नजिकको तीर्थ हेला भनेझैँ साँझबिहान बाटामा आउँदाजाँदा, भेट हुँदा तिनीहरूको त्यति वास्ता लागेको थिएन । डेराअगाडि छाप्रामा बस्ने तिनीहरूलाई जब मैले तीन दिनसम्म लगातार देखिन अनि तिनीहरूप्रतिको रुचि बढ्दै गयो । कहाँ गए होलान् , के भए होलान् , किन तिनीहरूको छाप्रामा सधैँ बल्ने टुकी बल्दैन आदिजस्ता प्रश्नहरूले घेर्न थालेपछि म तिनीहरूका बारेमा जान्न उत्सुक भएँ । कहिलेकाहीँ मन वास्ता नगरिएका विषयमा केन्द्रित हुँदो रहेछ । म तिनीहरूको ताल्चा झुन्डिएको ढोकातिर एकटक लगाएर हेर्न थालेँ ।
तिनीहरू अर्थात् बूढा, बूढी र तिनीहरूका बुढेसकालका एकजना सन्तान छोरा थिए । तिनीहरूको उमेरले पचास नाघिसकेको हुनुपर्छ । उमेरको अनुमान मैले तिनीहरूका बाह्य आकृतिको आधारमा लगाएको हुँ । ती दुवैका गाला चाउरिएर स्याप्प सुकेका थिए । तिनीहरूका नाडीका मासु छालासँगै ट्याप्प टाँसिएकाले मासु भन्नु र छाला भन्नुमा कु्नै अन्तर थिएन । आँखाका डिलमा परेका गहिरागहिरा खोपिल्टाले तिनीहरूका अनुहारलाई पोटिलो देखिनबाट जोगाएको थियो । दुवैका गोडाका कुर्कुच्चा धाँजाधाँजा परेर फाटेका थिए । तिनलाई देख्दा लाग्थ्यो ती खडेरीग्रस्त छन् ।
तिनीहरू दुवैका बाहिरबाट देखिने भयावह आकृतिका विपरीत सुरुमा तिनीहरूका छोरा भने ठू्लाबडाकै सन्तानजस्तो गठिलो-पोटिलो देखिन्थ्यो । उसको त्यो कृत्रिम स्वरूप तिनीहरूले आफूले खाईनखाई छोराप्रतिको अभिभावककीय दायित्वलाई पूरा गरेको परिणाम थियो । यसैले उसको गाला देख्ता चिमटूँ- चिमटूँ लाग्थ्यो । जब छोरो बामे सर्न छाडेर टुकुटुकु हिँड्न थाल्यो तब छोराका आवश्यकता बढ्दै जान थाले । बढ्दो आवश्यकताका कारण छोराले पसलमा जे देख्यो त्यही माग्न थाल्यो । छोराका कलिला हातले देखाएका कुराहरू जब तिनीहरूले किनिदिन सक्न छाडे तब छोरो पनि आफ्नो कृत्रिम स्वरूपलाई छाडेर तिनीहरूको मौलिक स्वरूपमै देखापर्न थाल्यो । असमयमै स्याप्प सुकेका गाला र खोपिल्टा परेका आँखा उसका पनि मौलिक पहिचान हुन थाले । त्यसछि तिनीहरू तीनैजनाका परिचयमा रहेका भिन्नताका सीमारेखाहरू क्रमशः मेटिँदै जान थाले ।
तिनीहरू तीनैजना सखारै निस्केदेखि सधैँ सँगै हुन्थे । बिहान छाप्राबाट निस्कँदा तिनीहरू तीनजनाका अतिरिक्त तिनीहरूसँग एउटा ठेलागाडा पनि हुन्थ्यो । तिनीहरूको मौलिक स्वरूपजस्तै त्यो पनि सामान्य ठेलागाडाभन्दा भिन्न थियो । बसट्रकका ठूलाठूला पाङ्ग्राजडित बडेमानका ठेलागाडा तिनीहरूसँग थिएन । त्यस्ता विशाल ठेलागाडा ठेल्नका लागि बलिष्ठ पाखुरा र खाइलाग्दो ज्यान चाहिने भएकाले तिनीहरूको होचो कदसँग मेल्दोजुल्दो ठेलागाडा थियो । तिनीहरूका ठेलागाडामा स्कुटरको थोत्रो टायर राखिएको थियो