भीमसेन महाभारतका अत्यन्च चर्चित र श्रेष्ठ योद्धाका रूपमा वणिर्त पात्र मध्येका एक हुन् । उनी सुगठित शरीरले युक्त, अग्ला र भयङ्कर स्वरूपका थिए भनी विभिन्न पौराणिक ग्रन्थमा उल्लेख उनको यसै अजङ्गको आकार प्रकारको स्मरण गर्दै हाल सम्म पनि कुनै ठूलो स्वरुप भएको मानिसलाई ‘भीमकाय’ आकारको भनी वर्णन गर्ने गरिन्छ ।
भीमसेन अत्यन्त चर्चित, सुरवीर, साहसी र पराक्रमी योद्धा थिए । महाभारतको युद्धमा पाण्डवले विजय प्राप्त गर्नुमा यिनको ठूलो योगदान रहेको थियो । बाहुवलमा र विशेष गरी गदा युद्धमा अद्वितीय यिनको व्यक्तित्वको कमजोरीको रूपमा उनको हठी, अभिमानी, घमण्डी वा आत्म-श्लाघी स्वभावलाई लिएको पाइन्छ तर यस्ता झीना मसिना कमजोरी उनको ओजस्वी, तेजस्वी र महारथी व्यक्तित्वका गुणबीच त्यसै ओझेलमा पर्ने गर्दछन् ।
भीमसेन वायुतर्फबाट जन्मेका पाण्डुका दोस्रा सन्तान अर्थात् कौन्तेय हुन् । वायुलाई शिवकै रूप मानिन्छ । त्यसैले भीमसेनलाई शिवकै अंशको रूपमा पनि ग्रहण गरिएको पाइन्छ । भीमसेनलाई हिन्दु मात्र नभएर बौद्ध धर्मावलम्बीले पनि मान्ने गरेको कुरा महìवपूर्ण छ । “आर्य श्री महाभीमसेन नाम धारिणी” नामक ग्रन्थमा उनलाई सर्वज्ञ अथवा बुद्ध पनि भनिएको छ । भीमसेनलाई गदा लिने रूद्र पनि भनिएको छ । यिनै भीमसेनको अर्को नाम बज्रमहाकाल पनि हो । यसले भीमसेनलाई तान्त्रिक बौद्ध सम्प्रदाय बज्रयानसँग पनि सम्बन्ध गराएको देखिन आएको छ । । यद्यपि भीमसेनलाई गणेश भनिएको पाइन्न तर बृहत्स्तोत्ररत्नाकर मा गणेशलाई भीम भनिएको कुरा यहाँ स्मरणीय छ । शिवका आठ नाममध्ये एक भीम पनि हो ।
अतः पञ्चपाण्डवमध्येका एक बलिष्ठ योद्धा भीमसेन महाभारत कालसँगै देखा परेका हस्तिनापुर राज्यका राजकुमार हुन् जो कालान्तरमा हिन्दुमा भीमसेन देउताको रूपमा पुजिन थाले र पछि आएर बौद्ध धर्मको महायान सम्प्रदाय अन्तर्गत विकास भएको अर्को सम्प्रदाय बज्रयानले पनि उनलाई देवताको रूपमा अंगिकार गर्न थाल्यो र हिन्दु तथा बौद्धधर्ममा भीमसेनको सर्वत्र पूजा उपासना हुन थाल्यो तर भारतवर्षमै जन्मेका र उनको कर्मभूमि पनि भारत नै भए पनि भारतको मध्यप्रदेशका गोण्डामा भीमसेन जलदेवताको रूपमा उपास्य हुने गरेको प्रसङ्गलाई अपवाद मान्ने हो भने सम्पूर्ण भारतमा कहीं कतै पनि भीमसेनको खासै पूजा उपासना हुने गरेको पाइन्न ।
नेपालमा भीमसेनको पूजा कहिलेबाट सुरू भयो एकिनसाथ भन्न सकिन्न तर मध्यकालीन नेपालमा व्यापारीका माझ यी भीमसेन अत्यन्त लोकप्रिय भएको विभिन्न किंवदन्ती तथा ऐतिहासिक स्रोतले स्पष्ट पार्दछन् तर मध्यकालीन नेपालमा त्यति धेरै ख्याति पाएका भीमसेनको नाममात्र पनि लिच्छविकालीन कुनै अभिलेखमा नपर्नु आश्चार्यको कुरा हो । लिच्छविकालका केही अभिलेखमा भने व्यापारी नाइकेलाई बुझाउने ‘सार्थवाह’ शब्दको प्रयोग भएको तथा नेपालको चीन तथा भारतसँग व्यापार चल्ने गरेको प्रत्यक्ष परोक्ष प्रमाण पाइन्छन् । मध्यकालका झैँ ती व्यापारी पनि आफ्नो अभिष्ट सिद्धिका लागि भीमसेनको पूजा गर्थे कि भनी अनुमानसम्म गर्न सकिन्छ ।
