हो, गोरेकी आमा !
चुहुने झुप्राका ती निभेका चुल्हाहरूमा
भोकले छट्पटाउँदा कलिला लालाबालाहरू
आँखाभरि आँसु पारेर
कति अनुनय विनय गर्थ्यौ तिमी,
‘प्राणनाथ, भोकै राखेर बालबच्चाहरू
किन लेख्नुहुन्छ कविता ?’
हो, गोरेकी आमा !
मलाई माफ गर है
मैले सकिनँ पुछ्न तिम्रा ती आँसुहरू
तर, मलाई विश्वास छ
कुनै दिन ज्वालामुखी, भुँइचालो अनि सुनामी बनेर
आउँनेछन् पक्कै पनि यहाँ
मैले आँसु पिएर लेखेका तिनै कविताहरू
हो, मैले आँसु पिएर लेखेका तिनै कविताहरू !
एकादेशको वस्ती, खोटाङ
मधुपर्क २०६७ चैत