र अग्राखका गह्रौँगह्रौँ काठका ठाउँमा हल्का फलामका डण्डी र पाता राखिएका थिए । तिनीहरूका ठेलागाडा अरूभन्दा विशेष किन पनि थियो भने त्यसमा ‘छिन्द्रिङछिन्द्रिङ’ बज्ने एउटा सानो घन्टी जोडिएको थियो जुन ठेलागाडा ठेल्नासाथ अनवरत बज्न थालिहाल्थ्यो । त्यसबाट तिनीहरूलाई दुईवटा फाइदा भइराखेको थियो । पहिलो फाइदा थियो, त्यसले हर्नको काम गर्थ्यो । दोस्रो फाइदा भनेको चाहिँ तिनीहरूले छोरालाई फकाइराख्नुपर्दैनथ्यो। घण्टीको ‘छिन्द्रिङछिन्द्रिङ’ आवाज सुनेर तिनीहरूको छोरो मख्ख पर्दै ठेलागाडामा लादिएको भारीमाथि बसेको हुन्थ्यो। त्यसरी बस्ता उसले ड्राइभरको अभिनय गर्न सिकिसकेको थियो। ठेलागाडा जता मोडिन्छ त्यता स्टेयरिङ बटारेको नक्कल गर्न र अगाडि मान्छे अथवा बस्तुभाउ पर्दा घण्टीको ‘छिन्द्रिङछिन्द्रिङ’ आवाजसँगै ”टीँ….. टीँ……….” गर्न उसलाई कसैले सिकाउनुपरेको थिएन। ती सब उसले आउँदा-जाँदा बाटामा आफैँ देखेर सिकिसकेको थियो। छोराको यस्तो तीक्ष्ण ग्रहणक्षमता देखेर तिनीहरू कहिलेकाहीँ एक-अर्कालाई हेर्दै फिस्स हाँस्थे। त्यस्ता बेला तिनीहरूका आँखामा आफ्ना छोराको भविष्य हाँसिरहेको हुन्थ्यो।
छोरा ठूलो हुँदै गएपछि तिनीहरूलाई समस्या पर्दै गयो। तिनीहरूको पहिलो समस्या थियो, छोराले ड्राइभरको अभिनय गर्दै ठेलागाडामाथि बस्न अस्वीकार गर्न थालिसकेको थियो। उसका जोरीपारीले ”ठेलागाडाको ड्राइभर आयो, ठेलागाडाको ड्राइभर आयो” भन्दै उसलाई देखाएर जिस्क्याउन थालेकाले त्यसरी बस्न लाज लाग्न थालेको हो। तिनीहरूको दोस्रो समस्या थियो, छोरो ठूलो हुँदै गएकाले ठेलागाडाको भारमाथि उसको भार पनि थपिन्थ्यो। त्यसबाट तिनीहरूलाई ठेलागाडा ठेल्नका लागि अतिरिक्त शक्ति खर्च गर्नुपर्थ्यो। त्यसले गर्दा तिनीहरूको काम गर्ने क्षमता र समयमा तीव्र गतिमा कटौती हुँदै थियो। त्यसको प्रत्यक्ष असर तिनीहरू तीनैजनाको पेटमा पर्थ्यो। त्यसकारण तिनीहरूले सल्लाह गरेर छोरालाई राम्रो स्कुलमा पढाउने रहर गरे।
रहरले डोर्याएर तिनीहरूलाई ठूलाठूला बोर्डिङ स्कुलको ढोका ढकढक्याउन लगायो। कति ठाउँमा तिनीहरूले मूलद्वारबाटै प्रवेश पाएनन् भने कति ठाउँमा तिनीहरूका कमजोर खल्तीले आँट्नै सकेन। त्यस बेला तिनीहरूका आँखामा हाँसिरहेको छोराको भविष्य झ्याप्प निभ्थ्यो। हार खाएर छोरालाई तिनीहरूले सरकारी स्कुलमा भर्ना गरिदिए। त्यसपछि बिदा नपरेका दिनमा छोरो स्कुल जान्थ्यो र तिनीहरू ठेलागाडा ठेल्दै कामको खोजीमा निस्कन्थे।
”ऊ आयो-आयो” म अहिलेसम्म जसका बारेमा कुरा गर्दै थिएँ नि, हो, तिनीमध्ये बाबुचाहिँ आज ठ्याक्कै तीन दिनपछि तिनीहरूका छाप्रामा आए। अहिले साँझ झमक्क खसिसकेको छ। बिजुलीबत्ती हुनेले आ-आफ्नो घरका कोठा-चोटा र कौसीहरू झलमल्ल पारिसकेका छन्। वरिपरिका बत्तीको प्रकाश तिनीहरूको छाप्रासम्म पुगेको छ। त्यही प्रकाशमा म उसलाई छाप्राभित्र देखिरहेको छु। उसले छ्यास्स कोरेर सलाईको आगो टुकीमा सारिसकेको छ। महोदय, तपाईँ भन्नुहोला यत्रो सहरमा बिजुलीबत्ती नबालेर उसले टुकी बालेको कुरा किन गरिस् ? त्यसको छुट्टै कथा छ। आउनुस् एकछिन त्यता लागौँ।
वरिपरिका छाप्रामा बिजुलीबत्ती बले पनि उसकहाँ टुकी बल्ने गरेको सत्य हो। यसो हुनुको मुख्य कारण हो, एक दिन एकजना छिमेकी मुख्य ट्रान्समिसन लाइनबाट हुक लगाएर बत्ती बाल्न खोज्दा ठहरै भएका थिए। ती छिमेकीले पानी भन्न पनि पाएनछन्। आफ्नै आँखाले त्यो दृश्य देखेपछि उसलाई हुक लगाउन त के अरूले हुक लगाएर बिजुलीबत्ती झलमल्ल पारेको पनि मन पर्न छाडेछ। तपाईँलाई यहाँ एउटा तथ्यचाहिँ भनिदिऊँ, त्यो के भने उसले हुक लगाएर बत्ती चोरी नगर्दा सरकारको राजस्व-घाटामा वृद्धि नभएको कुरोचाहिँ उसलाई र उसको सरकार दुवैलाई थाहा छैन। थाहा हुँदो हो त यस बेलासम्म उसको थुप्रै पटक अभिनन्दन भैसक्नुपर्ने हो। त्यो भएको छैन।
अब लागूँ छाप्रातिर, किनभने उसलाई उम्काउनु छैन। अहिले उम्काए उसको कथा अधुरै रहन सक्छ। म डेराकोठाबाट निस्केर छाप्रोतिर लागेँ।
त्यहाँ ऊ केही खोज्दै छ। जति खोज्दा पनि इच्छित वस्तु फेला नपरेपछि ऊ छाप्राबाट निस्केर हिँड्न थाल्यो। अघिअघि ऊ र पछिपछि म थिएँ।
उसको गन्तव्य देशकै मुख्य मानिने अस्पताल रहेछ। ऊ अस्पतालको ढोकाभित्र छिर्यो र म पनि। ऊसँगै अगाडि बढ्न खोज्दा अस्पतालबाट बाहिर निस्कँदै गरेको ह्वास्स दुर्गन्धसँग ढोकैमा मेरो जम्काभेट भयो। नाक जोगाउने अरू उपाय नभएपछि हत्तपत्त मैले जेबरुमाल निकालेर छोपेँ। त्यसरी नाक छोप्दा सास फेर्न मुस्किल भए पनि हटाउनुहुँदैन भन्ने मन्त्र हनुमानचालिसा जपेझैँ जप्न थालेँ।
त्यो अस्पताल विदेशीले चलाउँदा कस्तो थियो र आज कस्तो भयो भनी सम्झन थालेँ। विदेशीले चलाउँदा बाथरुममै ओछ्यान लगाएर सुते पनि फरक नपर्ने थियो भने आज बेडमा सुत्न पनि घिन लाग्ने खालको थियो। त्यति बेला डाक्टर र नर्सहरूलाई खोज्न पर्दैनथ्यो। ती आफैँ बिरामी खोज्दै आइपुग्थे। आजभोलि त्यस अस्पतालमा डाक्टर र नर्सहरूलाई खोजे पनि भेट्न मुस्किल पर्थ्यो। हो, एउटा कुरामा भने प्रगति भएको थियो। बिरामीको स्वागत प्राक्टिसनरहरूले गर्थे।
ऊ सरासर अस्पतालको इमरजेन्सी वार्डमा पस्यो। त्यहाँ उसका छोरालाई लडाएर राखिएको रहेछ। नजिकै उसकी बूढी बसेकी रहिछ। उनीहरूको भेट भएपछि एक-अर्कालाई हेराहेर गरे र चुपचाप टुक्रुक्क बसिरहे।
बस्तै गएरपछि मैले तिनीहरूका बारेमा सबै कुरा चाल पाएँ। कुरो के रहेछ भने तीन दिनअगाडि बिदाका दिन ठेलागाडा ठेल्दै गर्दा तिनीहरूका छोरालाई मोटरले ठक्कर दिएछ। ठक्कर दिएर मोटर भागेपछि तिनीहरूले आफ्नै ठेलागाडामा राखेर कुदाउँदै अस्पताल ल्याएका रहेछन्। अस्पताल पुर्याएपछि छोरो ठीक हुन्छ भन्ने तिनीहरूको भ्रम त्यति बेला भङ्ग भएछ जब अस्पतालका कसैले पनि तिनीहरूका हारगुहार र पुकार सुनेनछन्। डाक्टर त के नर्सले पनि तिनीहरूतिर फर्केर नहेरेपछि छोराको पीडा हेर्न नसकी रुनकराउन थालेछन्। त्यसपपछि एउटा प्राक्टिसनरको मन पग्लेछ। सेतो लुगा लगाएको उसलाई तिनीहरूले डाक्टर नै सम्झेछन्। उसले जानेसम्म गरेछ तर दुर्घटनाको गहिरो चोटका कारण एक्सरे गरेर हेरेपछि अपरेसन गर्नुपर्छ भनेको रहेछ। त्यही अपरेसनखर्च जुटाउनका लागि बूढोचाहिँ छाप्रामा पुगेको रहेछ। छाप्रामा केही छैन भन्ने थाहा पाएकी बुढीचाहिँ छोरालाई रुँगेर बसिछ। छाप्राबाट बूढो रित्तै हात फर्केको कुरा चाल पाएकीले बूढालाई उनले केही भन्नै परेन। त्यसकारण तिनीहरूका लागि संवादको आवश्यकता नपरेको रहेछ।
सरकारी अस्पतालमा असहायहरूका लागि निःशुल्क औषधिउपचारको व्यवस्था हुन्छ भन्ने ब्रह्मज्ञान ती बूढाबूढीलाई फुरोस् भनी छेउमै बसेर कामना गर्न थालेँ। त्यसो होइन भने कोही पत्रकार अथवा सामाजिक कार्यकर्ताको नजर परोस् र तिनीहरू समाचारका विषयवस्तु बनून् भनी मनमनै प्रार्थना गर्न थालेँ। मेरो कामना र प्रार्थना दुवै कमजोर रहेछन्। सम्भवतः मानिसले सोचेजस्तो भइदिने भए दुःख नामको चीज नै यस संसारमा हुने थिएन।
तिनीहरूका घाइते छोरातिर हेरेँ। कटकटिएर जमेको रगत उसका घाइते शरीरभरि देखिन्थ्यो। ऊ सुतेको नाङ्गो भुइँसमेत रगतको आहाल भएर जमिसकेको थियो। रगतका टाटाहरू उसका कपडाभरि थिए। ती जमेर शरीरसँगै चपक्क टाँसिएका थिए। अति पीडाका कारण होला ऊ पीडा व्यक्त गर्नसमेत सकिरहेको थिएन, निश्चल थियो।
इमरजेन्सी वार्डमा मानिसहरूको आउनेजाने क्रम निरन्तर जारी थियो। जति पनि बिरामी लिएर त्यहाँ आउँथे तिनले डाक्टर अथवा नर्सको खोजी गर्नुभन्दा पहिला अस्पतालमा काम गर्ने कोही आफन्त अथवा चिनेजानेका मान्छे खोज्न थाल्थे। यसरी खोज्दा चिनेजानेका मान्छे फेला परेपछि तिनीहरूको फुर्ती नै बेग्लै हुन्थ्यो। मानौँ तिनीहरू अस्पतालमा उपचार गर्नाका लागि नभई ”मेरो मान्छे छ” भनी देखाउनका लागि आएका हुन्। त्यसकारण कोही बिरामी लिएर आई शुल्क बुझाएर डाक्टर, नर्सको खोजी गर्न थाल्छ भने सम्झे हुन्थ्यो त्यसको अस्पतालमा कोही रहेनछ। त्यसले चुपचाप सरकारी उपचार पर्खेर बसे हुन्थ्यो। जान्ने बनेर अधिकारको खोजी गरे, त्यसको जस्तो बेहाल कसैको नहुँदो रहेछ। डाक्टरभन्दा नर्स र त्योभन्दा पनि पिउनसँग जति निहुरमुन्टी न लगाएर बोल्न सक्यो त्यति फाइदामा हुने रहेछ।
इमरजेन्सी वार्डमा बस्ताबस्ता वाकवाकी र सुसु दुवै एकैपटक लागेकाले कसैलाई नसोधी टाढैबाट दुर्गन्ध सुँघेर मैले शौचालय पत्ता लगाएँ। शौचालय वास्तवमा शौचालय रहेछ। त्यसको वर्णन त के हेर्न पनि सकिन्न रहेछ, भित्र पस्ने कुरै छाडिदिऊँ। फर्केर अस्पतालका कर्मचारीले प्रयोग गर्ने शौचालय भेटिन्छ कि भनी खोज्न थालेँ। त्यो नखोजेको भए हुने रहेछ। अस्पताल भनेको सफासुग्घर र स्वच्छ हुन्छ भन्ने भ्रममा अरू केही दिन बाँच्न पाउने रहेछु। कम्तीमा मैले खानामा झिँगा भन्किरहेको, लामखुट्टे र झिँगाले आसपास खेलेको, बेड भाँचिएर लत्रेको , त्यसैमा दुईदुईजना बिरामी ठेलमठेल गर्दै सुतेका, भित्ता उप्किएर बिरूप भएका र भुस्याहा कुकुरहरू निर्धक्क डुलिरहेका देख्न पर्दैनथ्यो। रातीराती स्यालका हूलका हूल अस्पतालमा पसेर केटाकेटी तान्न आउँछन् भन्ने सुनेको थिएँ, सत्य रहेछ जस्तो लाग्यो।
अस्पतालका कर्मचारीका लागि छुट्याइएका शौचालयमा ताल्चा झुन्डिएको देखेपछि म बाहिर निस्केँ। त्यहाँ अस्पताललाई छेक्ने पर्खाल भत्किएर तिनका भग्नावशेष थिए। त्यसको फाइदा त्यहाँका बेवारिसे बस्तुभाउले उपयोग गरिरहेका थिए। अस्पतालमा खाली चउर तिनीहरूकै चरनका लागि छाडिएका जस्ता झाडी नै झाडीले भरिएका थिए। त्यही झाडीमा अरूबाट छलिएर वाकवाकी र सुसु फालेपछि मलाई स्वर्गीय आनन्द भयो। त्यसरी अस्पतालपरिसरमै फोहोर गर्नुपर्यो भनेर आफूलाई धिक्कारेको त त्यो छाडिएकै त्यसैका लागि रहेछ।
इमरजेन्सी वार्डमा फर्केर म बूढाबूढीहरूलाई खोज्न थालेँ। तिनीहरू त्यहाँ थिएनन्। नाम-दर्ताशाखामा गएर सोधेँ। त्यहाँ पुगेर थाहा भयो, मलाई तिनीहरूको नाम थाहा रहेनछ। बिरामीको प्रकृति बताएर सोध्दा उत्तरको साटो उपेक्षित प्रश्न पाएँ-
”ए ! होचाहोची बूढाबूढीको एक्सिडेन्टमा परेको छोराको कुरा गर्नुभ’को ! तीन दिनदेखि त्याँ पर कुनामा लडिरा’को थ्यो, त्यसैलाई सोध्नुभ’को ?”
मैले सोधेँ” हो-हो तिन’रू त्याँ छैनन्। कता गए ?”
उनै प्रश्नकर्ताको जबाफ थियो, ”तिन’रूको त यहाँ नाम दर्ता छैन।”
”ए ?”
उनी अगाडि बढे- ”तिन’रूलाई एउटा पत्रकारले भेट्टाएर समाचार लेखिदिन्छु भन्दै उफ्रिँदै थियो। त्यो देखेर डाक्टर र नर्सहरू त्यसलाई जाँच्न दौडिए। तर के गर्नु ! डाक्टरले जाँचेपछि मात्र थाहा भयो त्यस केटाले संसार छाडेको चौबीस घण्टाभन्दा बढी भैसकेको रहेछ। तिनीहरू तीँ बाहिर होलान्। हेर्नुस् त, घाट लान पैसा छैन भन्दै थे। कतै लास छाडेर त हिँडेनन् ?”
यति सुनिसकेपछि बाँकी सुन्नुपर्ने आवश्यकता देखिनँ। तिनीहरूलाई खोज्नतिर पनि लागिनँ।
म डेराकोठामा आइपुग्दा तिनीहरू बूढाबूढी तीन दिनदेखि थन्क्याएको ठेलागाडा निकालेर ठेल्दै थिए।
