आज मधुपर्कको ४३ वर्षे उमेर अर्थात् ५०० औं अङ्क प्रवेशको सन्दर्भमा हामी उभिएका छौँ । ४३ वर्षको अन्तरालमा छौँ, विश्वका लेखक, पाठक, सम्पादकहरू । नेपालजस्तो विकासोन्मुख देशमा पत्रकारिता त्यसमाथि पनि गैरसमाचारमूलक पत्रकारिता अत्यन्तै दुष्कर कार्यका रूपमा लिन सकिन्छ । साहित्यिक पत्रकारिता त झन् कठिनतम कार्य नै हो । गोरखापत्र सय वर्ष पुग्दा मैले गोरखापत्रको ऐतिहासिक परिप्रेक्ष्यका सन्दर्भमा भविष्यमा गोरखापत्रले महत्त्वपूर्ण कोल्टे फेर्नका लागि व्यावसायिकरूपमा छुट दिनुपर्ने कुरा लेखेको थिएँ । सबै क्षेत्र वर्ग, व्यवसाय, नागरिकका लागि उपयोगी हुने लेख, रचना, भाषा, संस्कृति, परम्परा र रीतिरिवाजको जगेर्ना हुने सामग्री भएको निष्पक्ष र निर्भीक, स्तरीय, स्वास्थ्य, वस्तुगत पत्रकारिताको विकास र सङ्कलन गर्नुपर्ने दायित्वको सन्दर्भमा ‘मधुपर्क’ लाई समयसापेक्ष र सान्दर्भित गराउनुपर्ने हुन्छ ।
मधुपर्क प्रकाशित हुँदा वि.सं. २०२५ मा स्नातक तहको विद्यार्थी, मधुपर्कमा प्रथम पटक समीक्षात्मक लेख प्रकाशित हुँदा (भिक्षुको पाइप नं. २ एक समीक्षा वि.सं. २०३४) त्रि.वि.को उपप्राध्यापक भइसकेको भए पनि उत्साह उल्लासको दिन थियो त्यो । त्यसबेलाको प्रधानसम्पादक भारतदत्त कोइराला, कार्यकारी सम्पादक केशवराज पिंडाली र लेख-रचना सम्पादक गोकुलप्रसाद पोखरेल थिए । वि.सं. २०२७ मै गोरखापत्रमा समीक्षात्मक लेखहरू प्रकाशितपछि पनि लेख/समीक्षा प्रकाशन गर्न निकै लामो अवधि लाग्यो । यो स्तरीयताको कसीको रूपमा आज रहेको छ । मधुपर्कले धेरै आरोह-अवरोह पार गरेको छ । यो नेपाली साहित्यमा कला, संस्कृति, ज्ञान, विज्ञान, दर्शनका क्षेत्रमा विशिष्ट बनेको छ । म त यसलाई नेपाली वाङमयजगत्कै एक विशिष्ट प्रकाशनको रूपमा लिन्छु ।
मधुपर्कलाई कैयौँले साहित्यिक पत्रिका सम्झेका छौँ तर यो त्यो मात्र होइन, यसले विविधता र विशिष्टता दिएको छ । यो विविधता र विशिष्टताबीच पनि यस पत्रिकाका प्रकाशकका बाध्यता होलान्, हामीलाई थाहा छैन तर सम्पादकका वाध्यता निःसन्देह छन् । जस्तै पृष्ठको कमी, पटकपटक आकारमा परिवर्तन, कागजको गुणस्तर, यति भएर पनि मधुपर्क आज पनि अत्यन्त धेरै पढिने मानकस्तरको पत्रिका मानिन्छ ।
मधुपर्कका पुराना लेखकलाई सम्मान गर्ने, नयाँ लेखक जन्माउने र सम्बर्द्धन गर्ने ज्ञानको पीपासालाई मेटाउन प्रयास गर्ने यसको महत्त्वपूर्ण आयामलाई अघि बढाउने कार्य अत्यन्त प्रशंसनीय छ । आफ्ना कैयौँ बाधाव्यवधान र वाध्यताकाबीच पनि यसले उदारतासाथ निष्पक्षरूपमा जनप्रिय हुँदै साहित्यको मार्मिक र हार्दिक एवं शाश्वत पक्षका साथै अन्य जसरी जति बोकेको छ त्यो नेपालका विषयगत पत्रिका कसैले कहिले निरन्तर बोक्न सकेको छैन, यस अर्थमा युगीन ऐतिहासिक हुन सकेको छ ।
आज मधुपर्क- केवल साहित्य होइन, यो वाङ्मयको प्रतीक बन्न पुगेको छ । शब्दकोशले मिश्रति ‘सगुन’ ‘पूजा वा सम्मानमा चढाइने वस्तु’ मानेको छ । प्रतीकात्मकरूपमा यो त नेपाली वाङ्मयको ४३ वर्षे इतिहास पो बन्न पुगेको छ । अझ बढी सम्मिश्रण बनोस् विविधताको ।
गोरखापत्र संस्थानद्वारा संस्थागतरूपमा प्रकाशित भएर देवनागरी लिपिमा प्रकाशित गोरखापत्र १९५८ र ‘मधुपर्क’ २०२५ मा आ-आफ्नै महत्वका सङ्ग्रह प्रकाशन हुन् । रमणीय आजको सञ्चारक्रान्ति भएको युगमा गोरखापत्रको ऐतिहासिक महत्त्व छ नै तर ‘मधुपर्क’को ऐतिहासिक गरिमालाई कुनै अन्य व्यावसायिक प्रतिस्पर्धीले उछिन्न सकेका छैनन् । मैले वि.सं. २०२६ सालमा साहित्यिक ‘नौलो नेपाली’ (मासिक पत्रकारिता) सुरु गर्दादेखि आजसम्म प्रकाशित भएका संस्थागत पत्रिका ‘गरिमा’ (२०३९) जस्ता केही पत्रिका वा लामो समयको पृष्ठभूमि भएका ‘रचना'(२०१८, ‘अभिव्यक्ति’ जस्ता बाहेक किन पत्रिका लामो समय जीवित हुँदैनन्, निस्कँदै बन्द हुँदै गर्ने र नियमित हुन नसक्ने यस्ता पत्रिकाहरूमा किन अरू पनि थपिँदै जान्छन् ? यस्ता प्रश्नहरूले मेरो मनमा कुतकुती लागिरहन्छ । पुनः प्रकाशनका लागि जमर्को गर्ने शारदा (१९९१) किन बन्द भइरहन्छ ? प्रगति (२००९), इन्द्रेनी (२०१३), हिमानी (२०१९), भानु (२०२०), माधुर्य (२०२९), रत्नश्री (२०२०) कलाकार (२०३५), विदेह (२०२९), रूपरेखा (२०१७), सुस्केरा (२०२७) सञ्चय (२०२९) किन बन्द हुन्छन् ? प्रकाशित भएका नेपाली (२०१५) जस्ता किन मरञ्च्यासे हुन्छन् र भानु, अक्षरलगायत कहिल्यै बिउतिँदै, कहिले मूच्छिर्त हुँदै अघि बढ्छन् । गरिमा, मिर्मिरे, समष्टि, कविता, प्रज्ञा, समकालीन साहित्यले मात्र हामीलाई थाम्न सक्छन् ?
जर्ज बर्नडशा भन्छन्- शाश्वत साहित्यका लागि पत्रकारिता सहायक हुन्छ- न कि वाधक । वि.सं. २०२६ सालमा मेरो अध्यक्षतामा प्रथम साहित्यिक पत्रकारिता समिति स्थापना हुँदाका बखत मदनमणि दीक्षितले लेखे- साहित्यिक पत्रकारिताको अलग्गै संस्था चाहिन्छ । आज साहित्यिक पत्रकारिताले त्यस बेलाभन्दा बढी महत्त्व पाउनु पर्ने हो । किनकि यो त निरन्तर नवीन र शाश्वत पक्ष समेट्न सक्षम छ ।
मैथ्यु आर्नोल्डको भनाइ सम्झन्छु- पत्रकारितालाई साहित्यले र साहित्यलाई पत्रकारिताले सहयोग पुर्याउँछ । उनी पत्रकारिता शीघ्रतासाथ लेखिने साहित्य भन्छन् । सर्वोत्तम् पत्रकारिता साहित्य हो र सर्वोत्तम् साहित्य पत्रकारिता हो । यस कथनमा कल्पनशीलता, भाव प्रवणता, अनुभूति, विवेक, तर्क, विश्लेषण, विद्वता समाविष्ट छन् ।
मधुपर्कलाई विगतको इतिहास अध्ययन-अनुसन्धान गर्दै भोलिको लागि राष्ट्रको राष्ट्रिय वाङ्मयको निधि र ऐतिहासिक धरोहरका रूपमा अघि बढाउन सरकारले विशेष पहल गर्नु विशेष कार्यक्रमको साथ राष्ट्रिय कोष बनाउनु पर्ने राष्ट्रिय आवश्यकता छ ।
आज विषयगत पत्रकारिताका जमानामा अर्थात् विशिष्टता छुट्याइने अवस्थामा पनि विविध विषयगत विशिष्ट पत्रकारिताको अघि साहित्यिक पत्रकारिता ठहरिने गरेकै छ- उपर्युक्त अर्थमा तर ‘मधुपर्क’ केवल साहित्यिक पत्रिका चाहिँ होइन, यो त साहित्यका पुराना विधाको अतिरिक्त नियात्रा, जीवनी, आत्मकथा, संस्मरण, अन्तर्वार्ता, रेखाचित्र, रिपोर्ताज डायरी, भेटवार्ता, पत्रकारिताको पनि सम्मिश्रण हो । एक अर्थमा यो नेपाली समाजका मानिसको समष्टि पनि हो । साहित्यका विविध विषयका विशेषाङ्कहरूका अतिरिक्त यसले प्रकाशन गरेका कला अङ्क, नारी अङ्क आदिले वाङ्मयकै विशिष्टता प्रस्तुत गर्छन् ।
