बखते दमाई
थुकमा धागो चोबल्छन्
र हातले खिपेर
सियोमा घुसार्छन् ।
बखते दमाई
थुकमा चोबलेर
सियोमा अल्झाईएको धागोले
बुट्टेदार कोट र भादगाउँले टोपी सिउँछन्
घरबुनाको दौरा र सुरुवाल सिउँछन्
जनै धारण टुप्पीदार-पन्डित बाजेका लागि ।
पन्डित बाजे
बखते दमाईले सिलाएको
बुट्टेदार कोट र भादगाउँले टोपी लगाएर
घरबुनाको दौरा र सुरुवाल लगाएर
महायज्ञमा कोटी होम हाल्छन्
र सिद्दा उठाएर पेट पाल्छन् ।
पन्डित बाजे
बखते दमाईले सिलाएको
बुट्टेदार कोट र भादगाउँले टोपी लगाउँदा
आफुलाई गर्व गर्छन्,
घरबुनाको दौरा र सुरुवाल लगाउँदा
घमण्ड गर्छन्
तर बखते दमाई लाई छोएमा
पानीको छिटा हाल्छन् र चोख्खिन्छन्
पन्डित बाजे
बखते दमाईले सिलाएको
बुट्टेदार कोट र भादगाउँले टोपी
घरबुनाको दौरा र सुरुवाल
बाट ईज्जत बटुल्छन्
तर
बखते दमाईलाई
अछुत मान्छन् र भन्छन्
तँ त सानो जात ।

यो ऐना रहेछ, यहि मृत समाजका
यो ऐना रहेछ, यहि मृत समाजका जिउँदा अवशेषहरुको | यो आँखीझ्याल रहेछ, बखते काकाको पीडा चिहाउने | यो परिस्थितिको द्रष्टालाई मेरो सलाम छ, जसले बखतेलाई जिन्दगीमा पढ्नुपर्ने पाना पल्टाइदिएका छन |