जे भए पनि भीमसेन व्यापारीका लोकप्रिय देउता भएको कुरामा दुईमत छैन । भीमसेनका लागि प्रयुक्त वाणिज्यकदेव, मार्गदेव, मार्गविघ्नहर जस्ता शब्दले पनि भीमसेनको व्यापारसम्बन्धी स्वरूपलाई प्रष्ट्याइएको हुन्छ भने प्रमुख व्यापारिक मार्गमा भीमसेनका थान र मन्दिर रहनुले पनि यसको महìवलाई बुझाउँछ । दोलखा भीमसेनस्थान, धरानको क्षेत्रपाल भीमसेन तथा भीमफेदी आदि यस्ता व्यापारमार्गमा पर्ने भीमसेनका मन्दिर हुन् । प्राचीनकालमा विभिन्न जंगली जनावरबाट बच्दै साँगुरो पहराको बाटो हुँदै खोला र जङ्घार तर्दै महिनौ लाग्ने व्यापारका लागि निस्कँदा त्यस्ता विघ्न बाधाबाट बच्न बहादुर एवं दसहात्ती बराबर बल भएका भीमसेनको उपासना गरी आव्हान गरिनु यहाँको भूगोल अनुसार पनि अर्थपूर्ण लाग्दछ ।
जहाँसम्म नेपालमा भीमसेनको मूर्ति स्थापना गरी पूजा गर्ने परम्परा छ सो भने ई. को बाह्रौ शताब्दीदेखि मात्र सुरू भएको देखिन्छ तर पशुपतिनाथ मन्दिरको दक्षिणपट्टकिो छानो थाम्न प्रयुक्त टुँडालमा द्रौपदीका साथ पञ्च पाण्डवको रूपमा भीमसेनले स्थान पाउनु पनि यहाँ विचारणीय छ । यदि यो मन्दिरको कला तथा वास्तुकला प्राचीन शैली कै निरन्तरता हो भने भीमसेनको मूर्ति बनाइने परम्परा नेपालमा प्राचीन मान्नु पर्ने हुन्छ । भाषा वंशावली भाग दुई तथा देवमाला वंशावलीमा पनि उपत्यकामा भीमसेन स्थापनाको प्रसङ्ग परेको छ, जसअनुसार ने.सं. २६० मा यहाँ पहिलोपटक भीमसेनको स्वतन्त्र मूर्ति स्थापना गरी पूजा गर्न सुरू गरेको बुझिन्छ तर पनि भीमसेनसम्बन्धी अभिलेख प्रमाण भने ने. सं. ६६० तिर देखि मात्र पाइन्छ ।
जेहोस् मध्यकालतिर आएर भीमसेनका थुप्रै मन्दिर बने । तिनमा कतिपयमा ठूला र विभिन्न आकार प्रकारका ढुङ्गालाई भीमसेन देवता मानियो भने कतिपय ठाउँमा बलिष्ठ भीमसेनका दुई बाहु वा चारबाहु भएका प्रस्तर, धातु या काष्ठका मूर्ति स्थापना गरी पूजा उपासना गर्ने गरिएको पाइन्छ । हुन त भीमसेनको प्रतिमा बनाउँदा भयानक, डरलाग्दो, रक्त वर्ण भएको स्वेतवस्त्रधारी, जटाकुमुट युक्त, चार बाहु भएको जसमा दुई बाहुमा शुल र पास तथा अर्को दुई हातमध्ये एक वरद मुद्रामा र अर्को अभयमुद्रामा देखाउनु पर्दछ भन्ने उल्लेख छ । खासगरी नेवार समुदाय प्राचीनकालदेखि नै व्यापारमा बढी संलग्न रहने गरेको हुँदा विभिन्न नेवार बस्तीमा नै ज्यादा भीमसेनका मन्दिर तथा मूर्ति रहेको पाइन्छ ।
