Skip to content

गुनमाथिको बैगुन

  • by


एउटा दुर्गम पहाडी गाउँको कुरा हो । अनिलको घरबाट उसले पढ्ने स्कुल निकै टाढा पर्थ्यो । स्कुल जाँदा बाटामा एउटा ठूलो जङ्गल थियो । हुन त गाउँको बाटाबाट पनि घुमेर स्कुल पुगिन्थ्यो तर त्यो बाटो धेरै लामो र घुमाउरो थियो । अनिलकी आमा ऊ सानो छँदै बितेकीले उसका बाबुले अर्की सौतेनी आमा ल्याएका थिए । सौतेनी आमाले आफ्नी आमाले जस्तो के माया गर्थिन् र ? पहिला त अनिललाई स्कुल नै नपठाउने बिचार थियो उनको तर गाउँले र सबै छिमेकी लागेर स्कुल पठाउन दवाब दिएपछि मात्र अनिलका बाबुले उसलाई स्कुलमा भर्ना गरिदिएका थिए । स्कुल गए पनि बिहान अनिलले घरको सबै काम गर्नु पर्थ्यो, गाईवस्तुको गोबर सोर्नु पर्थ्यो, घाँस बाट्नु पर्थ्यो । उसका सबै साथीहरू स्कुल गइसकेपछि मात्र ऊ स्कुल जान पाउँथ्यो । अरु साथीहरू समयमैं घरबाट हिँड्दा समयमैं स्कुल पुग्थे तर अनिलले समयमा स्कुल पुग्न जङ्गलकै बाटो हिँड्नु पर्थ्यो ।

सबै साथीहरू आ-आफ्ना घरमा आमाले बनाइदिएको खाजा लिएर स्कुल जान्थे तर अनिललाई कसले खाजा बनाइदिन्थ्यो र ! ऊ कहिले त्यसै जान्थ्यो त कहिले गाउँघरका बारीमा फलेको अम्बा, आरु, नासपाती तथा भोगटे लिएर जान्थ्यो । त्यही फलफूल पनि ऊ सबैलाई बाँडेर खान्थ्यो ।

एकदिन ऊ जङ्गलकै बाटो भएर स्कुल गइरहेको थियो एउटा बूढो गिद्धले रूखको तल्लो हाँगामा आएर दयालु पारामा अनिललाई भन्यो “बाबु मलाई धेरै भोक लागेको छ । तिमीसित केही खानेकुरा छ भने देऊ ।” बिचरा अनिलसित के खानेकुरा होस् र झोलामा केही अम्बा राखिएको थियो त्यही दुई दाना झिकेर रूखको फेदमा राखिदियो । अनि ऊ सरासर स्कुल हिँड्यो ।

भोलिपल्ट पनि बूढो गिद्धले त्यसै भन्यो । अनिलले दुईवटा नासपाती रूखका फेदमा राखिदियो । यसरी सधैं गिद्धलाई अनिलले केही न केही आफूसित भएको खानेकुरा दिँदै गयो । गिद्ध केही आफू खान्थ्यो भने केही उसकी बूढी श्रीमतीलाई लगिदिन्थ्यो, बूढी पनि ती खानेकुरा खुब मीठो मानेर खान्थी । यसरी एउटा अबोध केटाले आफ्नो खाजा कटाएर गिद्ध बूढाबूढीलाई केही खान दिइरहेको थियो तर एक दिन बूढी गिद्धिनीका मनमा पाप पलायो र उसले आफ्ना श्रीमानलाई भनी- “बूढा यस्ता मीठा फलफूल त्यो केटाले ल्याउँछ उसले ल्याएको फलहरू त त्यति मीठा हुन्छन् भने उसको मुटु कलेजो त झन् कस्तो मीठो होला भोलि त्यो केटालाई फकाएर लिएर आउनू । हामी दुई बूढाबूढीले चुच्चाले ठुँगीठुँगी त्यो केटाको मुटु कलेजो झिकेर खानुपर्दछ । बूढीको यस्तो निर्दयी कुरा सुनेर बूढो गिद्ध छक्क पर्‍यो र भन्यो- “हेर बूढी उसले हामीलाई त्यस्तो गुन गरेको छ, हामीले त्यस्तो पाप काम गर्नु हुँदैन ।” तर पापिनी बूढी के मान्थी र । उसले रिसाउँदै भनी,”यदि भोलि त्यो केटालाई लिएर नआउने भए म भोकभोकै बसेर प्राण त्याग गर्छु ।”

अब बूढो गिद्धको केही लागेन । भोलिपल्ट ऊ सदाझैं त्यही रूखको हाँगामा बस्यो । अनिल आएपछि उसले भन्यो-“अनिल बाबु तिम्री काकी -बूढी गिद्धिनी)ले धेरै नै तिमीलाई भेट्न खोजेकी छ, जाउँ आज हाम्रो घरतिर ।”गिद्धको यस्तो कुरा सुनेपछि अनिलले भन्यो-“गिद्ध काका म भुइंँमा हिँड्ने मान्छे, तिमी आकासमा उड्ने गिद्ध कसरी मैले जानु तिम्रो घर । फेरि मेरो त स्कुल जानु पर्दछ, म जान्न ।” गिद्धले फकाउँदैं भन्यो-“म एउटा रूखको तल्लो हाँगाबाट अर्काे रूखको तल्लो हाँगाहाँगा उड्दै जान्छु,तिमी त्यतै त्यतै भुईँमा दौड्दै आउनु केही पर एउटा ओडार छ,हामी त्यही त बस्छौ नि ।”सारै कर गर्न थाल्यो गिद्ध अनिललाई । अन्त्यमा हार्न नसकेर उसले भन्यो,-“आज शुक्रबार मेरो स्कुल हाफ छुट्टी हुन्छ । र्फकंदा जाउँला ।” यस कुरा गिद्धले सहमति जनायो ।

स्कुल छुट्टी भयो । ऊ जङ्गलकै बाटो फर्कियो । गिद्धसित भेट भएपछि उसले भने अनुसार अनिल गिद्धका घरतिर लाग्यो । केही पर पुगेपछि एउटा ओडार आयो र गिद्ध अनिललाई लिएर ओडारभित्र पस्यो । त्यहाँ त्यही बूढी गिद्धिनी बसिरहेकी थिई । उसले एक्कासी भनी-” ए केटा ! तैँले ल्याएको खानेकुरा त त्यति मीठो छ भने तेरो मुटु कलेजो त झन् कति मीठो होला । आज तेरो मुटु कलेजो खान्छौँ हामी ।” यसो भनेपछि उनीहरू दुवै उसलाई ठुँग्न खोजे । अनिल अब धर्मसङ्कटमा पर्‍यो तर चाँडै बुद्धि पुर्‍याउँदै उसले भन्यो- “पर्ख पर्ख ए गिद्ध काकाकाकी ! तपाईंहरूलाई मेरो मुटुकलेजो खान मन लागेको रहेछ तर के गर्ने आज त मैले मेरो मुटु कलेजो नै घरमा राखेर आएको छु । भोलि म मेरो मुटु कलेजो आफ्नो पेटभित्र राखेर आउँछु, अनि खानुहोला । त्यसपछि तपाईँहरू मज्जाले मेरो मुटु कलेजो खानुहोला ।”दिमागमा बुद्धू र नियतमा पापी गिद्धहरूले अनिलको कुरा सजिलै पत्याए । यति भनेर अनिल भने पापी गिद्धहरूबाट उम्कियो ।

अनिल दौडिँदै आफ्नो घर पनि नगई गाउँलेहरू सबैलाई आज घटेको घटना सुनायो । सबैले सौतेनी आमाका कारणले समयमा स्कुल भ्याउन जङ्गलको बाटो जानु परेको कुरा थाहा पाएका थिए । गाउँलेहरूले तुरुन्त एउटा भेला गरेर सौतनी आमालाई सभामा राखेर भोलिपल्टदेखि अरु विद्यार्थीहरूसितै गाउँको बाटो भएर स्कुल पठाउने बाचा गराए । भोलिपल्टदेखि अनिल समयमैं साथीहरूसित गाउँको बाटो स्कुल जान थाल्यो । उता उसलाई पर्खी बसेका मूर्ख गिद्धहरू ऊ त्यो बाटो हिँड्नै छाडेपछि थाप्लामा हात राख्दै सधैँ खान पाइने फलफूल पनि गुमेकामा पछुतो गर्न थाले । यसरी गुनको बदलामा प्राण नै लिन खोज्नेहरूले पाएको कुरा पनि सधैंका लागि गुमाउनु पर्छ भन्ने शिक्षा यो कथाले दिन्छ ।

मुना २०६७ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *