(साहित्यकारका परिभाषाहरू)
साहित्यकार – दर्दलाई सिपालु पाराले कलमको चुच्चोबाट छाद्दै सन्चो हुने मदौरो ।
साहित्यकार – आफ्नो ज्यान छेलिँदा वा बिलाउँदा पनि नाम कागजमा प्रदर्शन गर्नु लालायित महत्वाकाङ्क्षी ।
साहित्यकार – पैसा चलाउन नपाउँदाको दुःख चर्चा फैलाई दुःख घटाउन चाहने अस्तित्ववादी ।
साहित्यकार – शब्दको थुँगाहरू आँखाहरूले चुस्दाको प्रभाव कागजमा थुपार्ने कर्मी मौरी ।
साहित्यकार – कितापप्रेमीको अस्पटलाग्दो क्षणहरूलाई मीठो सपनासँगको निद्रामा लाने दबाईको आविष्कारक ।
साहित्यकार – ज्ञानको दानाहरूसहितको हरफहरूको पाँजाहरू कागजमा फिँजाउने किसान ।
साहित्यकार – कलमको तिस्कलोको भरमा विचारको जिली फलाउने पौरखी चेपाङ ।
साहित्यकार – शब्दसंयोजनको कौशलले अनुरागीहरू थुपार्ने चटके ।
साहित्यकार – भिक्षुणीलाई दमाहा बनाउने लामा, गोजीमा चुरोट बोकी रोगीलाई धुम्रपान नगर्न सुझाव बाँड्ने चिकित्सक वा महिलामाथि हुने हिंसा विरुद्धको गोष्ठीमा बोल्दा ताली पाउने तर घरमा चाहिँ स्वास्नीलाई भकुर्ने नेताझैँ ढोँगी ।
साहित्यकार – आफ्नो पाखुराको बन्दुकमा कलमको सङ्गिन जोड्दै क्रान्तिकारीहरूलाई जोस्याउने सहयोद्धा ।
साहित्यकार – चिहान फोर्ने तस्करझैँ घटनाको थुप्रोलाई कलमको टुँडोले उधुनी कहानी बेच्ने तस्कर ।
साहित्यकार – कलमको रकेट चढी कल्पनाको आकाशमा घुम्ने यात्री ।
साहित्यकार – अक्षरको घारीमा पाठकलाई भौँतरिनु लगाई बिनाउपलब्धि समय खर्च्याउने ठग ।
साहित्यकार – कल्पनाको महासागरमा कागजको डुङ्गालाई कलमको बहनाले खियाउने दुःखी माझी ।
२०६५ वैशाख ९, मनमैजु, काठमाण्डू ।
जन्मथलो ः नेपालेडाँडा, भोजपुर
पेसा ः स्वतन्त्र अध्ययन र लेखन
