१. परिचय
वि.सं. १९७९ साल असार २५ गते पिता ऋद्धिबहादुर मल्ल र माता आनन्दकुमारी मल्लका जीवितमध्येबाट जेठा छोराका रूपमा ओमबहाल दफ्तर, काठमाडौँमा जन्मिएका जयबहादुर मल्ल आधुनिक नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल गोठालेका नामबाट सुपरिचित छन् । तत्कालीन राजनैतिक परिस्थितिका कारण प्रारम्भतिर यिनले गोठाले उपनामबाट साहित्य सिर्जना गर्न थालेको बुझिन्छ र पछि यिनी यसै नामबाट नेपाली साहित्यमा परिचित हुन पुगेको देखिन्छ । नेपालको साहित्यिक पत्रकारिता जगत्मा मात्र नभएर सिङ्गो नेपाली साहित्यमै विशिष्ट स्थान राख्ने र नेपाली साहित्यका विभिन्न विधालाई आधुनिकतातर्फ डोर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने पत्रिका शारदाका सम्पादक आफ्ना पिता सुब्बा ऋद्धिबहादुर मल्ल र तत्कालीन अन्य साहित्यकारहरूको सँसर्गबाट गोठाले नेपाली साहित्यका क्षेत्रमा प्रवेश गरेका हुन् । आई. एस्सी. सम्मको अध्ययन गरेका गोठालेले औपचारिक शिक्षा उति धेरै हासिल नगरे पनि पारिवारिक परिवेश, स्वाध्यायन र व्यावहारिक अनुभवबाटै प्रशस्त ज्ञानार्जन गरेको देखिन्छ । आफ्ना बाबुको सम्पादनमा प्रकाशित साहित्यिक पत्रिका शारदाको केही समय सम्पादन गरेका गोठाले नेपालको पहिलो दैनिक अखबार आवाजको प्रधान सम्पादकसमेत भएका थिए । यिनले जोरगणेश प्रेस प्रा.लि.को सञ्चालक समितिका सदस्यका रूपमा पनि कार्य गरेको देखिन्छ । यिनी २०३६ सालमा निर्वाचन आयोगको सदस्यमा समेत मनोनीत भएका थिए । गोठालेले अफ्रो-एसियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पनि गरेका थिए । यसरी विभिन्न क्षेत्रमा प्रत्यक्ष-परोक्ष रूपमा सँलग्न रहेका देखिए पनि गोठाले मूलतः नेपालीका शीर्षस्थ साहित्यकार हुन् ।
अरू थुप्रै साहित्यकारहरूले झैं गोठालेले पनि शारदामा प्रकाशित ममता, अङ्गुरप्रतिजस्ता कविताका माध्यमबाट १९९६ सालमा आफ्नो साहित्ययात्रा प्रारम्भ गरेका भए पनि पछि आएर यिनी कवि नबनी ठूला नाटककार एवं आख्यानकार बन्न पुगेको देखिन्छ । नेपाली साहित्यका क्षेत्रमा चानचुन सात दशक अवधि पार गरिसकेका वयोवृद्ध साहित्यकार गोठालेका हालसम्म निम्नलिखित कृतिहरू प्रकाशित छन् ः
नाटक ः
भुसको आगो (२०१३),
च्यातिएको पर्दा (२०१६),
दोष कसैको छैन (२०२७) ।
एकाङ्कीसङ्ग्रह ः
भोको घर (२०३४) ।
कथासङ्ग्रह ः
कथासङ्ग्रह (२००३),
कथैकथा (२०१६),
प्रेम र मृत्यु (२०३९),
बाह्रकथा (२०५२) ।
उपन्यास ः
पल्लो घरको झ्याल (२०१६),
अर्पणा (२०५३),
पियानानी (२०५६) ।
उपर्युक्त पुस्तकाकार कृतिबाहेक गोठालेका केही कृतिहरू अप्रकाशित अवस्थामा रहेकोसमेत जानकारी पाइन्छ ।
नेपाली आख्यान तथा नाटयजगत्का शीर्षस्थ र वरिष्ठतम साहित्यमनीषी गोठाले निम्नलिखित पदक, पुरस्कार र सम्मानद्वारा विभूषित भएका थिए ः
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको मानार्थ आजीवन सदस्य (२०३३),
गोरखा दक्षिणबाहु दोस्रा (२०३६),
त्रिभुवन प्रज्ञा पुरस्कार (२०४२),
भवानी साहित्यिक पत्रकारिता पुरस्कार (२०४५),
वेदनिधि पुरस्कार (२०४८),
सर्वश्रेष्ठ रचना पुरस्कार (२०५०),
पहलमानसिंह स्वाँर पुरस्कार (२०५२),
सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार (२०५३),
जगदम्बाश्री पुरस्कार (२०५५),
पृथ्वी प्रज्ञा पुरस्कार (२०६०),
मधुपर्क सम्मान (२०६३) ।
नेपालीका वरिष्ठ र शीर्षस्थ साहित्यकार गोविन्दबहादुर मल्ल गोठाले उपर्युक्त पुरस्कार, पदक र सम्मानबाहेक विभिन्न साहित्यिक सङ्घसँस्थाहरूबाट पटकपटक सम्मानित तथा अभिनन्दित पनि भएका थिए । नेपालीका विशिष्ट साहित्यमनीषी गोठाले २०६७ मङ्सिर २७ गते यस धर्तीबाट बिदा भए पनि यिनको साहित्यिक योगदान नेपाली साहित्यका फाँटमा सदासर्वदा जीवित रहनेछ ।
गोविन्दबहादुर मल्ल गोठालेले नाटक/एकाङ्की र आख्यान (कथा र उपन्यास) विधामा कलम चलाएर नेपाली साहित्यमा निजी पहिचानका साथ विशिष्टता हासिल गरेका छन् । नेपाली साहित्यमा खासगरी मनोविश्लेषणात्मक धाराभित्र केन्द्रित रही गद्य साहित्यको सिर्जना गर्ने गोठाले नेपालीका वरिष्ठ नाटक/एकाङ्कीकार, उपन्यासकार र कथाकार हुन् । नाटक/एकाङ्कीका कोणबाट गोठालेको साहित्यिक योगदान निरूपण गर्नु यस लेखको अभीष्ट रहेको छ ।
२. नाटककार गोठाले
गोविन्दबहादुर मल्ल गोठालेका भुसको आगो (२०१३), च्यातिएको पर्दा (२०१६) र दोष कसैको छैन (२०२७) शीर्षक तीनवटा नाटक प्रकाशित छन् । यिनी नेपाली नाटकका क्षेत्रमा मनोविश्लेषणात्मक प्रवृत्तिको थालनी गर्ने व्यक्तित्व हुन् । यिनका तीनवटै नाटकको मूलकथ्य यसप्रकार रहेको छ ः
(१) भुसको आगो
गोठालेको पहिलो नाटक भुसको आगो (२०१३) नारीकेन्द्री कथ्यमा आधारित मनोविश्लेषणात्मक नाटय सँरचना हो । पति र सासूको चरम दुव्र्यवहारबाट भित्रभित्रै जलेर भुसमा पुत्पुताएको आगोझैं भएकी नारीलाई दर्साउने यस नाटकको शीर्षक प्रतीकात्मक भएर पनि सार्थक छ । नारी सहभागीको बाहुल्य रहेको यस नाटकमा कुलघरानाको जाल बिछ्याएर लोग्नेबाट त्यागिएकी नारी आत्मनिर्भरताका साथ जिउने अभिप्रायले आफ्नै प्रयासबाट उच्चशिक्षा हासिल गर्छे । दोस्री पत्नीबाट जन्मिएकी छोरी निकै ठूली भइसकेपछि पूर्वपतिद्वारा घर फर्कन आग्रह गर्दा पूर्वपत्नीमा घर फर्कने-नर्फकने भन्नेबारेको द्वन्द्व चल्छ र अन्ततः नर्फकने निर्णयमा पुगी उसले आफ्नो स्वाभिमान प्रदर्शन गर्छे । यस नाटकमा पहिले परित्याग गरिएकी र पछि शिक्षित भएपछि पुनः भित्र्याउन खोजिएकी पहिली पत्नीका माध्यमबाट नारीको सङ्घर्षशील चरित्र देखाउँदै तिनीहरू पतिविना पनि जिउन सक्छन् भन्ने स्वर मुखरित भएको छ । यसरी पुरुषका स्वेच्छाचारीवृत्तिको विरोध तथा नारी अस्मिता एवं स्वतन्त्रताको समर्थन र सम्मानको भाव सरल ढङ्गले प्रस्तुत गरिएको यस कृतिलाई नेपाली नाटकका क्षेत्रमा महत्त्वपूर्ण नाटयसँरचनाका रूपमा दर्ता गर्न आनेकाने गर्नु पर्दैन ।
(२) च्यातिएको पर्दा
गोठालेको दोस्रो नाटक च्यातिएको पर्दा (२०१६) सामाजिक विषयवस्तुमा केन्द्रित हुँदाहुँदै पनि मनोविश्लेषणात्मक बन्न पुगेको छ । पहिलेका कुलीन र सम्पन्न भनाउँदाहरू विपन्न अवस्थामा पुग्दा पनि संस्कारजन्य मनोदशाका कारण बाहिर काम गर्न जाँदा बेइज्जत हुने ठानी घरैमा थापिएको भट्टीपसलका माध्यमबाट आफ्नी छोरीलाई ग्राहक रिझाउने काममा लगाउनसमेत पछि पर्दैनन् भन्ने कुरा प्रस्तुत गरिएको यस नाटकमा यस्तो विकृत परिपाटीको विरोध गर्दै कथित घरानियाँको खोल ओढेका लबस्तरा स्वाँठहरूसँग लागेर आफ्नो अस्मिता गुमाउनुभन्दा बरु अर्कै विवाहित गुन्डासँग पोइल जाने निधो गरिएका वस्तुस्थितिको चित्रण गरिएको छ । छोरीको इज्जतलाई च्यातिएको पर्दाका रूपमा प्रस्तुत गरिएको यस नाटकको शीर्षक पनि प्रतीकात्मक छ । छोरीको अस्मिता बेचेर आनो पुरानो आडम्बर जोगाउन खोज्ने कथित कुलीन भनाउँदाहरूप्रतिको आक्रोश र विद्रोह प्रस्तुत गरिएको यस नाटकमा नवधनाढयहरूका भनाइ र गराइका बीचको पार्थक्यलाई उदाङ्गो पारिएको छ । सरल भाषाशैलीमा सामाजिकता र मनोविश्लेषणात्मकताको सुन्दर सँयोजन गरिएको यस नाटकमा द्वन्द्वको सघनता पाइन्छ ।
(३) दोष कसैको छैन
गोठालेको तेस्रो नाटयकृति दोष कसैको छैन (२०२७) मा मामाचेली र फुपूचेलाका बीच बाल्यकालदेखि भएको पवित्र प्रेमप्रति गरिएको आशङ्का र अनावश्यक लाञ्छनाबाट तिनको जीवनमा उत्पन्न दुखद परिणति र दुर्घटित स्थितिको चित्रण गरिएको छ । सबै उत्तिकै दोषी रहेको भावाभिव्यञ्जना पाइने विपर्ययबोधक यस कृतिको शीर्षक पनि प्रतीकात्मक रहेको छ । गोठालेका पूर्वप्रकाशित दुई नाटकका तुलनामा यो शिथिल सँरचना भएको नाटयकृति भए पनि यसको भाषाशैलीचाहिँ अजटिल नै छ । वस्तुविन्यास र प्रस्तुति दुवैमा शृङ्खलाबद्धताको अभावका कारण यो कृति सशक्त नाटयसँरचना बन्न सकेको छैन ।
सामान्य विषयवस्तुको असामान्य र नवीन प्रस्तुति, स्वैरकाल्पनिकता, प्रभावकारी नाटकीयता, विशिष्ट परिवेशको निर्माण, यथास्थितिबाट अग्रसर हुने चेतना, प्रचलनभन्दा भिन्न र नवीन नाटयशिल्पको प्रस्तुति पाइए पनि गोठाले खासमा प्रयोगशील नाटककारभन्दा बढी सामाजिक समस्यालाई यथार्थवादी ढङ्गले मनोविश्लेषणात्मक रूपमा प्रस्तुत गर्ने विशिष्ट नाटककार हुन् । राजनैतिक-सामाजिक प्रतिकूलता र जडताको चित्रणका साथ यथास्थितिबाट अग्रगामितातर्फको उन्मुखता यिनको नाटयकौशल हो । नवनिर्माणका लागि अग्रसर हुने भावाभिव्यक्ति तथा सामाजिक-मानसिक यथार्थको प्रकटीकरण गर्ने उद्देश्यबाट अभिप्रेरित यिनका नाटकको परिवेश चित्रण प्रायः दुखद र त्रासद रहेको छ । बाह्यान्तरिक सघन द्वन्द्वात्मकता पाइने यिनका नाटकमा व्यङ्ग्यात्मकताले पनि प्रशस्त ठाउँ पाएको देखिन्छ । यिनका नाटकमा बाह्य द्वन्द्वभन्दा आन्तरिक द्वन्द्व सशक्त रहेको छ । कम सहभागीको प्रयोग पाइने यिनका नाटकमा नारी सहभागीले विशेष महत्त्व पाएका छन् । प्रायः स्वतन्त्रताका पक्षधर यिनका सहभागीहरू तार्किक र प्रगतिशील खालका देखिन्छन् । चरमकै अवस्थामा अप्रत्याशित समापन यिनका नाटयकलाको निजी पहिचान हो । यिनका नाटकमा भाषाशैलीय विन्यास सरल र सहज हुँदाहुँदै पनि नेवारी भाषाको प्रभावका कारण कतिपय ठाउँमा त्रुटिपूर्णसमेत रहेको छ ।
सामान्य कथ्यको असामान्य र नवीन प्रस्तुति, सहभागीका मानसिकताको गहन मनोविश्लेषण, समस्या नाटक र त्यसमा पनि विशेषगरी नारी समस्याकेन्द्री नाटकको सिर्जना, पाश्चात्य आधुनिक नाटययप्रविधिको प्रयोग, प्रतीकात्मक शीर्षकीकरण, स्वैरकाल्पनिकता, प्रभावकारिता, अभिनेयता, मञ्चनीयता, परिवेशगत विशिष्टता, अग्रगामी चेतना, निजी पहिचानका साथ प्रचलनभन्दा भिन्न र नवीन नाटयशिल्पको प्रस्तुति, कथ्यका निकट सरल र स्वाभाविक भाषिक प्रयोग आदि यिनका नाटकमा पाइने मूलभूत प्रवृत्ति हुन् ।
३. एकाङ्कीकार गोठाले
गोविन्दबहादुर मल्ल गोठाले २०११ सालको शारदा पत्रिकामा प्रकाशित त्यो बाँच्छ शीर्षक एकाङ्कीका माध्यमबाट यस क्षेत्रमा प्रवेश गरेका हुन् । सामाजिक सन्दर्भसँग गाँसिएका विविध विषयवस्तुलाई फ्रायडवादमा घोलेर मनोविश्लेषणात्मक ढङ्गले प्रस्तुत गर्ने गोठालेको भोको घर (२०३४) शीर्षक एकाङ्की सङ्ग्रह प्रकाशित भएको छ । यसमा भोको घर, त्यो बाँच्छ, सँरक्षक, क्रान्तिको पृष्ठभूमि, युगको सिकार, म कसरी हार्छु, प्रजातन्त्र आचार तालिम केन्द्र र आत्मादर्शन शीर्षक आठवटा एकाङ्कीहरू सङ्कलित छन् । विभिन्न अङ्क, दृश्य आदिमा अविभाजित रहेका यिनका एकाङ्कीमा पाइने मूलकथ्य यसप्रकार रहेको छ ः
फ्रायडीय मनोविश्लेषणलाई आधार बनाएर एकाङ्कीहरूको सिर्जना गर्ने गोठालेका एकाङ्कीमा वस्तु चयनमा विविधता र व्यापकता पाइन्छ । यिनले आफ्ना एकाङ्कीहरूमा विभिन्न समस्यामा जेलिएको मानवजीवन र त्यसका प्रभावबाट उत्पन्न घात-प्रतिघात, द्वन्द्व-अन्तर्द्वन्द्व प्रस्तुत गर्दै सामाजिक र मानसिक यथार्थलाई प्रस्तुत गरेका छन् । खासगरी काठमाडौँ उपत्यकाको उच्च र मध्यमवर्गीय नेवारी समाजका विविध घटनावली तथा परिवेशलाई विषयवस्तु बनाइएका यिनका एकाङ्कीको पृष्ठभूमिमा २००७ साल वरिपरिको सङ््क्रमणकालीन सामाजिक-राजनैतिक अवस्थाको चित्रण पाइन्छ । यिनका एकाङ्कीमा परम्परित मूल्यमान्यताहरूप्रति विद्रोह तथा नवीन सामाजिक मूल्यमान्यता स्थापनाको चाहना अभिव्यक्त भएको छ । सामाजिक, मानसिक, राजनैतिक, नैतिक र साँस्कृतिक क्षेत्रमा देखापरेका विकृतिहरूको वस्तुगत अध्ययन, व्याख्या र विश्लेषण गरिएका यिनका एकाङ्कीहरूमा शङ्का-उपशङ्का, सामाजिक विडम्बना आदिबाट सन्त्रस्त बौद्धिकवर्ग र युवापिँढीको चित्रण पाइन्छ । मानवीय मनोदशाका विविध ग्रन्थिहरूलाई केलाई तिनका पृष्ठभूमिमा परिवेशको चित्रण गरिएका यिनका एकाङ्कीमा त्रयान्वितिको परिपालना र समसामयिक युगबोध पनि पाइन्छ । नारीहरूले भोग्नुपर्ने पीडा र तिनका विवशता एवं बाध्यताहरूलाई पनि गोठालेले सूक्ष्म र मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । उच्चताभास र हीनताभासले सताइएका पात्रको मानसिक घात-प्रतिघात र अहम्को विश्लेषण गरिएका गोठालेका एकाङ्कीमा सम्पन्न परिवार विपन्न हुँदाका दुरावस्था तथा सामाजिक वातावरणबाट उत्पन्न विसङ्गत मनोवृत्तिको प्रस्तुति पाइन्छ ।
अनावश्यक प्रसङ्गलाई स्थान नदिई तीव्र गतिशील कथावस्तुको प्रयोग गरिएका गोठालेका एकाङ्कीमा कथाको प्रारम्भ, विकास र चरमोत्कर्षको अवस्था समुचित रूपमा निर्वाह भएको छ । यिनका एकाङ्कीमा विषम मनोदशामा अल्झिएका पात्रहरूका मानसिकताको रोचक विश्लेषण पाइन्छ । प्रायः उच्च र मध्यमवर्गीय बौद्धिक सहभागीको प्रयोग गर्न रुचाउने गोठालेले आफ्ना एकाङ्कीमा वर्गीय र व्यक्तिगत दुवै खाले पात्रको प्रयोग गरेका छन् । विभिन्न सहभागीका माध्यमबाट जीवनका विविध पक्षमाथि प्रकाश पार्ने गोठालेका एकाङ्कीमा धेरै पात्रको प्रयोग नगरी कथावस्तुअनुरूप आवश्यक सङ्ख्यामा थोरै पात्रको प्रयोग गरिएको छ । यिनी हीनताबोध र उच्चताबोधले ग्रसित मनोवैज्ञानिक पात्रका माध्यमबाट समाजका सूक्ष्मातिसूक्ष्म घटनालाई प्रस्तुत गर्ने महत्त्वपूर्ण एकाङ्कीकार हुन् ।
गोठालेले आफ्ना एकाङ्कीमा बालविवाह, अनमेल विवाहजस्ता सामाजिक कुरीतिको विरोध गरी समानता, स्वतन्त्रता र न्याय प्राप्तिका लागि सचेत, सङ््घर्षशील, विद्रोही र क्रान्तिकारी नारी पात्रको प्रयोग गरेका छन् । मानसिक रोग र यौनविकृतिले पीडित भएका, कुलीनताबाट गिरेका, प्रेममा असफल भएका, अन्धविश्वास र अन्धधारणाले ग्रस्त भई आत्मबल हराएका सहभागीहरूका चारित्रिक विशेषताको विश्लेषण यिनका एकाङ्कीमा विशेष ढङ्गले गरिएको पाइन्छ । आधुनिक नाटयसँरचनाको महत्त्वपूर्ण तत्त्व मानिने द्वन्द्वको सँयोजन र विकासमा निकै सजग देखिने गोठालेका एकाङ्कीमा आन्तरिक र बाहृय दुवै खाले द्वन्द्वको आयोजन गरिएको छ । गोठालेका एकाङ्कीमा प्रायः पुरानो पुस्ता र नयाँ पुस्ता, प्राचीन र नवीन मूल्यमान्यता एवं अवधारणाका बीचमा बाह्य द्वन्द्व पाइन्छ भने व्यक्तिभित्र उब्जिने मानसिक शङ्का-उपशङ्का, घात-प्रतिघात आदिका माध्यमबाट आन्तरिक द्वन्द्वको सिर्जना गरिएको छ । यिनका एकाङ्कीमा कौतूहलको समुचित निर्वाहका साथ द्वन्द्वको कुशल विन्यास पाइन्छ ।
गोविन्द्रबहादुर मल्ल गोठालेका एकाङ्कीको सँवादयोजना स्वाभाविक र पात्रको स्तरअनुरूप रहेको देखिन्छ । क्लिष्टता र दुर्बोध्यताविहीन यथार्थ, सहज र सरल गद्य भाषाको प्रयोग गोठालेका एकाङ्कीमा पाइने भाषाशैलीगत विशेषता हो । पाश्चात्य आधुनिक नाटयप्रविधिलाई अँगालेर तथा त्रयान्वितिको समुचित निर्वाह गरेर लेखिएका यिनका एकाङ्की अभिनय र मञ्चनका दृष्टिले पनि सरल, सहज, स्वाभाविक र प्रभावकारी छन् ।
समग्रमा भन्नुपर्दा मूलतः मनोविश्लेषणात्मक र अँशतः सामाजिक विषयवस्तुको चयन, समस्याग्रस्त व्यक्तिका सामाजिकता र मानसिकताको स्वाभाविक प्रस्तुति, परम्परित सामाजिक मूल्य र मान्यताप्रति विद्रोह तथा नवीन मूल्य र मान्यता स्थापनाको चाहना, अनेक विसङ्गति-विकृति एवं मानवीय मनोदशाका विविध ग्रन्थिहरूको विश्लेषण, विषम मनोदशामा अल्झिएका पात्रका मानसिकताको उद्घाटन, उच्चताग्रन्थि र हीनताग्रन्थिले सताइएका उच्च र मध्यमवर्गीय पात्रको प्रयोग, नारी समस्याको सूक्ष्मातिसूक्ष्म चित्रण, सङ्घर्षशील र क्रान्तिकारी-विद्रोही नारी पात्रको प्रयोग, विषयवस्तुगत र पात्रगत विविधता एवं गतिशीलता, द्वन्द्वात्मक सजगता र सघनता, सँवादगत स्वाभाविकता, भाषिक सरलता र सहजता, मञ्चनीयता आदि एकाङ्कीकार गोविन्दबहादुर मल्ल गोठालेका एकाङ्कीगत मूलभूत वैशिष्टय हुन् ।
