खुशी चैत भई दियो हुरी आई उठाई दियो
दु:ख सागर भई यहाँ बाह्रै मास रही दियो
आँखा रारा-फेवा पारी कति बस्नु सावन झारी
कहिलेसम्म तिमी र म किनारमा वारिपारि ।
छुट्नु थियो साथ भने किन दियौ हात पहिले
नयनबाट शरदको शीत झारी बस्छु जहिले
तिमी उता रमायौ कि बसन्तको बहार छोई
मनको ढोका खोलिकन पस्यो कि त आई कोही ।
यो मनको मझेरीमा खाडल पारी दियौ भने
पाप लाग्ला तिमीलाई आँगन पुरी दियौ भने
बस तिमी सधै भरी दिलको सिंहासन दिन्छु
दु;ख पिर आफू लिन्छु खुशी बरु तिमीलाई दिन्छु ।
यो मनको बाँध भत्काई गयौ भने तिमी सरी
जीवनमा सधै मेरो आई रहन्छ साउने झरी
खडेरी भो खुशी यहाँ तिमीले हाँसो लुटी दिदा
बिना आगो जलेको छु तिमीले दिल भुटी दिँदा।
परदेशी मन तिमीलाई सम्झिएर रातो दिन
फोटो हेरी टोलाएर झस्किरहन्छु छिन छिन
डर लाग्छ तिमी त्यहाँ बसन्त भई फुली कतै
हँसायौ कि समाजलाई भमरा भई डुली कतै ।
तीर्थ यात्री पौडेल
लखनपुर ३ झापा,नेपाल
