेल्न थाले ।
“कस्तो छ बहिनी तँलाई ?” मैले सोधेँ ।
“ठीकै छ दाइ !” यसभन्दा बढी ऊ बोलिनँ ।
“अनि, ज्वाइँलाई देखाउँदिनस् त बहिनी !” उत्सुकतापूर्वक मैले सोधेँ ।
“ज्वाइँ त काठमाडौँ गा’छन्, पार्टीको कामले,” सहजताका साथ उसले भनी ।
“बहिनी कसरी बस्छेस् यहाँ, हिँड घर जाउ“,” मैले त्यहाँको स्थिति ठीक नदेखेर उसलाई लान खोजेँ । तर, उसले मेरो कुरा स्वीकार गरनिँ, अरूले सुन्लान्झैँ गरी विस्तारै भनी, “पठाउँदैनन् दाइ !”
“यस्तो जाडोमा कसरी बस्छेस् त यहाँ ? घरमा गएर सिरक-डसना लिएर आउलिस्, हिँड !” मैले उसलाई लैजाने प्रयास गर्दै भनेँ ।
ऊ एकैछिन मौन बसी । एकैछिनपछि लामो सास फेर्दै भनी, “देश र जनताको मुक्तिका लागि हिँडेको मान्छेलाई यस्ता मसिना कुरा नसोध्नूस् दाइ !” उसका कुराले म अवाक् भएँ ।
समयसँगै मान्छे पनि कति सजिलै परविर्तन हुँदो रहेछ । मेरी बहिनी पनि परविर्तन भइसकीजस्तो लाग्यो । एकछिन गन्थन गरेर म त्यहाँबाट बिदा भएँ । घर पुगेपछि झन् पीडा भयो । बहिनीको पहिलेको र अहिलेको परविर्तित स्थिति सम्झेर आँखाबाट आँसु झरे ।
दिनहरू बितिरहेका थिए । बहिनीको यादले बेलाबेलामा सताए पनि ऊ असाध्यै खुसी छे जस्तो लाग्दै जान थालेको थियो ।
एकदिन साँझ भात खाएर सुत्न जान मात्र के लागेको थिएँ, बहिनी टुप्लुक्क दैलोमा आइपुगी । अचानक दैलोमा देख्दा सपना हो कि जस्तो लाग्यो । आउनासाथ मलाई अभिवादन गरी ।
ओहो ! पुतली के विधि दुब्लाएकी ? अनुहार पनि किन यस्तो एकतमासको, फुंग उडेजस्तो ! बहिनीलाई देख्नासाथ आँखाभरि आँसु जम्यो । एकछिनसम्म हामीहरूबीच हेराहेर मात्र भयो । बोली फुट्न सकेन । एकछिनपछि आफ्नो मन सम्हाल्दै सोधेँ, “बहिनी किन एक्कासि खबरै नगरीकन आइस् नि ! एक्लै आइस् कि ज्वाइँ पनि ?”
मेरो कुरा सुन्नासाथ ऊ डाँको छोडेर रुन थाली । रुँदै भनी, “दाइ ! म बर्बाद भएँ । लोग्ने भनाउँदोले पनि मलाई छोडिदियो । मेरो पेटमा सात महिनाको गर्भ छ । अनमिनले अयोग्य लडाकू भनेर शिविरबाट निकालिदियो । जनताको मुक्तिका लागि भनेर युद्ध लडियो, अहिले रस चुसिसकेपछिको उखुझैँ फालिदिए ।
बहिनीको कुराले मन अमिलो भयो । सान्त्वना दिँदै भनँे, “नरो बहिनी जे हुनु भइसक्यो, अब पीर मानेर मात्र के गर्नू ? हिँड माथि ।”
नेपाल साप्ताहिक ४२८

ke garnu yestai ho. parti ma
ke garnu yestai ho. parti ma lagnu nai galat thiyo.
sitaram phuyal
मन रोयो, आँशुनि’ झर्यो…
कथामा ब्यथा छ…
कुण्ठा भक्कानो छाडेर रुन मिलेन… थोपा आँशुमै चित्त बुझाउनुस।