Skip to content

कन्ट्र्याक्ट किलर

  • by


दुईवटा अंग्रेजी शब्द ‘कन्ट्र्याक्ट(Contract)’ र ‘किलर(Killer)’ मिलेर बनेको ‘कन्ट्र्याक्ट किलर(Contract Killer)’ शब्दको नेपाली अर्थ के होला ? ‘कन्ट्र्याक्ट(Contract)’ भन्नाले सम्झौता, सन्धी, करार आदि भन्ने बुझिन्छ भने ‘किलर(Killer)’ भन्नाले हत्यारा, मृत्युदाता, काल, यमराज आदि भन्ने बुझिन्छ । दुईवटै शब्द मिलेर बनेको ‘कन्ट्र्याक्ट किलर(Contract Killer)’को एउटै नेपाली अर्थ चाहीँ ‘ब्यावसायिक हत्यारा’ हो । छिमेकी देश भारतमा कन्ट्र्याक्ट किलरले हत्या गराउनेसँग वा योजनाकारसँग गर्ने सम्झौतालाई ‘सुपारी’ भनिन्छ । नेपालमा चाहीँ त्यस्तो सम्झौतालाई के भनिन्छ कन्ट्र्याक्ट किलरलाई सोध्नु पर्छ ।

अनुसन्धानको घेरामा रहेका एकजना नेपाली सञ्चारकर्मी हुन् कि खैरो हेरोइन र भारतीय नक्कली नोटको धन ओसारपसारकर्मी के हुन्, तिनलाई भारतीय नागरिकले हिन्दी फिल्मी शैलीमा नेपालको सर्वोच्च जेलभित्र पसेर गोली हान्न भ्याए । गोली खानेको नाम युनुश अन्सारी हो भने गोली हान्नेको नाम जसजित सिंह हो वा होइन नेपाल प्रहरी पनि अनविज्ञ छ रे । जसजित सिंह एकजना कन्ट्र्याक्ट किलर हुन् । भारतमै पनि चारजनालाई गोली हानेर दुईको ज्यान लिएका सिंहको कृतिले जापानको प्रलयकारी महाभूकम्पलाई पनि ओझेलमा पारेको छ । नेपाल टेलिकमका रिचार्ज कार्डको सिरियल नम्बर हेरेर स्क््रयाच गर्ने भागको नम्बर स्क््रयाच नै नगरी पत्ता लगाउने गुल्मीका सोह्र बर्षिय विकल पौडेलको कृतिलाई पनि ओझेलमा पारेका जसजित सिंह यो बर्षकै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यक्तित्व हुन् । उनका अगाडि दिपक बिष्ट र आयशा साक्य जोडी बाँधिएको समाचार छायाँमा परेको छ । वल्र्डकप क्रिकेट त झन् पिँध पछाडी पर्यो ।

पढ्न र सुन्नमा आए अनुसार जसजित सिंहले बन्दुक कट्टुमा लुकाएर लगेका थिए रे । त्यहाँ राखिएको कुनै पनि सामानको जाँच गरिँदैन रे । सम्बेदनशिल अंगमा राखिएको चिजको जाँच नगरिने भएपछि रेगिस्तानवासी नेपाली गद्गद् भएका छन् । मेरै केही सहकर्मीले अलि ठूलो साइजको ‘हामजायगा कट्टु’ भित्र एलसिडी टिभी हालेर नेपाल लाने भएका छन् । एकजना हितैशीले त नेपाली सुरक्षाकर्मीलाई धन्यवाद दिँदै भने– ‘कन्टेनरमा कट्टुको चित्र कोरेर ल्याण्डक्रुजर लाने विचारमा छु । यत्ती भएपछि नेपालमा जाँच गर्दैनन् ।’ कट्टु जस्तै ब्रा पनि जाँच नगर्ने भएकाले महिला मित्रहरूलाई पनि दोहोरो खुशीको खबर छ । विदेशमा हुनुहुन्छ भने कट्टु र ब्रामा अट्ने चिज लाने योजना बनाए हुन्छ ।

अन्सारी गोली काण्डमा भारतिय ‘र’ को हात छ भन्ने कुरो बाहिर आएको छ । तर म यसलाई मान्न तयार छैन । किन छैन भने नेपाली नेताको हात भएकाले । कसरी नेताको हात छ भन्नु हुन्छ भने, दण्डहिनताको प्रारम्भ कसले गरेको हो ? राजनितिक संरक्षण गर्दै कार्यकर्ताका नाममा कुख्यात अपराधीलाई छोड्ने चलन कसले चलाएको हो ? भारतीय राजदुत राकेश सुद, नेपालको सचिव वा सोसरहको पदका मान्छेलाई नेपालको प्रधानमन्त्रीको ओछ्यानमा कुटनितिक मर्यदा विपरित आउने अनुमति कसले दिएको हो ? प्रहरीलाई पंगु बनाउन माथिबाट आदेश दिने नेता होइनन् भने को हुन् ? एउटा प्रधानमन्त्री छान्नका लागि भारतको मुख ताक्ने, भारतीय नेतालाई डाक्ने र पटकपटक दिल्ली दरबार धाउने नेता(दले) होइनन् भने कोे हुन् ? ज्यान मार्ने अभिप्रायले गोली चलाएका जसजित सिंहलाई सामान्य हातहतियार बोकेको फितलो मुद्धा हाल्न आदेश दिने को हो ?

प्रहरीलाई निस्कृय पारुञ्जेल नेपालमा शान्ति स्थापना हुन्न । मध्यपूर्वका केही देशमा भएका सत्ता फेर्ने क्रान्ति जस्तै नेपालमा पनि नेता फेर्ने क्रान्ति नचलाएसम्म जेल भित्र मात्र होइन सिंहदरबार, विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र बालुवाटारमा समेत पसेर गोली हान्ने कन्ट्र्याक्ट किलर जसजित सिंहहरू निस्किने छन् । चेतना भया ।

चर्चित ढुङ्गेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *