आज शनिबार ह्यूसँग साउथ अस्ट्रेलियाको सबभन्दा ठुलो नदी मारी घुम्न जानलाई डेभिड्को घरमा उसलाई कुर्दै थिए । एडलाइडबाट ८० किलो मिटर टाढाको यात्रा रमाइलो हुने भएकाले मनमा उत्सुक्ता जागेको थियो । ठिक अंग्रेजी समयमा नै साथी आएपछि हामी कारमा घुम्न निस्कियौ । ह्यू रमाइलो साथी रहेछ । पहिले बिद्युतीय पत्रचार मात्र भएकाले भेट्दा झन रमाइलो लागेको थियो । उसको छोरी मेरो स्कुल गैसकेकाले पनि ऊ नेपालप्रति जान्न चाहन्थ्यो । बाटोभरि नेपालको र मैले घुमेका ठाउहरू बारेमा गफिंदै प्रतिघन्टा १०० कि मि हुइकिदै थियौ ।
एउटा डाँडामा पुगेपछि ह्यूले गाडी रोक्दै भन्यो, ” म तिमीलाई हामी जाने ठाउँ देखाउँछु ।”
उसले औंलाले संकेत गर्दै भन्यो, “ऊ…..त्यो पारी ठाउँ हो । अब हामी अघि बढेपछि साना साना रुखहरू आउँछन् । यो ठाउँ अस्ट्रेलियाको सबभन्दा सुख्खा र कमसल उर्भरा भूमि हो । ”
निकै किलोमिटर पार गर्दा पनि न गाउँ भेटियो न पानी मुहान भेटियो । लाग्यो, अस्ट्रेलियाका मान्छे भेट्न शहर नै जानु पर्ने जस्तो । ठुला ठुला सुनसान मैदान मात्र भेटिने । केही कुदाइपछि, बाटोमा भेडा पालन देखेपछि ह्यूलाई सोधें, “यी भेडाको लागि पानी कहाबाट ल्याउछन ह्यू ?”
उस्ले पानीको ट्याङ्की देखाउदै भन्यो, “यहा अन्य ठाउँभन्दा काम बर्षा भए पनि किसानले आकाशको पानी ऊ…. त्यो ट्याङ्कीमा जम्मा गर्छन् बर्ष भरिलाई । त्यसैबाट आफू पनि पिउँछन ।”
कति उत्तम उपाए, मैले उसलाई भने ।
केही घण्टा यात्रापछि गन्तब्यमा पुगियो । मारी नदीको किनार चिटिक्क सजिएको सानो बजार रमणीय नै रहेछ । नारायणी जत्रो नदीमा फेरीमा घुम्न आउने मनिस निकै थिए । कोही बोट ईन्जिनमा रमाउँदै थिए । कोही पिकनिक मनाउँदै थिए । एक हुल युवाहरू जाडमा रमाउदै हप्तान्त (विकइन्ड) मनाउन फेरीमा हिंडेका पनि भेटिए ।
नेपालका नदीमा यस्ता जल बिहार बनाउन सके रोजगार पनि बढाउन सकिने र छुट्टी मनाउनेहरूले भर्पुर आनन्द पनि लिने पाउने । कति राम्रो हुन्थ्यो होला ।
ह्यूले मारी नदीबाट पानी ८० किलोमिटर उभो ठाउँ ठाउमा पम्पले तानेर एडलाइड शहर लगेको देखाउदा, हाम्रो मेलम्चीलाई ढुङ्ग्रोमा खसालेर उँधो ल्याउन आजसम्म नसक्दा कुरा गर्न पनि लाज लाग्यो । उसले तिम्रो सहरमा पानीको कस्तो ब्यबस्ता छ भनेर सोध्दा के भनुँ भनुँ जस्तो भयो । ढाँट्दा पनि उसकी छोरीले पोल खोलिदिने, नढाँट्दा पनि “सिकर्मीको घरको ढोका छैन” भने जस्तो हुने । कुरो गर्यो कुरोकै दु:ख । मनमा लागिरह्यो ।
