तपाईं पात्रो हेर्नुहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न कि ? खैर, मावलमा हजुरबा/मामाहरूले र घरमा काका र काकाका छोराहरूले पात्रोको पितृ बुझ्ने अनि ब्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता/सम्बन्ध रहेन । मेरा एकजना दाजुले घरैमा हुने घटना थाहा नपाएकाले छोरो चारकोसे जंगलको रुखमा फलेको र ज्योतिष विद्याबाट हात धोएको कुरा गर्नु भएको थियो । बर्षौँदेखि यही विद्यालाई पेशा बनाउँदै आएका मेरा दाजुलाई नाक लागे जस्तै हामी युवालाई ज्योतिष विद्याले नतान्नु स्वभाविक हो । तेसो त अचेल जाँड/प्याज नखाने बाहुन भेट्टाउन जत्तिकै गाह्रो भइसक्यो पात्रो हेर्ने, पढ्ने, बुझ्ने र ब्याख्या गर्ने युवापिढीँ भेट्टाउन । युद्धकालमा अधिकांश युवा नासिएपछि र बचेखुचेका युवा विदेश भाँसिएपछि गाउँमा पात्रो मात्र हैन आºनै घरदलिन हेर्ने युवा समेत छैनन् ।
ज्योतिषी/पण्डितहरू जो छन् ति सवै कालको नजिक पुगिसके । बुढाखाडा ज्योतिषीहरूले ज्योतिष विद्याको लत्रेको नाक माथि उठाउन धेरथोर योगदान दिएका छन् । भर्खरै सम्मन्न विश्व फुटवलको भविष्यवाणी गरेर महान हुनुभएका ज्योतिष श्रीअक्टोपस पर्लज्युले पनि यो विद्यालाई माथि उठाउन दुर्लव योगदान दिनु भएर परमधाम हुनु भयो । अक्टोपसज्युको निधनपछि ज्योतिष विद्या नै लोप होला भनेर पीर परेको छ । त्यसैको पूर्व संकेत स्वरुप मेरा घुँडाबाट आँशु झरेकाले पनि यो विद्याको मोहले मलाई तानेको छ । फलस्वरुप यो मरुभूमिमा ज्योतिष विद्यालाई घुनपुत्ली नलाग्ने ब्यापारका रुपमा थालनी गर्न मन लागेर आएकाले यसबारे अध्ययन गर्न थालेको छु । तपाईं पनि यस विद्यामा जिब्रो चलाउँन चाहनुहुन्छ भने मैले जाने बुझेसम्म सःशुल्क कोचिङ्/ट्युशन दिन तयार रहेको सर्वत्र जानकारी गराउँन चाहन्छु ।
तपाईं पत्रपत्रिका कत्तिको हेर्नुहुन्छ ? हेर्नुहुन्छ भने पक्कै पनि राशिफल हेर्नुहुन्छ होला । एक महिनाका एउटै पत्रिका पल्टाउनु भयो भने मेषको मीनसँग, मकरको बृषसँग, कुम्भको मिथुनसँग, कर्कटको धनुसँग, कन्याको बृश्चिकसँग र तुलाको सिंहसँग राशिफल ठ्याक्कै मिल्छ । अर्थात् तपाईंको राशिमा अघिल्ला कुनै अंकमा जे लेखिएको छ त्यही कुरो पछिल्ला कुनै अंकमा अरु कसैको राशिमा लेखिएको हुन्छ वा तपाईंकै राशिमा लेखिएको हुन्छ । त्यसरी राशिफल दोहोरिने र त्यो पढेपछि पढ्ने पाठक एकोहारिने भएकाले मैले राशिफललाई बासिफल भन्ने गरेको छु । राशिफलको यस्तो कन्तबिजोक देखेपछि म पनि ज्योतिष हुन सक्ने मनमनै ठोकुवा गरेँ । र नै यसमा हामफालेको हुँ । ज्योतिष विद्याको थालनी स्वरुप यो बासीफल पस्किएको छु । यो बासीफल तपाईंको यो जन्म भरिका लागि हो र शतप्रतिशत साँचो हो । टिप र चिनापछि कसैले सम्पर्क गरे बनाउँला । —ज्योतिषी पं. चर्चित उपाध्याय ढुंगेल ।
मेश— मेष राशि हुनेहरूले देश छोड्नेछन् र सेतै केश फुलुञ्जेलसम्म हात जोड्नेछन् साथै विदेशीको खेत गोड्नेछन् । घरमा बसेर चार माना घिऊ खाँदा पनि नलागेको भाटो जस्तो जिऊ हुनेहरू मोटाएर बाँस जस्तो हुनेछन् । मेश राशि हुनेहरूका दर्जन सन्तान हुने देखिएकाले विवाह नगर्नु नै बेस हुनेछ । सिस्नुलाई साग देख्ने र विरालोलाई बाघ देख्ने भएकाले यि र यस्ता चिजहरूबाट टाढा बस्नु लाभदायक हुनेछ । हवाइ यात्रा गर्दा तारा र अग्नि एयरका जहाजमा नगर्नु शुभ देखिएको छ, कथम्कदाचित गरिहाले मकवानपुरतिरका आफन्तलाई खबर गरेर मात्र यात्रा गर्नु बेश होला ।
बृष— बृष राशि हुनेहरूले बाँचुञ्जेल बाशी खाना खान पाउँनेछन् र यसरी नै जीवन बिताउनेछन् । बृष राशि हुनेहरूलाई झनक्क रिष उठ्ने भएकाले कसैलाई कुट्ने र कुटाइ खाने योग छ । झिना मसिना कुरामा छुरासम्म चल्ने र ज्यानसम्म ढल्ने देखिन्छ । आफन्तले बाँचुञ्जेल घृणा गर्ने भएकाले पीडायुक्त जीवन रहनेछ । कुरा काट्नेहरूले खेति पाउँनेछन् र आयुभरि जिस्काउनेछन् । मनले खाकाहरू पाखा लाग्नाले रिषले आँखा देखिने छैन र बिषको प्याला पिउने सम्भावना प्रवल देखिन्छ ।
मिथुन— मिथुन राशि हुनेहरूले सुनलाई नुनको भाउमा बेच्ने देखिन्छ । ‘सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ’ भन्ने उखानलाई मिथुन राशि हुनेहरूले सार्थक पार्नेछन् । मिथुन राशि हुनेहरूको दिमाखको नट खुकुलो हुने भएकाले बेला बेलामा कस्नु पर्ने देखिन्छ । चन्द्रमा देब्रेतिर फर्किएर बसेकाले चिताको काम बितेको पत्तो पाइने छैन । प्रेममा धोका खानाले भिरबाट खसौँ लाग्ने देखिन्छ भने गलामा पासो कसौँ लाग्ने पनि देखिन्छ । अंशको झगडाले बंशको विनाश नहोला भन्न सकिएन ।
कर्कट— कर्कट राशि हुनेहरूले नर्कट फाँडेर बस्ती बसाउँनेछन् र देश/दुनिया हँसाउनेछन् । दशौँ थलामा बसेको साढेसातको दशाले नशाको बिमार निम्त्याउनेछ । ग्याष्टिकले कर्कट राशि हुनेहरूलाई गाँजेको देखिएकाले ग्याष्टिक बिग्रिएर प्लाष्टिक हुने जुर छ । अझ ध्यान नदिएको खण्डमा इलाष्टिक जसरी मान्छे तन्किने देखिन्छ । विदेश बसेकाले घरमा पठाएको पैसा स्वास्नीसहित हराउनेछ । यही पीरले घरको न घाटको हुने र चिउँडामा हात राखी रुने कुरालाई विश्वकै ज्योतिषीले नकार्न नसक्ने देखिन्छ । होस् गर्नु होला ।
सिंह— सिंह राशि हुनेहरूको ब्याबहार बाघको र बोली कागको जस्तो हुनेछ । छिमेकीसँगको झगडाले उग्र रुप लिएपछि त्यसैको पीरले बसाईंसम्म सार्ने देखिन्छ । अढैयाले नराम्ररी गाँजेकाले सम्पत्ति नासिने र सन्तान भासिने देखिन्छ । सिंह राशि हुनेहरूकी छोरीले पोइ फेर्ने र छोराले जोइ फेर्ने देखिन्छ । त्यसपछिका दिनमा तिनका घरमा महाभारत शुरु भइहाल्छ । नतिजा स्वरुप मेला गएकी छोरी बजारमा भेटिन्छे र बजार गएको छोरो जंगलमा भेटिने अनौठो दशा देखिन्छ ।
कन्या—कन्या राशि हुने कन्याहरूले बन्यासँग झ्याइँ पार्नेछन् र सिरक/ढसना बनाएर जीवन गुजार्नेछन् । त्यसो त दलालको फेला परेर दिल्ली पुग्ने पनि देखिन्छ । कन्या राशि हुनेहरूलाई कसैसँग जग्गा किन्दा शहरको देखाउँनेछन् र खोलाको धारमा पार्नेछन् । यो राशि हुनेहरूका ज्वाईं गाँजा तान्ने र बुहारी कराँटे हान्ने खालकी पर्नेछिन् । सँधियार आधा आली ताछ्ने खालका पर्नेछन् भने छिमेकी दिनै झगडा गर्ने खालका पर्नेछन् । पिउनमा, जिउनमा भन्दा बेसी बल गर्ने भएकाले कन्या राशि हुनेहरूले ‘रियल जुस’ मा मुख नगाड्लान् भन्न सकिन्न ।
तुला— तुला राशि हुनेहरूले सधैँ ठूला कुरा गर्ने देखिन्छ । लुला मान्छेलाई मान्छे नगन्ने र आºनै जोइलाई भान्छे नगन्ने स्वभावले हानी गर्नेछ । परायी नारी र परायी धनमा मन जाने भएकाले प्रगति झन् नहुने देखिन्छ । अर्काकी स्वास्नीले मुस्काउँदा, जिस्काउन अघिसर्दा तिनका पोइले बङ्गारा फुस्काउन बेर लाग्ने छैन । दिनै भट्टीको बास हुने र हातमा तास हुने देखिएकाले उठीबास लाग्ने कुरालाई नकार्नु नजाती हुनेछ । यो राशि हुनेहरू अल्छीको राजा हुने भएकाले अल्पायुमै सम्पत्ति आधा हुने देखिन्छ ।
बृश्चिक— बृश्चिक राशिका मान्छेमा महत्वकांक्षाले जरा गाडेर बसेकाले छोटो समयमा छलाङ् मार्न खोज्ने देखिन्छ । यसो गर्नाले ‘अल्प विद्या भयंकरम्’ भने जस्तो परिणाम प्रतिकुल निस्किने देखिन्छ । यिनले ‘निरन्तरतामा क्रम भंग’ गर्ने कोशिष गर्नेछन् तर सफल हुने छैनन् र ‘हात लाग्यो शुन्ना’ हुनेछन् । त्यही भएर ‘लुटी ल्याऊँ, भुटी खाऊँ’ को नितिमा अडिने र जुनीभर जेलमा सडिने कुरालाई कमैले नपत्याउलान् । ‘हरी विजोक’ हुनु अघि होस् गर्नु होला ।
धनु— धनु राशि हुनेहरूले जेसुकै किने पनि डुप्लिकेट पर्नेछ । किनमेलमा महिलालाई अघि लाएर गर्नु होला । लैनु भैंसी थारिने र दुधौलो पाडो मारिने भएकाले गाई किन्नु राम्रो रहनेछ । दिन बिग्रेकाले त्यही गाईले लात्ती हान्ने र खुट्टा बाँध्नु पर्ने हुन सक्छ । असारका बेला हल गोरु मर्ने र अर्को हल किन्नु पर्ने देखिन्छ । त्यही पनि झनझनाउने, हान्ने परिदिने भएकाले औडाहा लागेर खेत कौडाका भाऊमा बेचेर हिंड्नु पर्ने हुन नसक्ला भन्न सकिँदैन ।
मकर— मकर राशि हुनेहरूलाई सदाबहार चक्कर लाग्ने र सडकका पेटीमा हिँड्दा पनि गाडिको ठक्कर लाग्ने भएकाले खेतैखेत हिँड्नु बेश हुनेछ । ब्यापारमा अपार घाटा हुने देखिएकाले कम खर्चमा बढि नाफा हुने सामाग्रीको ब्यापार गर्नु शुभ रहनेछ । नेपालको परिवेशमा ढुंगा, इट्टाका टुक्रा, पुराना टायर आदिको ब्यापार गर्नु लाभदायक हुनेछ । नेपाल बन्द र आन्दोलनका बेलामा समेत हारालुस् बिक्री हुने भएकाले फिक्री लिनु पर्दैन । मकर राशि हुनेहरूका छोरा छोरीले मन लाग्दो विहे गर्ने भएकाले विवाह खर्च जोगिने तर स्वास्नी चैँ रोगिने देखिन्छ ।
कुम्भ— कुम्भ राशि हुनेहरूका दिन कठिन देखिन्छन् । अनायासै नोकरी जाने र बुढेसकालमा ल्याएकी ‘छोकडी’ पनि गरिखाने नपरि दिनाले मनभरि पीरको पोको बोकेर बाँच्नु पर्ने देखिन्छ । ब्याजमा लाएको धन नउठ्नाले मन खिन्न हुने र ब्याबहार छिन्नभिन्न हुने देखिन्छ । ‘लोभले लाभ र लाभले विलाप’ भन्ने उखान यो राशि हनेहरूलाई ¥याङ्को ठ्याङ् मिल्ने देखिन्छ । यो राशि हुनेहरूलाई यस्तो कालो दिनले छोपेको छ कि ‘डाक्टर बन्न जाँदा कन्डक्टर’ बनेर फर्किने गरी ।
मीन— मीन राशि हुनेहरूले अमेरिकाका लागि आवेदन दिँदा चिनको भिषा पाउँनेछन् । मीन राशि हुनेका दिन बिग्रिएकाले ऋणको भारीले किचिक्क हुनेछन् र त्यो ऋण तिर्न नसकेर जूनिभर रुनेछन् । सर्पलाई सपेराको विनले घेरे जसरी मीन राशि हुनेहरूलाई दिनदशाले घेरेको देखिन्छ । कालो खसी र रातो भाले काली मातालाई चढाउँदा पनि ग्रहदशा नसप्रिने देखिएकाले यो जन्झट नगरेकै राम्रो, कानमा तेल हालेर बस्नु जाती । अर्को जुनिमा दिन सप्रिने कुरालाई नकार्न नसकिएकाले युरोपमा पुनर्जन्म नहोला भन्न सकिन्न । ईति ।
चर्चित ढुंगेल
