Skip to content


भेटियो मझेरीमा तिम्रो
कोमल स्पर्श
मिलन विन्दुका रातहरू सम्झँदै
निभेर फेरि बलेझैँ
पूर्णेको जूनसरी
सुन्दर बिहानी जन्म्यो र
टक्क अडिएँ किनारामा म ।
नीलो आकाश जब धर्तीमा
सूर्यविम्बका किरणहरू
पोखिन थालेपछि
हृदयभरि छचल्किदा
सौन्दर्यको महकहरू
रङ्गीन सपनासँगै
अङ्कित हुँदा
तिम्रै अनुग्रहलाई स्वीकारेर
प्रतीक्षारत नै रहेँ
किनारामा म ।
मलाई बिहानीको घाम अनि
साँझको सङ्घारसँगै
कविताको विम्ब फेर्न मन लाग्छ
यदाकदा फुर्सदका क्षणहरूलाई
ओछ्याउँछु पानाभरि
गुराँस फुलेको फूलको विम्ब
अनि प्रकृतिको मुहार ।
ज्यूदाँ अक्षरहरूलाई
जीवन्तता दिँदै
सुन्दर नीलो दह
नदीको कलकल गुञ्जनबाट
आकार बदलिएझैँ
फेरि पनि हिँड्दाहिँड्दै
टक्क अडिएँ किनारामा म ।
विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *