समकालीन नेपाली कविता-गीत क्षेत्रमा उल्लेखनीय उपस्थितिका साथ परिचित गीता त्रिपाठीको प्रथम समालोचना कृति ‘दृष्टि विचरण ‘प्रकाशित भएको छ उनका ‘थुँगाः वनफूलका’ (२०६१) एक्लै-एक्लै (२०६१) दुईहरफ ओठहरू (२०६४) सारांश (२०६५) गीतिसङ्ग्रह र ‘नृशंस पर्खालहरू’ (२०६५) कवितासङ्ग्रहले उनलाई सशक्त नारी स्रष्टाका रूपमा स्थापित गराइसकेका छन् । कवि-गीतकार त्रिपाठीलाई द्रष्टाका रूपमा पनि स्थापित गर्ने प्रस्तुत कृति ‘दृष्टि विचरण’भित्र विविध विधा र विषयमा एक दर्जन समालोचना लेख सङ्गृहीत छन्, जसमा आठवटा कविता-काव्यसँग सम्बन्धित छन् भने एकएकवटा उपन्यास, कथा, निबन्ध तथा उत्तरआधुनिकतासम्बन्धी छन् । यहाँ सङ्गृहीत समालोचनाहरू कृतिपरक, नारीवादी र वस्तुगततातिर उन्मुख भएर पनि कतिपय लेखहरू निजत्वपूर्ण आत्मपरक निबन्धात्मक गुणले युक्त देखिन्छन् ।
‘आज रमिता छ’ उपन्यासमा नारी चरित्रको सूक्ष्म विश्लेषण र बीसौँ शताब्दीको भारतीय नारी लेखन कृति केन्द्रित कवितामा भारतीय नेपाली नारी ः एक दृष्टि नारीवादी समालोचना निकट देखिन्छन् । हजार वर्षको निद्रामा कवि भूपिन, पाइलाका निवहरूले कविताको अन्तर्वस्तु, मर्मभेदी गीतहरूको सङ्ग्रह आभासित आलाप, प्रकाश सायमीका सिर्जनामा मनऔँलाहरूको संयोजन शीर्षकका समीक्षाहरू छोटा भएर पनि सम्बद्ध कृतिको सम्पूर्णता केलाउन सक्षम देखिन्छन् । सिद्धान्त र व्यवहारको विपर्यासभा शङ्कर लामिछाने शीर्षकमा विविध स्रोत र सन्दर्भसहित लामिछानेको निबन्ध कलामा सूक्ष्म दृष्टि दिइएको छ । राइमती महाकाव्यका केन्द्रीयतामा कवि वलायरमा अन्तर्निहित नारीवादी चेतना प्रेरित समीक्षा रहेको छ । कवि दिनेश अधिकारीका कवितामा मान्छेलाई मान्छेका नजिक पुर्याउने प्रयास शीर्षकमा सङ्क्षिप्तरूपमा कविको कवित्व चिनाउने प्रयास भएको पाइन्छ । नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना ः सङ्क्षिप्त अनुशीलन डा.लक्ष्मणप्रसाद गौतमको कृतिलाई चिनाउने लेख रहेको छ । पुत्री विलापका केन्द्रीयतामा कवि गोविन्द शर्मा विमल शीर्षकमा शोककाव्य परम्परामा विवेच्य कृतिको गम्भीर निरूपण गरिएको छ । आँसु त्यसैत्यसै छचल्किन्छभित्रका कथामा वस्तुविधान शीर्षक लामो लेखमा सङ्ग्रहभित्रका कथाहरूलाई वस्तुविधानका दृष्टिले विवेचना गरिएको छ ।
‘दृष्टि विचरण’ पहिलो समालेचना कृतिबाटै समसामयिक पुस्ताका नारी समालोचकहरू माझ त्रिपाठीको उपस्थितिले उज्ज्वल भविष्यको आसलाग्दो सम्भावना बोकेको देखिन्छ । गीतकार, कवि र निबन्धकार व्यक्तित्वका प्रभावबाट आत्मपरक-निबन्धात्मक निजत्वको छाप मेट्दै नवीन प्रविधि, वस्तुगन भाषा शैली र वस्तुनिष्ठ प्रस्तुति गीता त्रिपाठीका समालोचनाको अबको अपेक्षा देखिन्छ ।
कृति-दृष्टि विचरण (समालोचना)
लेखक ः गीता त्रिपाठी
प्रकाशक ः भावक अभियान नेपाल, ललितपुर
प्रकाशन ः २०६६, मङ्सिर
पृष्ठ ः १००
मूल्य ः रु. १५०।-
मधुपर्क २०६७ चैत
