साथ दिन्छ्हु भन्थ्यौ मलाई
अन्तिम श्वाससम्म पनि
तिमी फूल म भमरा भनी
आउथ्यौ सधैं रवि बनी
बिश्वास यति गरें तिमीलाई
त्योभन्दा पर सत्य थिएन
जलायौ मेरो हृदय तिमीले
शरदमा पनि शितल मिलेन
आश्वासनको पगरी भिडायौ
म बाँधिए विवाह-बन्धनमा
मैले सोचें बने कविता तिम्रो
तर कविता त रहेनछ छन्दमा
के थाहा त्यो झुट आडम्बर
आज खोक्रो आदर्श भएछ
साथ दिने वाचा तोड्यौ
मात्र आँखाको भ्रम रहेछ
तिमीले यसरी दुत्कार्यौ
प्रश्न गर्न चाहन्छु किन?
दोष के नै थियो र मेरो
केवल आमा बन्न सकिन
बिझ्दछ मेरो कोमल हृदय
तिम्रो त्यो कठोर वचनले
बाँझी शब्दले घायल भएँ
यथार्थ बुझेनौ अन्तरमनले
किन जन्मेछु म आमा
आफै आमा हुन सकिन
किन चाहियो यो जीवन
तिम्रो प्रतिरुप बन्न सकिन
सोचेथें तिमी मेरो राजा
गलाको हार रत्नयुक्त
जाऊ तिमी अब टाढा
बरु गर्छु बन्धनमुक्त
यो एउटा अवसर थियो
आज नजिकबाट चिनियो
भो अब मलाई पुग्यो
सम्बन्ध हाम्रो छिनियो
बिताँउछु जीवन म एक्लै
कति रेट्छौ धारिलो छुरी
सायद शुरु गर्छौ नवजीवन
शुभकामना मेरो मुरीमुरी
बिना तामाङ्
काठमाण्डौं
