जन्मेपछि बाच्नै पर्यो बाँच्नलाई खानै पर्यो
देशमा छैन केही मेसो अनि विदेश जानै पर्यो ।
भुल्न कहाँ सकियो र पिरतीको जालो सानु
घर छोडी बिदेसिंदा सम्झना चै लानै पर्यो ।
बिदेसीको नीति नियम, अनि आदेश पालन गरी
उसकै नूनको सोझो गरी जीवन त धान्नै पर्यो ।
साहु आई ढोका हाम्रो ढकढक्याको थाहै होला
कसो गरूँ भन बैना साहु पर सार्नै पर्यो ।
अंगालोले न्यानो देला पेट हाम्रो भर्दैन नि
साहुको ऋण चुकाएर घर आफ्नो पार्नै पर्यो ।
यो दशैंमा आउन पाइन आमालाई सम्झाऊ ल
साहुको कर्जा अलि अलि गर्दै तल झर्नै पर्यो ।
तीर्थ (यात्री) पौडेल
लखनपुर ३ झापा, नेपाल,
हाल : बहराइन
२०६७/६/२१
