“मामा ए मामा !”
कता कता तन्द्रामा बोलाएझैं लाग्ने यो आवाजले झस्काउँछ लगभग ५५ वर्षीय बिदुर पाण्डेलाई । ऊ निद्रादेवीसँग बिदा माग्दै तातो डबल-बेडको पलङ्बाट सकी-नसकी आफ्नो गणेश जस्तो शरीरलाई बलजफ्ती थाम्दै उठ्न खोज्छ ।
“मामा ए मामा ! हैन यतिका बेरसम्म भैसक्यो । अँझैं जाने सुरसार छैन?” फेरि उही च्याँठिएको स्वर बिदुरको कानमा ठोकिन आइपुग्यो ।
ऊ हतार हतार उठेर झ्यालबाट टाउको निकाल्दै आगन्तुकलाई नियाल्ने प्रयास गर्छ, “को ? भान्जा हो?”
“हो नि, म राम भान्जा के त । हिजोको रमले अझैं छाडेको छैन कि क्या हो ?”
आजकल मामा भान्जा हुन साख्खै हुन पर्दैन ।
“को नै भनेको त यो पो रहेछ । आइज माथि नै । ” यति भनिसक्दा बिदुर फेरि त्यहि ओछ्यानमा गएर गजधुम्म शरीरलाई गर्ल्याम्म ढालिसक्छ ।
भान्जाको आगमन माथिल्लो कोठामै हुन्छ । मामा ओछ्यानमै पूर्ववत अवस्थामा लडिरहेको हुन्छ ।
“यी मामा पनि । झन हिजै त्यति भनिसकेपछि त । जाऊँ, कति सकेको सुत्न?” टुसुक्क नजिकैको मुढा तानेर आफूलाई अड्याउदैँ भान्जा फलाक्न थाल्छ ।
मामा बडो असमञ्जमा पर्छ ।
“आज त म जान्न भान्जा तिमी जाऊ । हेर न कति दिन भैसक्यो अफिस नगएको । अब त जागिर नै फुस्किन्छ मेरो त ।” मामा बडो गम्भिर मुद्रामा आफ्नो गाम्भीर्यता प्रस्तुत गर्न खोज्छ ।
साँच्चै नै, बिदुर अफिस नगएको लगभग ९ दिन भैसकेको थियो । यो प्रथम पटक भने हैन । बिदुरमा त्यसभन्दा अगाडि पनि पटक पटक अफिस (स्कुल)मा अनुपस्थित रहने अभ्यस्त बानी थियो भन्दा अनुचित नहोला । किनकि, ऊ अघिल्लो वर्ष मत्रै ७ पटक कारवाहीमा परिसकेको थियो ।
पेशाले सरकारी स्कुलको मास्टर, बिदुर, जातले ब्राम्हण हो । तर खै कसरी कसरी पिउने बानीले झ्वाप्पै छोपेको थियो । जुन लत छुटाउन परिवार एवं शिक्षक साथीहरूले धेरै प्रयास गरेका थिए ।
बिदुरको यो अभ्यासले एकापट्टि स्कुल परिवार मारमा परेका थिए भने अर्कोपट्टि स-साना नानीहरूले आफ्ना केही सिक्ने अवसरहरू गुमाउनु परेको थियो ।
साँचो अर्थमा भन्नुपर्दा बिदुरमा एउटा असल शिक्षकमा हुनुपर्ने गुणको तुलनामा अवगुण बढी भेटिन्थ्यो । (आजकल मतवाली जातले मात्रै नभएर मदिरापान अन्य जातीले पनि गरेको पाईन्छ । )
“हैन तपाईंलाई कसले नजानुस भनेको छ र? आज एक दिन मात्रै त हो नि । त्यो पनि नवराजकोमा ब्रतबन्धको निम्तो भएकोले पो त । कसैले नखाएको जागिर ।” भान्जा अलिक मै हुँ भन्ने पारामा मामालाई घुर्की देखाउँदै भन्न थाल्छ ।
बिदुरलाई याद छपछिल्लो शनिवार मात्रै साथीको छोराको बिहेमा गएको । त्यस दिन अलि बढी नै पिएछ कि क्या हो अडिनै नसक्ने भएका थियो । त्यसो त उसले त्यसभन्दा लगभग १ महिना अगाडिदेखि नै रक्सी पिउन छाडेको थियो । साथीभाइ जमघट भएको मौकामा केको स्वाँङ् भन्दै साथीहरूले चिढ्याउन थालेपछि एक प्याग लगाएको बिदुरले आधारातसम्ममा त झण्डै हाफ बोतल signutrue रित्याइसकेका थिए । त्यसपछि के-के भयो के-के होसै भएनछ । साथीहरूले घिसार्दै ल्याएर घरमा लडाएछन् । भोलिपल्ट श्रीमतीले भन्दा पो थाहा पाएका थिए ।
बिहेको ड्रिन्कको हयाँङ्ग झण्डै २ दिनसम्म रहँदा टाउको फुट्ला जस्तो भएर रिङ्याएको थियो । सहन नसकी श्रीमतीलाई पसलबाट एउटा क्वाटर royal satage मगाएर स्वात्तै पारेपछि पो हातहरू पनि काँप्न छाडेको थियो ।
झम्म परिरहेको बेलामा तल्लाघरे श्यामे आएर “देउसी भैलो खेलेको पैसाले आज माथि डाँडामा पिकनिक कार्यक्रम छ । सबै गैसके तपाईंलाई ल्याउनु भनेका छन् । जाऊँ अंकल” भन्दा त बिदुरलाई के खोज्छस कानो आँखो भने जस्तै भएको थियो । कहाँ गएर अघिल्ल्लो दिनको ह्याँङ्गबाट छुट्कारा पाऊँ जस्तै भएको बेलामा श्यामेको निम्तोले त्यो बलै नभएको शरीरलाई बलजफ्ती डाँडा उकालेको थियो ।
पक्कै पनि ड्रिन्कको व्यवस्था त होला नै भन्ने आशामा बिदुरले कति छिटो छिटो पाइलाहरू बढाएको थियो ।
त्यस दिन कम्ता पनि रमाइलो भएको थिएन । त्यसमाथि झम झम दोहरीमा नाच्दै भोड्का र रम पिउँदा त अर्कै आनन्दको अनुभूति गर्न पुगेको थियो । बेलुका डाँडा ओर्लदाँ पो यता उता धसारिंदा पाइण्टको पछाडिपट्टि प्वालै परेको थियो । कसो कसो त्यो भुँडे जिउलाई हल्लाउँदै घर त पुर्याएकै थियो ।
भोलिपल्ट लगभग १० बजेतिर बिउँझदा बिदुरले झल्याँस भएर स्कुल सम्झन पुगेको थियो । स्कुल जान्छु भनेर उठ्न खोज्दा त शरीर त साथै दिदैन बा ! के गर्ने? फसाद परेको थियो । उठ्छु भन्दा शरीर ढुन्मुनिएर टेबलमाटाउको ठोक्किन पुग्ने । खान नखाएको त तीन दिन भैसकेछ । खाली रक्सीको भरमा शरीरले मात्रै के फुर्ती झिकोस बिचरा शरीरले । पिकनिकको ह्याँङ्ग तीन दिनसम्म रहँदा त बिदुरको होशहवासनै उडेको थियो ।
तीन दिनपछि तङरिएरस्कुल जान श्रीमतीले पकाएको तातो भात स्वाद नमानी नमानी (रक्सी र मासु धोक्ने बानी परेको थुतुनोलाई के मिठो हुन्थ्यो घरको भात?) खाएर हिडेको बिदुरलाई बाटैमा उही भान्जाले भेटाएको थियो ।
“ओहो मामा म तपाईंको मै आउन लागेको बाटैमा भेट भो ।” भान्जाले बडो रौनकताका साथ भन्यो ।
“किन र?”
मामाको प्रश्न भुँईमा खस्न नपाउँदै भान्जोले फट्फटिंदै भन्यो, “मैले हिजो पारिको टार खेत बेचिदिएँ । अलिकति पैसा भाइसँग झ्याप पारेको थिएँ । आज राईनीको भट्टीमा जाऊँ ।”
“हैन, आज त जसरी भए पनि पुग्नै पर्छ स्कुल नत्र जागिर खुस्किन्छ मेरो त ।” निरीह प्राणी झैं मामा भन्दै थियो ।
निकै बेरसम्मको गलफत्तिपछि बिदुर बिस्तारै भान्जाको पछिपछि लाग्यो । खै राईनीको भट्टीमा के अदृश्य जादु थियो ।
“मामा कता कुन दुनियाँमा हराउनु भएको?” भान्जाको तिखो स्वरले मामा त्यो अतितको दुनियाँबाट झल्याँस्स हुन पुग्छ ।
“आज एक दिन मात्रै हो क्या भोलि मै पुर्याउन जाउँला बरु स्कुलसम्म ” भान्जो निकै कर्तव्यनिष्ठ अभिभावक झैं भावुक बन्न पुग्छ ।
“हुन पनि हो नि आज एकदिन त हो नि । भोलिबाट जाउँला नि त्यो स्कुल त । जे पर्ला पर्ला ।” बिदुरको मनसपटलमा फेरि रक्सीको भूतले डेरा जमाउन पुगिहाल्यो ।
यो भूतले कहिले झ्वाप्पै छोप्छ भने कहिले छ्याङगै छोड्छ । बडो अचम्मको छ त्यो भूत झन त्यसमाथि सित्तैमा पिउन पाउने भनेपछि त कता कताबाट हाम्फालेर आइपुगिहाल्दो रहेछ ।
आज फेरि भान्जाको कुटिल बाणीबाट प्रभावित भएर बिदुर मामा उन्मात्त हुन पुग्छ । त्यो ६ ईन्च अग्लो हरियो बोतलको signature को कल्पनाले मामालाई बडो रोमाञ्चित अनुभूत गराउँछ । अघिसम्म काँपेका शरीरमा स्फुर्ति आउँछ । शरीर हल्का भएको महशुस गर्दै त्यो गजानन्द जस्तो शरीरलाई ओछ्यानबाट फुत्रुक्क उफार्छ । ऐना फुटेको दरज (रक्सी धोकेर तीन महिना अगाडि श्रीमतीसँग झगडा पर्दा आफैले फुटाएको)बाट कपडा झिकेर लगाउँछ ।
बिदुर झिल्के बनेर “ल जाऊँ त जाऊँ । आज एक दिन मात्रै हो । भोलिदेखि नखाने कसम ल । ” भन्दै (यस्तो कसम त कति खाए खाए) बाहिर निस्किन्छ ।
भान्जा ठुलै लडाईं जितेको योद्दा झैं बहादुरीताका साथ मामाको पछाडि पछाडि (गमक्क फुलेर) लाग्छ ।
जादाँ जादैँ मामाले “ए बुढी आज मेरो लागि खाना नबना है” भन्न भ्याउँछ ।
श्रीमती वाक्क रहन्छे ।
बिहानसम्म जागिरमा जान्छु भन्दै गरेको मान्छे एक्कासी भान्जासँगै लागेको देखेर माइजू “मरिहालोस असत्ती मोरा फेरि आज पनि भाँडेर लगिहाल्यो मामा चाँहिलाई ” भन्दै सराप्न थाल्छिन् । तर उनको सराप कसले सुन्ने ? छिनमै मामा भान्जा खोल्सापारि पुगिसकेका हुन्छन् ।
बुढी माइजू एक्लै फत्फताईरहन्छे ।
