राम्रो हेर्दै पुलकित हुँदै रम्यतामा रमायो
यौटा यात्री सरलपथको भव्य यात्रा समायो
नौला-नौला अनुभव कला जिन्दगीमा लिएर
कोठाभित्रै चलमल बिना बाँच्नु घाटा खिएर
भोग्नै राम्रो प्रकृतिरसमा जिन्दगीका बहार
आँखा हाम्रा अपलक सदा देख्न राम्रो अपार
टाढा-टाढा, नव-नव कला देख्नलाई हतार
घुम्ने,हेर्ने सुअवसर यो-लाग्छ यो हो असार
माथा अग्लो सगरसरिको देश बोक्ने हिमाल
डाँफे,लाली रन र वनमा फुल्छ राम्रो चिमाल
सीताजीको अति प्रिय थलो,बुद्धको देश हाम्रो
राम्रै, राम्रो प्रकृति-धरती छैन केही नराम्रो
आमा हाम्री प्रकृति गुरुमा ज्ञानदाता महान
राम्रा,नौला अनुभव लिए खुल्छ आफ्नै बिहान
कालो,मैलो मनमहलको फाल्नु राम्रो घुमेर
हातै बाँधी अविचल बसे जान्छ व्यर्थै उमेर ।
कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०
