Skip to content

सीमाको लखनलाल

  • by


मध्ये पहाडको निशब्द चुहेको जरुवा
यो राज्यको सीमाको आँतको हरहरलाई मेट्न
भीमकाय पहाडहरूको नागबेली तरङ्गमा
केबल आवेशको झन्कार मात्र बन्न सक्ला,
तुच्छ भोगाईहरूको सरुवा रोगहरूमा
अझ चर्को संक्रमणको अभिनय गर्न सक्ला
किनकि ऊ समथर सीमामा आगो लगाई
उकालो उच्च पहाडको दरबारमा
अमृतरसको अचमानीले सुरक्षित देख्ला
तर मृत्युवरणको दोस्रो प्रतिद्वन्दी
पहिलोको मृत्युको उल्लासमा
उन्मत्त विलासी कोपभाजनले
आफ्नो छातीमा पोतिएको छपान मेट्न सक्दैन ।
जिससको छातीमा किला ठोकिँदा
उनको कुनै दासले अनन्य अनुभुत गर्न सक्यो ?
जालन्धरको उछृङ्खलताको नाममा
बृन्दाको सतीत्व विष्णुले लुट्दा
कुन उनको दासले थुक्न सक्यो ?
नारीहरूको चरम दलनमा
कुन उनको दासले मोहम्मदलाई औंला उठायो ?
आखिर अनुपमेय अनुभूतीहरूसँगको स्वामित्वलाई
बजारीकरणको चर्को नाराबाजीले
वा कुरुप कुकृत्र्यहरूलाई कुलको नामले
उसका चरणकमलको धुलो चाट्नेहरू
वितत अफवाहमा सम्मान देख्नेहरू
आफ्ना घिनलाग्दा कर्महरूको
निर्दोष आवरण जोडिरहेछन् ।
आफ्नो स्वाभिमान छातीमा
निर्मम संगिन रोपिँदाको अनुभूति
सीमाको लखनलाल भन्दा सायद अरुसँग छ ।
पाकोवयको खुम्चेका मांसपेशीका दरारहरू
स्वामित्वको झुत्तिखेलाईमा छिया–छिया हुँदा
यही राज्यको अनागरिक झैँ बन्नु
फगत एउटा मृत्युको दृढ प्रतिक्षामा
सीमाको बेतलबी चप्रासी बन्नुको
भोगाइको अनकण्टारमा, कोही अरु माटोमा उभिएर
कुटुक्क मन दुखाउनु, गोही आँशुमात्र हो ।
चोरको हातमा ताल्चा सुम्पेर
त्यही सन्दुसमा सुरक्षा खोज्नु
वा उसको बफादार सहचर बनी
उसका गुह्य पदचापहरूको दासी बन्नु
के त्यो माटो, लखनलालको आत्मा बन्नसक्छ ?
भोक प्यास बेगर पूरै बचाइ खर्चनुमा,
कुन स्वार्थले सम्भव छ ?
बाघसँग सिँगौरी खेल्नु
आफ्नै टाउकोमा कोही नाच्नु
एक्लै निशस्त्र फौजी युद्धको प्रतिरोध गर्नु
छोरी–बुहारीको अस्मिता खोसिनु
लुटपाटको आतङ्कमा सर्वस्व गुमाउनुको
वयैक्तिक भोगाइ मात्र माटोको खतिर ?
अब सम्भव छैन,
उसको स्वार्थ र इच्छामा नजोडिएर
आफ्नो सीमाङ्कनको सुरक्षा गर्न
उसले लुटाएका छोरी–बुहारीका अस्मिताको
मुल्य र निराकरण गर्न
पहाड वा हिमालको टुप्पोमा
आफ्नो जग भत्काएर निर्भिक उभिरहन
तर, यहाँका ज्यामीबाहेक
कोही पनि दलालीहरूको स्वार्थमा
लखनलालको स्वार्थको विलय हुदैन
आखिर नमिलोस्,
ऊ लखनलाल कहिल्यै पनि झुक्दैन
उसको रगत नै नझुक्नका लागि उम्रन्छ
ऊ नझुक्नका लागि निर्मित स्तम्भ हो ।

आर पी श्रमिक
जिलिङ्ग—९, नलगाउँ, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *