बौद्धमार्गीका लागि काँक्रेबिहारलाई बौद्ध बिहार हो भने हिन्दुहरूका लागि हिन्दु मन्दिर । मान्यता वा धारणा बेग्लाबेग्लै भए पनि नेपालको इतिहासमा काँक्रेबिहार एउटा पुरातात्विक महत्त्वको थलो रहेकोमा विवाद छैन ।
झण्डै एक दशकअघि पुरातत्व विभागले सुर्खेत उपत्यकाको लाटी कोइलीगाउँमा उत्खनन गरेर बुद्धका मुर्तिसहितका भग्नावशेष फेला पारेपछि विश्वकै ध्यान यसतर्फ तानिएको हो । मध्य कालमा निर्माण भएर लामो समय गुमनाम रहेको काँक्रेबिहारले त्यसपछिका दिनमा निकै चर्चा पाएको हो । पुरातात्विक महत्व, इतिहास र कलाकृतिको खुल्ला विश्वविद्यालय, सींजा उपत्यकाका खस राजाहरूको इतिहास र धर्मको खोज-अनुसन्धानका दृष्टिले मात्र होइन, पर्यटकीय दृष्टिले पनि यो क्षेत्र महत्वपूर्ण भइसकेको छ ।
यसैलाई केन्द्रविन्दु बनाएर थुप्रै विदेशी बौद्धभिक्षुले पश्चिम नेपालको महाचैत्य लुम्बिनीपछिको ठूलो र पुरानो बिहारको रुपमा काँक्रेबिहारको दर्शन गरिरहेका छन् । बुद्धको बारेमा अध्ययन गर्ने विद्यार्थीका लागि त यो झन अन्वेषणको नयाँ विषयवस्तु बनेको छ । यद्यपि सुर्खेतका धार्मिक संस्थाहरूले काँक्रेबिहारलाई एकलौटी रुपमा आफ्नो धर्म र दर्शनसँग सम्बन्धित रहेको भनी दाबी गर्ने गरेका छन् ।
काँक्रेबिहार नेपालको मध्य पश्चिम क्षेत्रमा अवस्थित सुर्खेत जिल्लाको बीच भागमा पर्दछ । चुरे पर्वत र महाभारत पर्वतशृङ्खलाबीचमा रहेको सुर्खेत जिल्लामा सानाठूला गरी धेरै उपत्यका पाइन्छन् । यीमध्ये सुर्खेत उपत्यका सबैभन्दा ठूलो रहेको छ, जुन पूर्व पश्चिम भएर फैलिएको छ । सुर्खेत उपत्यकाकै लाटीकोइली गाउँमा डेढ किलोमिटर पूर्व पश्चिम भएर फैेलिएको करिब सय मिटर अग्लो डाँडामा काँक्रेबिहार छ । उक्त स्थान वीरेन्द्रनगर नगरपालिकाको मङ्गलगढीबाट दक्षिण पुर्वमा करिब पाँच किलोमिटर टाढा पर्दछ ।
विभिन्न देवदेवी
बाहांै शताब्दीमा निर्माण भएको र साठी फिट अग्लो काँक्रेबिहार शिखर शैलीमा रहेको बताइन्छ । बौद्ध धर्म प्रचलनमा रहेका जापान, चीन मुख्यभूमि र चीन स्वशासित क्षेत्र तिब्बतका पुरातत्वविद्हरू सो क्षेत्रबारे अध्ययन गर्न आउने गरेका छन् ।
पुरातत्व विभागले काँक्रेबिहारको अवशेषका रुपमा रहेका ढुङ्गाहरूलाई मिलाएर दुई चरणमा गरी चारैतिरबाट खुड्किलाहरूको पुनर्निर्माण गरेको छ । पुनर्निर्माण भएको स्थानको पूर्वदक्षिणमा एउटा सानो कोठा छ । यत्रतत्र छरिएर रहेका बहुमूल्य ढुङ्गाहरूको संरक्षण एक वर्षयता मात्र थालिएको छ । वन क्षेत्रमा रहेकाले पानी, घाम, हावाबाट मात्रै होइन, स्वदेशी तथा विदेशी पर्यटकहरूबाट बचाउन टहरा बनाएर जाली ठोकिएका छन् । बेवारिसे अवस्थामा रहेको त्यस्ता ढुङ्गाहरू पुरातात्विक महत्वका भएकाले विभागद्वारा अङ्क लेख्ने काम भने भएको छ ।
मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथ लगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् । शिव, पार्वती र सरस्वतीका मुर्तिहरू पनि पाइन्छन् ।
बौद्धमार्गीको बसोबास
काँक्रेबिहार वन क्षेत्रको प्रवेशद्वारमा थुप्रै बौद्धमार्गीले बसोवास गरेको पाइन्छ । हिन्दु धर्ममा आस्था राख्नेहरू पनि छन् । बौद्धमार्गीको रुपमा रहेका नेवारहरू, गुरुङहरूको पनि बस्ती नै छ । काँक्रेबिहारमा बौद्धमार्गीहरूले बौद्ध स्तुपा, स्वयम्भूमा राख्ने गरेको बुद्धका उपदेशहरू लेखिएका कपडाका ध्वजाहरू राखिएका छन् ।
धारणा
सुर्खेतका समाजसेवी तथा प्रकृतिवादी नारायण शर्माले सिंजा उपत्यकाका खस राजाहरू रिपु मल्ल, अशोक चल्ल र प्रचल्लको शासन वि.सं. १२४५ देखि १३७५ सम्ममा शिखर शैलीको बिहार निर्माण भएको बताउनुभयो । ती खस राजाहरू बौद्धमार्गी भए पनि धार्मिक सहिष्णुभाव राख्ने भएकाले शिव, पार्वती र सरस्वतीका मूर्तिहरूलाई पनि स्थान दिइएको हुनसक्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार, भारतको गढवाल (पहिले नेपालको भूभाग) मा भेटिएका शिखर शैलीका बिहारसँग काँक्रेबिहारको शैली मिल्दछ । त्यसबाट सिंजा उपत्यकाको प्रविधि त्यहाँसम्म फैलिएको अनुमान गर्न सकिन्छ । काँक्रेबिहारको यथार्थ इतिहासलाई बाहिर ल्याउन सकिएमा सिंजा उपत्यका र दैलेख डल्लुका खस राजाहरूका बारेमा पनि बुझ्न उपयोगी सिद्ध हुन्छ । बेलायती पुरातत्वविद्ले अध्ययनपछि हाल भारतमा रहेको गढवालमा पनि सोही प्रकारका बिहार रहेको उल्लेख गरेका छन् ।
लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा इतिहासविद् प्रा .डा. त्रिरत्न मानन्धर काँक्रेबिहार बौद्ध बिहार भएको बताउनुहुन्छ । बिहार भनेपछि बुद्धत्वसँग सम्बन्धित हुने भएकोमा जोड दिँदै उहाँले नेपालमा हिन्दु धर्मको अतिक्रमणको चपेटामा काँक्रेबिहार पनि परेकाले त्यहँा पछि शिव-पार्वती र सरस्वतीको मुर्ति स्थापना गरिएको हुनसक्ने बताउनुभयो ।
कणर्ाली प्रदेशमा उहिल्यैदेखि नै बौद्ध संस्कृतिका बारेमा अभिलेखहरू रहेको इतिहासविद्हरूका भनाइ छ । तत्कालीन खस राजा रिपु मल्लले कणर्ाली क्षेत्रमा बुद्ध धर्मर् प्रचार गरेको पाइन्छ । नेपालमा धार्मिक सहिष्णुता रहेकाले अन्य क्षेत्रमा जस्तै काँक्रेबिहारमा पनि बौद्ध र हिन्दु देवदेवीका मूर्ति राखिएको हुनसक्ने अनुमान पनि सहजै गर्न सकिन्छ । यसैगरी, कणर्ाली प्रदेशका अर्का तत्कालीन राजा जितारी मल्लले नेपाल संवत ४०९ मा नेपाल उपत्यकामा आक्रमण गरी हिन्दु र बौद्ध देवदेवीको पूजा गरेर फेर्केको इतिहास पनि छ ।
पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्कीले भने मन्दिर वा बौद्धबिहार जे भने पनि ढुङ्गाको प्रकृति, आकार, बनोटको आधारमा पूर्ण रुपमा नबनेको बताउनुहुन्छ । उहाँले बौद्ध बिहार हो वा मन्दिर भन्ने बारेमा र कसले बनाउन लगाएको हो भन्ने बारे कुनै पनि ठोस प्रमाण नभेटिएको पनि उल्लेख गर्नुभयो ।