४. उपसँहार
नेपाली नाटक/एकाङ्कीका अग्रणी व्यक्तित्व गोविन्दबहादुर मल्ल गोठालेको नेपाली साहित्यमै शीर्षस्थ स्थान रहेको छ । सङ्ख्यात्मक दृष्टिले केही कम भए पनि गुणात्मक दृष्टिले गोठालेका नाटक/एकाङ्कीहरू विशिष्ट छन् । विशेषतः काठमाड्यौली नेवारी समाजको परिवृत्तमा रहेर लेखिएका यिनका नाटयकृतिहरू मूलतः नारी यौन समस्यामा केन्द्रित छन् । गोठालेका एकाङ्कीहरूमा युगीन सामाजिक-राजनैतिक सन्दर्भको बढी प्रस्तुति पाइन्छ भने नाटकमा प्रासङ्गिक रूपमा अन्य सामाजिक, राजनैतिक, आर्थिक आदि सन्दर्भहरू जोडिएर आए पनि यिनका नाट्यकृतिको अन्तिम लक्ष्य विशेषगरी प्रमुख नारी सहभागीका चारित्रिक अभिलक्षण केलाउँदै तिनका मनोदशाहरूको विश्लेषण गर्नु रहेको छ । नेपाली नाटकका क्षेत्रमा मनोविश्लेषणात्मक प्रवृत्ति भित्र्याउने गोठाले एउटा युगप्रवर्तकका रूपमा देखापर्छन् । कथ्यको सीमित वृत्तमा घुमेर सहभागीका मानसिकतामा उथलपुथल उत्पन्न गराउने तथा तिनलाई सामान्य मनोदशाबाट क्रमशः असामान्य मनोदशातर्फ अग्रसर गराई मनोविश्लेषणात्मक ढङ्गले चिरफारका साथ प्रस्तुत गर्ने कौशल यिनमा पाइन्छ । सामाजिक आदि परिस्थितिको सामान्य दिग्दर्शनका साथ प्रमुख नारी सहभागीका यौनजन्य समस्या र तिनबाट उत्पन्न असामान्य स्थितिकोे मनोविश्लेषण गर्नु यिनको खास पहिचान हो । पुरुषका तुलनामा नारी सहभागीलाई विशेष महत्त्व दिएर प्रस्तुत गरी तिनका मनोदशाको अन्तरकुन्तर केलाउने कार्यमै यिनका कृतिहरू बढी मात्रामा केन्द्रित रहेका छन् । विशेषगरी यिनका नाटकमा सामाजिक-मनोवैज्ञानिक समस्याका सन्दर्भबाट नारी समस्याको सघन प्रस्तुति पाइन्छ । यिनका कृतिमा मनोविश्लेषणका लागि चयन गरिएको भाषाशैलीय विन्यास सरल, सहज र पात्रानुरूप स्वाभाविक भए पनि नेवारी भाषाको प्रभावका कारण कतिपय ठाउँमा त्रुटिपूर्णसमेत देखिन्छ तापनि त्यसले समग्र कथ्यलाई खासै असर पारेको देखिन्न । दोस्रो मातृभाषी स्रष्टाले नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनीय रहेको कुरा निर्विवाद छ । समग्रमा भन्नुपर्दा नेपाली साहित्यका विशिष्ट साहित्यमनीषी गोविन्दबहादुर मल्ल गोठालेको नेपाली नाटक/एकाङ्कीका क्षेत्रमा अझ विशेषतः समस्या नाटकका क्षेत्रमा उल्लेखनीय, महत्त्वपूर्ण र विशिष्ट योगदान रहेको छ ।
त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर, काठमाडौँ ।
मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष
