जून पोखिएको शीतल रात
भुइँझारको सतरञ्जामा पल्टिएर
चन्द्रज्योत्सनाले पखाल्न सकुँ
बेदनाका दागहरू,
तर नमागुँ हात फैलाएर कसैसँग
दयाको पानी र उपकारका साबुनहरू।
चुक पोखिएको निस्पट्ट रात
आत्मविश्वासको गोरेटोमा
चेतनमनको दियालो बालेर गन्तब्य खोज्न सकुँ
तर नपर्खुं अन्जान भोलिको उज्यालो,
लुटाएर आजको अमूल्य प्रहरहरू।
अवसरहरू कहिले आउन्नन् बाजा बजाउँदै
न त समयले पाइला चाल्छ बिगुल फुक्दै
जिन्दगीको छातीमा यदाकदा उम्रने सुनाखरी चुम्न
म पहिल्याउन सकुँ केवल यिनले दिने संकेतहरू
म धारण गर्न सकुँ ती सक्षम र सार्थक ज्ञानेन्द्रियहरू ।
कल्पनाको फुलबारी भन्दा
यथार्थको काँढघारी मन्जुर छ
रक्ताम्य सही
यात्राको निरन्तरतामा
म
हजार बार पछारिँदै फेरि उठेर,
धूलो मैलो टक्टक्याएर
अनन्त अनन्त लम्किरहन सकुँ
तर नसुस्ताउँ कतै लालचको चौतारीमा
पर्खिने समयको धर्सो तानेर,
समयका समानान्तर रेखाहरू खोइ कहाँ मिल्छन्!
स्वजीवन स्वानुभूतिमा स्वविवेकले बाँच्नेहरू,
मानवताको करेसाबारी
हार्दिकताले सिँचेर सहभावमा हाँस्नेहरू,
समयकै अज्ञात शिलामा युगको अक्षर खोपेर जान्छन्,
म
बाँच्नुको अधुरो रङञ्चमा
तिनै युगाक्षर चिनेर एक अर्को वर्णमाला थप्न सकुँ
तिम्रो मेरो र उसको हृदयको खस्रो भित्ता
सह-अस्तित्वको लेपले लिप्न सकुँ
अनगिन्ती टुक्रामा विभक्त मनहरू
एउटै सुत्रमा खिप्न सकुँ
हाय!
म
प्रसन्न मान्छे मान्छेको ओठबाट बर्षिने
मुस्कानी फूलहरू
अञ्जुलीभरि टिप्न सकुँ!!!
