Skip to content


पोत्दै उषाका रक्तिम लालीहरू
जब आउने छौ तिमी
यस प्रिय धरतीमा
तब फुट्नेछन् मरुभूमिमा
पानीका मूलहरू
रसाउनेछन् चट्टान र पहराहरू
र, उर्वर हुनेछ बञ्जरभूमि
जरुर फाट्नेछ आकाशमा कालो बादल
कलकलाउँदै दगुर्नेछन्
लामो खडेरीले सुकेका खोलाहरू
पाउलिने छन् पालुवाहरू
डढेलोले निलेर सखाप पारेको जङ्गलमा
बौरिनेछन् लामो मूर्छाबाट
मादल, झ्याम्टा र मुरलीहरू
मुर्चुङ्गा, बिनायो र खैँजडीहरू
जुहारी, रोधी र हाक्पारेहरू
चिसो स्याँठले कठाङ्ग्रिएका
नाङ्गा डाँडापाखाहरूलाई
छपक्कै ढाकेर बस्नेछ शरदऋतु
मगमगाउनेछन् डाँडैभरि बुकीहरू
भाग्ने छ बुर्कुसी मार्दै
बेतोडले गाढा अँध्यारो
देखेर कोसौँ पर तिमीलाई
स्मिथ मुस्कराउँदै / छर्दै
बाटैभरि एक आकाश आभा
सुस्तरी यतै आउँदै गरेका हुनेछौ तिमी ।

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *