Skip to content

मानवीयता र शान्तियात्रा

  • by


साँच्चै मेरो आत्मीय गाउँ
अशान्त भैकन पनि शान्छ छ
आफन्तको विछोडमा विक्षिप्त भए पनि
सुनौलो भविष्यको प्रतीक्षामा छ
मेरो आत्मीय गाउँमा
म सँगै हुर्केको आकाङ्क्षा, इच्छा र चाहनाहरू
इतिहासको कालखण्डमा
पटकपटक बलात्कृत भएका छन्
सम्झौता र आश्वासनको माखेसाङ्लोले बाधिएर
पटकपटक धोका पाएका छन्
हिंसाको चपेटामा जेलिएर
निरीह बनाइएका छन्
मेरा अरू आत्मीय मित्रहरूले
स्वतन्त्रता, नैतिकता र मानवताको
गीत गाउँदा पटकपटक तड्पिएका छन्
मानवीयताको खातिर,
मेरा गाउँले मित्रहरू
पटकपटक कठघरामा उभिएका छन्
त्यसैले मेरो गाउँ शान्त तर आन्दोलित छ
मेरा स्वाभिमानी गाउँलेहरू
आकाङ्क्षामाथि घात गर्नेलाई
न्यायको पाठ पढाउन चाहन्छन्
मेरा परिश्रमी गाउलेहरू
विना रोकतोक, विना प्रतिवाद
मानवीयताको अस्तित्व जोगाउन
शान्तियात्रामा लम्कन चाहन्छन् ।

नुवाकोट

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *