Skip to content

यात्रीको सूत्रधार/सूत्रधारहरूको विश्लेषण

  • by


यात्रीको उपनाम राख्ने कृष्ण शाह (वि.सं. २०३२, कटारी, उदयपुर) ले झण्डै दुई दर्जन जति एकाङ्कीनाटक लेखेर तिनलाई तीनवटा पृथक्पृथक् सङ्ग्रह प्रकाशमा ल्याइसकेका छन् । चालीसको दशकमा वि.सं. २०४७ ‘चिसो बस्ती’ शीर्षक एकाङ्कीका साथ देखापरेका हुन् उनी । पत्रकारिता र सञ्चारमा स्नातकोत्तर उपाधि लिएका यात्री लघुकथा लेखक र बालसाहित्यकार एवं बाल नाटककार पनि हुन् । उनले विशेष चिनारी रङ्गमञ्चका क्षेत्रमा बनाएका छन् र उनको विशेष समर्पण पनि यसै क्षेत्रमा रहिआएको छ । नेपाली रङ्गमञ्चलाई उनी रङ्गकर्म, नाट्यलेखन तथा रङ्गमञ्चसम्बन्धी अध्ययन-अनुसन्धान तीनवटै पक्षबाट सेवा अर्पित गरेर समृद्ध पार्ने चेष्टा गर्दैछन् र उनी वर्तमान समयका कनिष्ठ पुस्ताका अग्रणी रङ्गकर्मी र नाट्य लेखकमध्ये एक हुन् भन्ने सम्बन्धित क्षेत्रका सबैमा विदितै छ । यहाँ पछिल्ला समयमा उनले लेखेको एक सुन्दर र शक्तिशाली उत्तर प्रयोगधर्मी एकाङ्कीको नाट्यवस्तु, रङ्गमञ्च र पात्रहरूको भूमिकाको अन्तर विश्लेषणका माध्यमबाट उनको नाट्यकलाको चिनारी गराउने यथाशक्ति प्रयास गरिएको छ ।

सूत्रधार/सूत्रधारहरू विविध अन्तदर्ृश्ययुक्त एक दृश्यात्मक उत्तरप्रयोगधर्मी एकाङ्की हो । औसत आकारको यो एकाङ्की वर्तमान नेपालीको राजनीतिक परिदृश्य प्रस्तुत गर्ने त्यस्तो प्रतीकात्मक गुणधर्म सम्पन्न रूपक हो, जसमा नाटकभित्र नाटकको आयोजन गरिएको छ र केही घटनाहरू र कथ्य शब्दबाट र केही दृश्यबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ । राष्ट्रिय समस्यामा केन्द्रित भए पनि यसको रङ्गमञ्चको पृष्ठभूमि भने खुलाइएको छैन र त्यो स्थान निरपेक्ष देखिन्छ । यसमा अन्त्यमा पर्दा खसाउने निर्देशन दिइएको नभए पनि आरम्भमा पर्दा खुलेपछि नाट्यव्यापार आरम्भ हुने, निर्देशन दिइएकाले यो बन्द रङ्गमञ्चका लागि लेखिएको नाटक हो भन्ने बुझिन्छ । यसमा शङ्ख र झ्यालीजस्ता हिन्दू समुदायका धार्मिक वाद्य उपकरणदेखि लिएर आधुनिक वैज्ञानिक उपकरण मोबाइल र रकेटका ध्वनिहरूको उपयोग गरिएको छ । यसको रङ्गमञ्च विशेष प्रकारको छ । यसको मध्यभागमा एक विशाल सेतो मुखुण्डो झुण्ड्याइएको हुन्छ । मुखुण्डो झुण्ड्याइएको डोरीको एक छेउ बायाँ खण्डतिर रहेको एउटा अग्लो पिरामिडमा बाँधिएको हुन्छ र अर्को छेउ मञ्चको दायाँ खण्डतिर रहेको माकुराको विशाल जालोमा अड्किएको हुन्छ । माकुराको जालोमा रक्तिम आलोक छरिएको हुन्छ र त्यसको पछिल्तिर केही नारी र पुरुषका पार्थिव शरीर राखिएका हुन्छन् । यहाँ पिरामिड, मुखुण्डो र मृत शरीरद्वारा मिश्रदेशको पिरामिडमयी र मुखुण्डोको छवि प्रतिविम्बित गर्नाका साथै माकुराको जालोसमेतको प्रस्तुतिद्वारा रङ्गमञ्चलाई एक रहस्यात्मक वातावरण प्रदान गर्न खोजिएको देखिन्छ भने जीवन एक मायाजालमा फसेको छ भन्ने सङ्केत गर्न खोजिएको हो कि भन्ने पनि बुझिन्छ ।

माओवादी जनयुद्धकालीन विस्थापन र भोकको पीडाका साथै सम्झौताको राजनीति, गणतन्त्र, यथास्थितिवाद, अधिनायकवाद, विस्तारवाद, लोकतन्त्र, समावेशी सहभागिता, सङ्घीय शासनप्रणालीजस्ता चर्चाका शिखरमा रहेको प्रसङ्गहरूलाई उठाउने यस नाटकमा तीनवटा सूत्रधार देखिन्छन् भने बालक, नारी, वृद्ध, मानिस-१, मानिस-२, मानिस-३, मानिस-४, बालिका-२ र व्यक्ति भन्ने कार्यकारी मात्र छन् । यी बाहेक यसमा नदेखिने ती स्वर सुनिने नेपथ्य पात्र पनि छन् र तिनमा आठथरी आवाज छन् र केही समूह स्वर पनि छन् । आवाजहरू नारा लगाउँछन् र समूह स्वरले तिनलाई साथ दिन्छन् ।

सूत्रधार रङ्गमञ्चमा आधिपत्य जमाउन परस्पर स्पर्धाशील प्रतिद्वन्द्वीका रूपमा द्वन्द्वशील छन् भने ती राजनीतिक क्षेत्रका नेताको प्रतिनिधित्व गर्ने प्रतीक पात्रका रूपमा पनि देखिन्छन् । बालक, नारी, बृद्ध, मानिस, बालिका द्वन्द्वपीडित जनताको प्रतिनिधित्व गर्ने पात्रका रूपमा छन् र यिनको आपसमा पारिवारिक सम्बन्ध छ । व्यक्ति पनि समाजको प्रतिनिधित्व गर्ने पात्र हो ।

नेपथ्यमा एकोहोरो शङ्ख ध्वनि बज्न थालेपछि क्रमशः पर्दा खुल्दै जान्छ र माकुराको जालोमा रक्तिम आलोक छरिएको देखिन्छ । शङ्ख ध्वनि बन्द भएपछि मञ्चमा शून्यता छाउँछ र लगत्तै मोबाइलहरूको रिङ्गटोन र भर्खरै प्रक्षिप्त रकेटहरूको भयावह ध्वनिसँगै झ्याली पिटिएको आवाजको कोलाज तथा केही नानीहरू रोएको आवाजसमेत सुनिन थाल्छ । यसै स्थितिमा एक्कासि पिरामिड पछाडिबाट विभिन्न हाउभाउका सूत्रधार-१ ले कराएर कवितात्मक भाषामा सूचना दिन थाल्छ र नाटकको कार्य व्यायाम आरम्भ हुन्छ ।