उहाँले कुन शैलीमा निर्माण हुन लागेको हो भन्ने बारेमा द्विविधा रहेको बताउँदै ढुुङ्गाका जोर्नीहरू पर्याप्त नभएकाले निर्माण कार्यसँगै भत्केको हुनसक्ने र स्थापना नै नभएको हुनसक्ने पनि बताउनुभयो । उहाँका अनुसार, पुरातत्वविद्हरूको अनुसन्धान कार्य जारी छ र अहिलेसम्म ठोस प्रतिवेदन आएको छैन ।
सहायक रेसम मार्ग
सुर्खेत उपत्यका मध्यकालमा व्यापार, कला र संस्कृतिको सङ्गमस्थल रहेको पाइन्छ । भारत भएर वर्तमान चीन स्वशासित क्षेत्र तिब्बत र चीन मुख्यभूमि वा मध्य एसियासँग सम्पर्क गर्न नेपालको दक्षिणमा रहेको पश्चिम तराई भएर सिंजा उपत्यका र डल्लु भएर रेसम मार्ग छुने गरिएको बताइन्छ ।
समाजसेवी तथा प्रकृतिवादी नारायण शर्माले बेलायती पुरातत्वविद्हरूका भनाइ उद्धृत गर्दै पूर्व पश्चिम भएर एसियादेखि युरोपसम्म फैलिएको रेशम मार्ग ‘सिल्क रोड’ सँग दक्षिण मधेसबाट सुर्खेत काँक्रेबिहार भएर जुम्लामार्फत् जोडेको इतिहास फेला पार्न सकिने विश्वास ब्यक्त गर्नुभयो । यसैगरी, सुर्खेतलाई केन्द्र मानेर पूर्व पश्चिम बाटो भएकाले यही बाटो भएर (हाल भारतमा पर्ने) गढवाल जाने परम्परा पनि रहेको बताइन्छ ।
खुल्ला संग्रहालय
शिखर शैलीमा बौद्ध बिहार वा मन्दिर बनाउने भन्ने विषयमा बहस भइरहेको भए पनि सम्बन्धित निकायले ध्यान नदिएकाले अब काँक्रेबिहारलाई संरक्षित वन भित्रको खुला सङ्ग्रहालयको रुपमा विकसित गरिने थाहा हुन आएको छ । यद्यपि सरकारले यससम्बन्धी कुनै पनि नीति नियम बनाएको छैन । इतिहासको धरोहरको रूपमा रहेको मध्यकालमा निर्माण भएको काँक्रेबिहारलाई खुला सङ्ग्रहालय बनाउने योजनालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गरिनुपर्ने माग भने स्थानीय वासिन्दाको छ ।
निर्माण बजेट
करिब ६० फिटको उचाई हुने काँक्रेबिहारको पुनःनिर्माणका लागि करिब चार करोड रूपियाँ आवश्यक पर्ने पुरातत्व विभागको अनुमान छ । शाहीकालमा उक्त विषयमा चासो देखाइएको भए पनि अहिले सरकार मौन देखिन्छ ।
ढुङ्गा चोरी
विभिन्न पक्षका आ-आफ्ना तर्क चलिरहेको बेला काँक्रेबिहारका बहुमूल्य र पुरातात्विक महत्वका ढुङ्गाहरूमा स्थानीय वासिन्दाले नोक्सान पुर्याइरहेका छन् । ढुङ्गामा विभिन्न नाम लगायत विभिन्न कुरा लेख्ने, कोर्ने सामान्य भएका छन् । केही ढुङ्गा त स्थानीय वासिन्दाले चोरेर लेगेको आरोप लगाउनेहरू पनि छन् ।
प्राकृतिक सौन्दर्य
प्राकृतिक सौन्दर्यको दृष्टिले पनि काँक्रेबिहार महत्वपूर्ण देखिन्छ । त्यहाँ विभिन्न प्रकारका रुख र वनस्पति रहेको संरक्षित हरियाली वनभित्र विभिन्न प्रकारका चराचुरुङ्गीहरू, पुतलीहरू हेर्न सकिन्छ । जङ्गली चौपायाहरू पनि देख्न पाइन्छ । मृग, हरिणहरू पनि पर्याप्त पाइने स्थानीय वासिन्दाहरूको भनाइ छ । उक्त स्थानमा एउटा भ्यू टावर निर्माण गर्ने हो भने सुर्खेत उपत्यकामा रहेकेा सानो सुर्खेत (दक्षिणी भाग) र ठूलो सुर्खेत (वीरेन्द्रगर नगरपालिका रहेका भाग) को दृश्यावलोकन राम्रोसँग गर्न सकिन्छ । त्यहाँबाट बुलबुले ताल र देउती बज्यै मन्दिरलगायत सुर्खेतका फाँटहरू राम्ररी देख्न सकिन्छ । विभिन्न स्थानमा पिकनिक स्थल निर्माण गर्न सकिएमा काँक्रेबिहारको लोकपि्रयता झनै बढ्ने छ ।
आन्तरिक पर्यटनमा प्रवर्द्धन
काँक्रेबिहारका बारेमा ठोस रुपमा अनुसन्धान गर्न देश विदेशका पुरातत्वविद् र इतिहासविद्ले सो क्षेत्रमा अध्ययन-भ्रमण गरिसकेका छन् । एकातिर धार्मिक आस्था र अर्कोतिर विवादको कारण सो क्षेत्रमा जानेको सङ्ख्या बढेको छ । नेपालका आन्तरिक पर्यटक हुन् वा विदेशी पर्यटक तिनीहरूले काँक्रेबिहारको नेपाल सरकारले ठोस निर्णय गर्नुपर्ने धारणा राखेको त्यहाँ रेखदेख गर्ने चौकीदारले बताएका छन् । सुर्खेत जिल्लाका एमाओवादी नेता कृष्णप्रसाद धमला ‘गम्भीर’ ले पश्चिम नेपालमा लुम्बिनीपछि सबैभन्दा पुरानो उक्त काँक्रेबिहारलाई विश्वसामु चिनाउनु पर्ने धारणा राख्नुहुन्छ । त्यसैगरी, सोही क्षेत्रमा घुम्न पुग्नुभएका विद्यार्थी टंक गैरेले बेवारिसे अवस्थामा रहेका ढुङ्गाहरूलाई पनि संरक्षण गर्न सम्बन्धित पक्षले ध्यान पुर्याउनु राम्रो हुने बताउनुहुन्छ ।
काठमाडांैबाट सुर्खेत घुम्न आएको बताउने श्रीजना शर्माले काठमाडांैको उराठलाग्दो जीवन छोडेर घुम्न आएको बताउँदै स्वच्छ, स्वस्थ, सफा हरियो वनभित्र त्यसरी इतिहास लुकेको भनेर कसैले पनि पत्याउन गार्हो हुने बताउनुभयो । चारैतिर फाँटले घेरेको काँक्रेबिहारबाट सानो सुर्खेत र ठूलो सुर्खेतलाई आँखाभरी कैद गर्न पाएकाले आफुलाई काठमाडांैको स्वयम्भुको डाँडामा रहेको जस्तो अनुभव भएको पनि उहाँले सुनाउनुभयो
निचोड
बौद्ध बिहार वा मन्दिर जे भए पनि नेपाल सरकारले काँक्रेबिहारसम्बन्धी प्रारम्भिक प्रमाणको आधारमा त्यसको बारेमा जानकारी दिने किसिमले केही गर्नु उपयुक्त हुन्छ । लाटीकोइली गाविसले एकजना स्थानीयलाई रेखदेख गर्न जिम्मा दिएको छ । बिहान उठेदेखि साँझसम्म रेखदेख गर्न बसेका उनलाई कुनै पनि सरकारी तलब वा भत्ता छैन । उनले पर्यटक र सवारी साधनबाट उठेको चन्दाबाट नै जीविकोपार्जन गरिरहेका छन् । गाउँ विकास र वीरेन्द्रनगरपालिकासँग पटक पटक ताकेता गर्दा पनि तलबको बारेमा र एकजना अर्को कर्मचारी खटाउने उनको आग्रहको अहिलेसम्म सुनुवाइ भएको छैन ।
काक्रेबिहार बौद्ध बिहार होस् वा हिन्दु, कुनै दिन यसको यथार्थ सार्वजनिक हुने नै छ । नेपालको सिंंजा खस मल्ल राजाहरूका बारेमा नेपाल सरकारसँग यथेष्ट इतिहास नभएको अवस्थामा मध्य कालको इतिहासलाई पुनर्ताजगी दिन भने यो सफल भएको छ । काँक्रेबिहारसँग सम्बन्धित भएर आएको दक्षिण उत्तरको व्यापारमार्ग, जसले रेसम मार्ग ‘सिल्क रोड’ लाई जोडेको छ भन्ने विषयमा गहन अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउन सकियो भने रेसम मार्ग नेपाल भएर गएको भन्ने इतिहासलाई थप पुष्टि गर्न सकिन्छ । यस्तो महत्वको विषयलाई हिन्दु वा बौद्ध धर्मसँग जोडेर हेर्नुभन्दा पनि नेपालका सभ्यतालाई विश्वसामु पुर्याउने दिशातर्फ कार्य हुनु उपयुक्त देखिन्छ ।
गोरखापत्र, शनिबार
माघ ९, २०६७
