–डोको र नाम्लो यहीं छ
आँसी उदयाउने ढुंगो यहीं छ
मझेरी र भान्छामा रारन्न छ /
जूठो कसौंडी र तप्केसित रित्तिएको
तिम्रो सपना यहीं छ /
तिमीसितै
बेसी झरेको
तिम्रो रहरको खेत यहीं छ /
दिदी!
तिमी कहाँ छौ?
तिम्रो आँखामा धान झुलेको छ कि छैन ?
तिम्रो आँखामा रहर फुलेको छ कि छैन ?
यहाँ त
बारीको डिलमुनि
गल्लीको छेउमा
लालुपाते फुलेको छ ,
कान्ला , खोल्सामा
टाँकी फुल्दो छ र
तल्लाघरे कान्छा बाको कपाल पनि
सेतै टाँकी भएर फुलेको छ/
दिदी !
तिम्रो आँखामा
लालुपाते र टाँकी फुलेको छ की छैन ?
— कोही भन्छन
तिमी शहरमा छौ
कोही भन्छन
तिमी शहरभन्दा बाहिर
रहरहरुको जहर पिएर बसेकी छौ /
कोही भन्छन
तिमी
सभ्यताको चुलीबाट पछारिएको
समयको आखेट भएर
निर्लज्ज / निर्बस्त्र
नेटहरुमा
विज्ञप्त भएकी छौ/
दिदी !
तिमी कहाँ छौ?
यहाँ त पर्म छ
मर्मै मर्म छ
मर्महरुको पहाड छ/
सबै सबैको आँखामा
तिम्रो सम्झनाको पहाड छ /
दिदी!
तिमी कहाँ छौ??
