टाईभन्दा कति राम्रो हाम्रो ढाका टोपी
टाउकामाथि हाम्रै हिमाल सगरमाथा हो कि !
पहिचान् गुमे रुनु पर्ला भोलि टाउको ठोकी
विदेशमा नेपाल चिनाउँ आफ्नै टोपी बोकी
आफ्नै भाषा बोल्नु पर्छ, आफ्नै भेष लाउने
ढाका टोपी ढल्काएर लोकगीत गाउने
आफ्नै पाखा, पखेरा र आफ्नै गाउँ धाउने
विदेशीको नक्कल गरी हामीले के पाउने ?
कति राम्रो सारी- चोलो, दौरा-सुरुवाल उस्तै
शिरमाथि टोपी भए, नेपाली दुरुस्तै
टोपी लाउने भरिया दाइलाई पाखे किन भन्छौ
नेपाली भई नेपालको जरा किन खन्छौ ?
धनी-गरिब, सानो-ठूलो, कालो होस् कि गोरो
टाउकामाथि टोपी लाउने नेपालको छोरो
दौरा-सुरुवाल-पटुकीमा टोपी नाच्नु पर्छ
ढाका होस् कि भादगाउँले, टोपी बाँच्नु पर्छ ।
मुना २०६७ चैत
