सम्झिएर तिहारमा मेरी दिदी रुन्छिन होला
आएन खै टिका थाप्न मेरी दिदी भन्छिन होला ।
महिना बिते बर्ष बिते अझै कति पख्ने भन्दै
औंला भाची खालि तिहार मेरी दिदी गन्छिन होला
जेठानीका दाजु अनि देउरनिका भाइ आउदा
मन बहलाउन एकान्तमा मेरी दिदी जान्छिन होला ।
टोलाएर तिहारमा आँखाबाट आँसु झार्दै
कोही नभएकी एक्ली झै मेरी दिदी मान्छिन होला ।
टिका लगाई दाजुभाइ दुनियाका देख्दा खेरी
भाग्य यस्तै सोची मन मेरी दिदी बाँच्छिन होला ।
तीर्थ (यात्री) पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल : बहराइन
२०६७/७/१५