पहिलो अन्तर्दृश्यमा सूत्रधार-१ को सूचना मात्र सुन्न पाइन्छ । यसमा सडक, बगर, र बस्तीहरूमा बगेको स्वाभिमानी रगत सुक्न नपाउँदै । फेरि विश्वासको लिलामी हुँदैछ । भन्ने गुनासोसँगै नयाँ कथावाचकहरू फेरि पनि पुरानो कथा दोहोर्‍याउने दाउमा छन् ।’ भन्ने सूचित गर्दै खवरदार गरिएको छ । यो सूचना प्रस्तावनाका रूपमा रहेको छ र यसमा नाट्यवस्तुको बीच लुकेको छ । सूत्रधार-१ बोलिरहेकै अवस्थामा सूत्रधार -२ को प्रवेश हुन्छ र दोस्रो अन्तदर्ृश्य आरम्भ हुन्छ । यसमा सूत्रधार-२ ले सूत्रधार-१ को बोलीमा हस्तक्षेप गरेको नाटकको सूत्रधार ‘मै हुँ’ भन्ने विषयमा दुबैका बीच विवाद भएको देखिन्छ । केही छिनको विवादपछि सूत्रधार-२ को दुबै आफ्नो कम्मरमा बाँधिएको डोरी निकालेर सूत्रधार-१ को दुबै हात बाँधी उसलाई माकुराको जालो भएतिर लैजान्छ र सूत्रधार-१ बन्धनबाट उम्कने निष्फल प्रयास गर्दै प्रतिद्वन्द्वीलाई नाटकमञ्चन गर्न नदिने कुरा गर्छ । सूत्रधार-२ सूत्रधार-१ को स्थान लिएर दर्शकलाई नाटकको बाँकी दृश्य प्रस्तुत हुन लागेको सूचना दिन्छ । यसपछि ऊ सूत्रधार-१ लाई तानेर नेपथ्यमा लान्छ । यतिखेर फेरि आरम्भमा बजेको एकोहोरो शङ्ख ध्वनि बज्न थाल्छ र त्यो बज्न छाडेपछि एकहूल मानिस मञ्चमा देखापर्छन् । अनि तेस्रो अन्तदर्ृश्य आउँछ । यस हूलमा बालक, नारी, बृद्ध, मानिस-१ आदि देखिन्छन् र यिनका अनुहारमा भय र त्रासका विम्ब छन् । बालक आमा भोक लाग्यो भनेर रुन्छ भने नारी उसलाई छातीमा टाँसेर चुप लगाउँछिन् । वृद्ध, नारीलाई उनी कहाँबाट आएकी हुन् भन्ने जान्न खोज्छन् तर जबाफ पाउँदैनन् । मानिस पात्रहरू ज्यान जोगाउन गुफामा बस्नुपरेको सम्झना गर्दै घाम देख्न पाएकोमा खुसी प्रकट गर्छन् । यी जो जसरी जहाँबाट लखेटिएका हुन्, त्यसको र आफ्ना अपमानको दीर्घकालीन समाधान खोज्न सङ्गठित हुनुपर्ने कुरा पनि गर्छन् । वृद्ध पात्र चाहिँ यी सब दुर्गति सूत्रधार (नेता) का गलत मनोकामनाको खेल हो भन्छ भने मानिस-१ सम्झौताको अनादिक्रम नै हाम्रो नियति हो त ? भन्ने प्रश्न गर्छ । मानिस-४ बालिकालाई उसले आकाशमा चङ्गामात्र नभएर आफ्नो भविष्यलाई पनि आफूले चाहे जसरी डोहोर्‍याउन सक्छे भन्ने आशावादी विचार व्यक्त गर्छ । यतिबेलै नेपथ्यमा कथित सूत्रधार मुर्दावाद, ‘प्रतिगामी सूत्रधार मुर्दावाद’ जस्ता नारा लगाइन्छन् र कोलाहल हुन थाल्छ । वृद्धबाहेक अरू मानिस रङ्गमञ्चबाट निस्किन्छन् । वृद्ध नयाँ सूत्रधार लेखिएको नयाँ पहिरण लगाउँछ र सूत्रधार-३ का रूपमा देखापर्छ र दर्शकलाई सम्बोधित गरी बोल्न थाल्छ । यसपछि चौथो अन्तदृश्य आउँछ ।

यसमा सूत्रधार-३ ले दर्शकवृन्दलाई सम्बोधित गर्दै आफूजस्ता सीमाङ्कीत सूत्रधारहरूलाई ओझेलमा पारी नाटककार र निर्देशकहरू मिलेर सूत्रधारको आफ्नो अनुकूल एक निश्चित मापदण्ड तयार पारी नाटकलाई अघि बढाउने जुन परम्परा रहिआएको छ, त्यसलाई तोड्दै अवास्तविक धर्तीपुत्र सूत्रधारहरू आफ्नो नाटकको सूत्रधार आफैँ बन्ने छन् भन्ने भविष्यवाणी गरेको देखिन्छ ।

यसमा सुत्रधार-३ बोलिरहेकै अवस्थामा पछाडिबाट सूत्रधार-२ को प्रवेश हुन्छ र नाटकको सूत्रधार बन्ने हकबारे सबैमा वादविवाद हुन्छ । सूत्रधार-३ भोलि आफ्नो पालो आउला भन्दाभन्दै अढाइ सयवर्ष वितिसकेको गुनासो पछि गर्छ र सूत्रधार-२ ले ग्रिनरुममा गएर निर्देशकसामु आफ्नो माग प्रस्तुत गर्न सल्लाह दिएपछि ऊ फेरि आउने कुरा गरी मञ्चबाट प्रस्थान गर्छ ।

सूत्रधार-३ ले प्रस्थान गरिसकेपछि सूत्रधार-२ मञ्चको अग्रभागमा आएर दायाँ खण्डमा अवस्थित माकुराको जालोमा अड्काएर राखिएका नारी र पुरुषका शरीरतर्फ हेर्दै र मध्यभागमा राखिएको विशाल मुखुण्डोलाई ढोग्दै बोल्न थालेपछि पाँचौ अन्तदर्ृश्यको आरम्भ हुन्छ । यसमा आरम्भमा सूत्रधार-२ नाटकको वास्तविक सूत्रधार ‘मै हूँ’ भन्दै केही सूत्रधारहरूले (प्रतिगामीहरूले) अनावश्यक हस्तक्षेप गरिरहे पनि नाटक देखाइछाड्ने दृढता देखाएको देखिन्छ । त्यसै बेला यसमा सूत्रधार-१ बन्धनबाट मुक्त भई अनुहारमा आक्रोश र विद्रोहको भाव लिएर मञ्चमा देखापर्छ र सूत्रधार-२ लाई समाएर उसको टाउको पिरामिडमा ठोक्किने गरी उसलाई हुत्याएर उठ्नै नसक्ने पार्छ । सूत्रधार-२ अर्द्धबेहोस् भएर त्यहीँ ढल्छ । प्रतिद्वन्द्वीलाई ढालेपछि सूत्रधार अखवारदेखि टेलिन्युजसम्म सर्वाधिकरूपमा देखिने र भारतदेखि लिएर युरोप अमेरिकासम्मका धेरै नाटक उत्सवहरूमा सहभागी हुने चिरपरिचित सूत्रधार ‘मै हूँ’ भनेर धाक लगाउँछ । यसैबीच नेपथ्यबाट ‘गणतन्त्र जिन्दावाद’, ‘अधिनायकवादी सूत्रधार’, ‘विस्तारवादी सूत्रधार मुर्दावाद’जस्ता नाराका साथै ‘सूत्रधारप्रथा बहिष्कार गरौँ’, ‘समावेशी सहभागिता हुनैपर्छ’, ‘सङ्घीय शासन प्रणाली हुनैपर्छ’, ‘लोकतन्त्र जिन्दावाद’ जस्ता नारा सुनिन्छन् । यस अवस्थामा सूत्रधार-१ आजदेखि नाटकमा सूत्रधार रहने छैनन् भन्दै सूत्रधारको वस्त्र फुकालेर सामान्य मान्छे बन्छ र नारा लगाउँदै जुलुस मञ्चमा प्रवेश गर्छ । जुलुसमा सहभागी व्यक्ति भन्ने एकपात्र मञ्चमा अगाडि आउँछ र अन्तिम अन्तदर्ृश्य देखिन्छ । यसमा व्यक्तिले दर्शकवृन्दलाई सम्बोधित गरी यो चुपचाप नाटक हेर्ने समय नभएर आफ्नो भविष्यको रूपरेखा आफैँले कोर्ने समय हो भनी सबैलाई यस महान् कार्यमा सरिक हुन आहृवान गरेको र दर्शक मञ्चतर्फ अघि बढेको देखिन्छ भने ‘जिन्दावाद’, ‘मुर्दावाद’को आवाज गुञ्जायमान रहेको सुनिन्छ ।

मुलुकमा गणतन्त्रको स्थापनापछि निर्वाचित भएर आएको संविधानसभामा नयाँ संविधानको निर्माणका लागि छलफल भइरहेको, नाना प्रकारका शङ्का-उपशङ्का व्यक्त गरिनाका साथै सुन्दर सम्भावनाबारे तर्कवितर्क प्रस्तुत गरिँदै गरेको वर्तमान ऐतिहासिक घडीमा जनतामा व्याप्त चिन्ता र चिन्तनलाई मूर्तरूपमा मञ्चमा उपस्थित गर्ने यस रूपकात्मक प्रकृतिको प्रतिकधर्मी एकाङ्कीमा मुलुकको लोकतान्त्रिक आन्दोलनको इतिहासको समीक्षा गर्दै हाम्रो राजनीतिक समस्याको दीर्घकालीन समाधान ननिस्कनुमा सूत्रधारका रूपमा रहेका नेताहरूका अनुचित मनोकाङ्क्षाको खेल छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । सात साल, छत्तीस साल, छयालीस साल र त्रीसठ्ठी साल सबैमा नेताहरूको भूमिका शङ्कास्पद रहेको छ भन्ने देखाउँदै नेताहरूबाट गरिने गरेको सम्झौताको राजनीतिप्रति असन्तुष्टी पनि यसमा प्रकट गरिएको छ ।

तीन सूत्रधार पुराना र नयाँ दुईथरी छन् र परस्पर विरोधी पनि छन् । यी समकालीन छन् र रङ्गमञ्चमा आफूले कब्जा जमाइराख्न युद्धरत छन् । यो त स्पष्टै छ तर यिनको सङ्ख्या किन तीन राखिएको होला । यी नेताका प्रतिरूप छन् र यहाँ सात साल, छत्तीस साल, छयालीस साल र त्रीसठ्ठी सालको जनआन्दोलनको उल्लेख भएकाले तिनको नेतृत्व गर्ने नेता पनि चार हुने भए र त्यसो हुँदा सूत्रधार चार हुनुपर्थ्यो, तीन किन त ? नाटककार समकालीन राजनीतिक नाटकको दृश्यविधानमा ध्यानमग्न भएकाले र यतिखेर तीन प्रमुख दल (नेपाली काङ्ग्रेस, एमाले र माओवादी) का नेता राजनीतिक रङ्गमञ्चमा प्रतिस्पर्धीका रूपमा हानाथाप गरिरहेका हुनाले त्यसै अवस्थाको विम्ब उतार्न तीन सूत्रधारको परिकल्पना गरेका होलान् भन्ने अनुमान हुन्छ ।

गणतान्त्रिक नेपालको सङ्घात्मक स्वरूपका लागि उपयुक्त हुने नयाँ संविधानको निर्माण हुँदै गरेको पृष्ठभूमिमा नाटकको रङ्गमञ्चमा वर्चस्व कायम राख्तै आएका यथास्थितिवादी परम्पराधर्मी सूत्रधार र निर्देशकका स्थानमा अब सीमान्तीकृत गरिँदै आएका र अल्पमतमा पारिँदै आएका नयाँ पुस्ताका सूत्रधार र निर्देशकलाई अवसर दिइनुपर्छ भन्ने आवाज उठाएर राजनीतिको रङ्गमञ्चमा यथास्थितिवादी पुराना नेताहरूका स्थानमा अवसर नपाएका, सीमान्तीकृत र अल्पमतमा परेका परिवर्तनकामी नयाँ पुस्तालाई मौका दिइनुपर्छ भन्ने भावनाको अभिव्यञ्जना यस नाटकमा जसरी गरिएको छ त्यसमा नाटककारको प्रयोग कौशलको प्रशंसनीय भूमिका छ । यसमा ठाउँठाउँमा भाषिक त्रुटि र मुद्रणदोष भने पाइन्छ । यसको रङ्गमञ्च भूमण्डलीकृत छ र केही रहस्यात्मक पनि छ भने भयजनक हुनाका साथै विस्मयजनक पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *