हेरुँ हेरुँ लाग्यो मलाई पुतलीको छुन्मुन
सुनुँ सुनुँ लाग्यो मलाई पुतलीको गुनगुन ।
ठूला ठूला पखेँटा छन् पखेँटामा बुट्टा
पुतलीको मुख सानो अनि सानै खुट्टा ।
छानी छानी चुम्ने गर्छे फूल राम्रा जुनजुन
सुनुँ सुनुँ लाग्यो मलाई पुतलीको गुनगुन ।।
रङ्गीचङ्गी रङ्ग उसको साह्रै नै खुलेको
छिनेको छ कम्मर अनि जिऊ छ मिलेको ।
कहाँ कहाँ पुग्ने गर्छे टेक्छे डाली कुनकुन ?
सुनुँ सुनुँ लाग्यो मलाई पुतलीको गुनगुन ।।
वरिपरि डुली डुली साथीभाइ डाक्छे
सबै भेला भएपछि घुमी घुमी नाच्छे ।
साथीसँग मिलीजुली सिक्छे के के ज्ञानगुन ?
सुनुँ सुनुँ लाग्यो मलाई पुतलीको ज्ञानगुन ।।
मुना २०६७ चैत
