मान्छेहरू आवेशमा मनपरि बोल्ने गर्छन् । आफूले अरुका लागि के बोलियो भन्ने कुराको समेत ख्याल राख्दैनन् । आफूद्वारा बोलिएको कुनैपनि शब्दले दोश्रो व्यक्तिलाई जीवनभरको पीडा दिन सक्छ र उक्त पीडा सधैंभर रहिरहन्छ । कसैलाई पिट्नु, शरिरमा चोट पुर्याउनु या अंग भंग गर्नु बचनको प्रहार भन्दा सामान्य हुन्छ । किनकि यसको सीमा निश्चित हुन्छ । देह नै यसको सीमा भएकाले यसमा लागेको चोट औषधीमूलो पश्चात समाप्त हुन्छ परन्तु अरुलाई भनिएका कटु बचनहरूले हृदयको गहिराईसम्म नै प्रहार गर्छन् तथा यसले बनाउने घाउ जीवनको अन्तिम घडीतक निको हुँदैन । यसैले भन्ने गरिन्छ “वचनको घाउ कहिल्यै निको हुँदैन । “यो कुरा सत्य प्रतित लाग्छ । एक पटक मेरी आमा सामान्य दुर्घटनामा पर्नु भो । खुट्टामा चोट लाग्यो र खुट्टा फुलिएर आयो । केही दिनको उपचार पश्चात खुट्टाको पीडा कम पनि हुँदै गयो । म सानै थिएँ । गाउँमा खेल्न जाँदा छिमेकी घरमा आमाको अवस्था बारेमा भनेछु । मेरा कुरा सुनेपश्चात छिमेकी नातेदार एउटी आमाले “खुट्टै भाँचिनु पर्ने “भनिन् । घरमा फर्कें र रुँदै सो कुरा आमालाई सुनाएँ । आमाले सान्त्वना दिंदै मलाई सम्झाउनु भयो । यो घटना घटेको आज २२ बर्ष भैसकेको छ । ती आमैसँग मेरो कुनै पनि रिस, राग र बैरभाब कहिल्यै छैन । तापनि उनको बचनले बनाएको घाउ काहीं बल्झिने गर्छ ।
मेरा एकजना छिमेकी छन् र उनी झण्डै १६ बर्षदेखि एक प्रकारको असाध्य रोगले पीडित छन् । बेला बेलामा उनको रोग उकल्चिने गर्छ र पुन उपचारको लागि परिवारका सदस्यहरूले ठूलै मेहनत गर्नु पर्ने देखिन्छ । उनको उपचारमा उनको परिवारका एक सदस्य उसैबेलादेखि लागिपरेका छन् जुन पारिवारिक प्रेमका कारण । कहिलेकाहीं सन्चो बिसन्चो सोध्न उक्त घरमा जाँदा उपचारमा सहयोग पुर्याउँदै आएका उनका दाइले सुनाउने गर्छन् – हेर न यसको लागि आजसम्म यतिका काम गरिदैं आएको छ, कहिलेकाहीं घर ब्याबहारका कुरा गर्दा भाइले भन्छ “तँलाई त कहिल्यै पनि मेरो रोग निको होस् भन्ने छैन र म मरेमा मेरो अंशमा पर्ने सबै सम्पत्ति खाउँला भनेर बसेको छस् ।” मेरा मित्रले दुखेसो पोख्दै भन्छन् “आफन्तका लागि जति नै गरेपनि गर्यो भनेर नभन्ने रहेछन् । आज यति गर्दा गर्दै पनि ऊबाट यस्ता कुरा सुन्नुपर्छ जुन मैले कल्पनासम्म गर्न सक्दिन । उस्ले दिएका बचनहरूले शूल बनेर मेरो हृदयमा घोचिरहन्छन् र आफैलाई धिकार्न मन लाग्छ । उनका यी कुरा सुन्दा मलाई पनि अचम्म लागेर आउँछ ।
यसै गरी गाउँमा अर्का एक जना छिमेकी छन् मेरा । केही बर्षअघिसम्म उक्त छिमेकीको पारिवारिक अवस्था केही नाजुक थियो । त्यस परिवारमा २ जना दाजुभाइ र ४ दिदी बहिनी छन् । ४ दिदी बहिनीको त बिहेबारी भैसकेको छ भने २ दाजु-भाइ बिवाहको लागि लाईनमा देखिन्छन् । २ दाजु-भाइ मध्ये १ जना भाइ बेलायतमा कार्यरत छन् भने अर्का भाइले जापानमा राम्रै कमाई गरिरहेका छन् । आज उनीहरूको कमाईको हिसाब र जोडेको सम्पत्तिको लेखाजोखा गर्दा गाउँले जति सबैलाई उछिनिसकेका छन् । बाबु-आमा पक्का किसानी हुन् र लेखपढ गर्न जान्दैनन् । तर उनका अति नजिकका आफन्तहरू आफूहरूलाई अति घरानिया ठान्छन् र उनीहरूको सम्पत्ति आर्जनको मूल आधार पैतृक र शुद्द मेहनत पनि देखिंदैन । यी २ दाजु-भाइको बिहेबारीमा यिनै आफन्तलाई केटी खोज्न भन्दा आफन्तले भनेछन् “बाबु-आमा तिनै हुन्, न त बोल्ने ढंग छ न त लेख पढ गर्न नै जान्दछन् । बिहेमा यिनीहरू ईज्जतिलो ढंगले प्रस्तुत हुन समेत जान्दैनन् । आज छोराहरूले कमाए भन्दैमा के भो र ? परिवारको पृष्ठभूमि त आखिर गरिबी नै हो, यसैले हाम्रो तर्फबाट आफन्त केटी खोज्दा उल्टो हाम्रै ईज्जत जान्छ । तसर्थ उनीहरूको लागि केटी खोज्नेतिर लाग्नु हुँदैन ।” अझ त्यस परिवारका मूली व्यक्तिले त केसम्म भन्न भ्याएछन् भने “छोराहरूको बिहे भै हालेमा दुलाहाको बाउलाई कुनै बहाना पारी अन्तै पठाईदिने र केटाहरूको बिहे गर्ने । किनकि केटाको बाबु गँबार छन् र उनी बिहेमा सामेल भएमा हाम्रो समेत ईज्जत जान्छ । “आफन्तको यी बचन सुनाउँदै २ दाजु-भाइले मसँग दुखेसो पोखेका थिए । आफ्ना बाबु-आमा जस्ता सुकै किन नहोउन बाबु-आमाको महत्व र मूल्य बुझेका समझदार छोरा-छोरीका लागि उनीहरू भनेका संसार कै सबैभन्दा अनमोल रत्न हुन्छन् । जब उनीहरूमाथि कसैले यस किसिमको अपहेलित ब्याबहार र शब्द प्रयोग गर्छ त्यो कसैलाई पनि सह्य हुँदैन । ती २ दाजु-भाइको हृदयमा छिमेकी दवारा रोपिएको शब्दरुपी बाँणले बनाएको घाउ आज पनि ताजै र आलो नै देखिन्छ । तर पछि थाहा लाग्यो भगवानको कृपाले २ दाजु-भाइले राम्रो कुल घरानामा बिहे गरेछन् र उनीहरूको लागि केटी खोज्ने काम संयोगबस जुटेछ तथा ती पाखण्डी र अहँकारी आफन्तको भर पर्नु परेनछ ।
अधिकांश व्यक्तिको बसिबियाँलो अरुकै बारेमा कुरा काट्दै र उनीहरूकै बारेमा सोच्दा बित्ने गर्छ । उनीहरू जोसँग अरुका बारेमा कुरा गर्छन् त्यस बखत कुरा गरिरहेको व्यक्ति उसका लागि सबै भन्दा नजिकको, विस्वासिलो र भरपर्दो लाग्ने गर्छ । कुरै कुरामा आफूले अरुका बारेमा के भनें भन्ने समेत ख्याल आउँदैन । उनीहरूलाई यो थाहा लाग्दैन कि जोसँग आफूले अर्को व्यक्तिको बारेमा कुरा गरिरहेको छ सोही व्यक्ति ऊसँग पनि उत्तिकै नजिकको हुन सक्छ भन्ने कुरा । तर पछि गएर उक्त व्यक्तिले अर्को व्यक्तिलाई भेट्दा “तेरो बारेमा त फलानोले यस्ता कुरा गरेको थियो” भनिदिन्छ । यो कार्य सबैतिर र सबैबाट घटित भैरहेको हुन्छ । यसर्थ अर्काको बारेमा कुरा गर्दा सतर्कता अपनाईएन भने त्यसको दुषित परिणाम कुनै न कुनै बेला कुरा काट्नेले भोग्नु पर्ने नै हुन्छ ।
एक जना मेरा नातेदार जो ५० बर्ष जति कि छन्, म संगको एक भेटमा उनले भनिन् “फलानीलाई अहिले रुनु परेको छ, मलाई गरेको हेंलाको फल बल्ल पाईन्, भन्दिए हुन्छ । मलाई गाउँमा हुँदा खानसम्म दिएकी थिईनन्, कोदो मकै र आँटोमा दिन काट्नु पर्थ्थो । कहिलेकाहीं त त्यही पनि पाईंदैनथ्थो यस्तै यस्तै ।” यिनीहरू सौतेनी नालका सासू बुहारी हुन् र सासू चाहिंकी आफ्ना छोरा बुहारी हाल बेलायतमा बस्दै आएका छन् । सासू बेलायत जाँदा उनकी आफ्नै बुहारीले दिनु दुख दिईछन् र प्रसस्तै कटु बचन लगाईछन् । जुन कुरा ती बुढी आमैले सहन सकिनन् र नेपाल फर्कँदा रुँदै आफन्तलाई सुनाएकी थिईन् । एक कान दुई कान मैदान हुँदै यो कुरा उनकी सौतेनी नाल पट्टीकी बुहारीको कानमा पनि परेछ र सोहीको आधारमा तिनले हामीसँग ३० सौं बर्ष पुरानो रिस पोख्दै उक्त कुरा भनेकी थिईन् । यो कुरा मैले उनलाई त भनिन तर ती बुहारी सासूको पीडामा खुसी भएको देख्दा नरमाईलो लागेर आएको थियो ।
भनिन्छ, मुखबाट निस्केका शब्द र कमानबाट छुटेको बाँण कहिल्यै फिर्ता आउँदैनन् । यिनीहरू निस्केपछि निस्केको निस्केई हुन्छन् र कहीं न कहीं, कुनै न कुनै प्रभाब नपारी बस्न सक्दैनन् । महाभारत युद्ध हुनुको मूल कारणमा द्रौपदीले दुर्योधनलाई लगाएको कटु बचन थियो । यो बचन नै दुर्योधनको मनमा शूल झैं बिझ्न पुग्यो र यसैको फलस्वरुप अनेक कान्डहरू जोडिंदै गए । पाण्डबहरूका लागि ईन्द्रप्रस्तमा अलग्गै बनाईएको दरबार अत्यन्तै सुन्दर र स्वप्न नगरी समान थियो । उक्त महलको भब्यता हेर्नका लागि युवराज दुर्योधनलाई निम्त्याउँदा दुर्योधनले पानीको पोखरीलाई भूईं सम्झी हिंड्ने कोशिष गरेछन् । यसो गर्दा तत्काल दुर्योधन पानीमा लडेछन् र माथि बाल्कोनीबाट यो दृष्य हेरिरहेकी द्रौपदीले एकाएक “अन्धाको छोरा अन्धो” भनिछन् र हाँस्न पुगिछन् । द्रौपदीको यस बचनले दुर्योधनको हृदय छिया छिया परेछ । र अन्तमा यहिं बचन नै महाभारत युद्धको मूल बीज बनेको पाईन्छ जुन दुर्योधनको हृदयमा बिशाल बृक्ष बनेर फले फूलेको थियो ।
तपाईं कसैलाई जे सुकै भन्नुस्, लेख्नुस या अरु मार्फत सन्देश पठाउनुस् त्यसले ढीलो या चाँडो आफ्नो प्रभाव उस् व्यक्ति र स्वयं तपाईंमा समेत छाडिरहेको हुन्छ जुन कहिल्यै मेटिंदैन । फलानोले मलाई यसो भनेको थियो या यसो लेखेको थियो । यो बाक्य प्राय जसो सबैका मुखबाट सुन्ने गरिन्छ । आफूले अरुलाई दिएका बचन र अरुले आफूलाई दिएका बचनहरू नै एक अर्का बिचको सम्बन्धको सेतु बन्ने गरेको हुन्छ । फरक यति नै हुन्छ कि उक्त सेतु आफ्नो तर्फबाट के कत्तिको घातक रुपमा अर्को समक्ष गैरहेको छ र अर्कोबाट पनि के कत्तिको घातक रुपमा आफू तर्फ आई रहेको छ ! तपाईंबाट उसतर्फ गैरहेको सम्बन्धको डोरी सफा छ भने यसमा तपाईं आत्तिनु पर्दैन तर यस्लाई सफा बनाउने या फोहर नै राख्ने यसको निर्णयकर्ता भने तपाईं स्वयं नै हुनु हुनेछ । कसै प्रति राम्रो सोच राखियो, जस्तै मनमुटाबको अवस्था आईलागेमा पनि चुपचाप सहन गरियो र कुनै त्यस्ता कटु बचन बोलिएन भने तपाईंको हृदयबाट निस्कने सम्बन्धको डोरी जहिले पनि सफा नै रहि रहने छ । तर यसको अलावा पेट र मूखमा आए जति बोलियो, आफूले बोलेको कुराले भोली आफैलाई पोल्छ भन्ने कुराको ख्याल राखिएन भने त्यसको प्रभाब र त्यसबाट उब्जने परिणामको भागिदार पनि तपाई स्वयं नै हुनुहुनेछ । यसर्थ बुद्दिमान र बिवेकशिल व्यक्तिहरू जस्तोसुकै अवस्था आईलागे पनि आफूलाई संयममा राख्ने गर्छन् र अरुका कुरा बढी सुन्ने गर्छन् । तर यसको ठीक बिपरित मूर्ख, बुद्दिहिन र अविवेकि व्यक्तिहरू एकोहोरो बोली रहन्छन्,अरुका कुरा सुन्ने धैर्यता उनीहरूमा हुँदैन र अघी पछीको ख्याल राख्दैनन् । अन्तमा जब आफूले बोलेका कुराहरूको ख्याल आउँछ उनीहरू समक्ष पश्चाताप गर्नु शिवाय केही बाँकी रहँदैन । र आफ्नै बोली र बचनका कारण उनीहरूको हृदयबाट निस्कने सम्बन्धको डोरी जहिले पनि फोहोरको फोहर नै रहने गर्छ ।
प्रसंग अनेक छन् र लेख्दै जाँदा धेरै हुन्छ । गतबर्षको दशैंमा म गाउँमा गएँ । मेरो साथमा बिदेशबाट आउनु भएका दाइको परिबार पनि सँगै थियो । अपर्झट एउटा योजना बन्यो त्यो पनि साँझपख । घरमा एउटा कालो पाठो थियो र त्यसलाई काटेर गाउँका केही मिल्ने दाजु-भाइहरूसँग रंग रमाईलो गरौं भनेर आफन्तहरूलाई बोलाईयो । सबैले खुसी साथ हाम्रो निम्ता स्वीकार्नु भयो । सबैलाई पेटभरि मासु भात खुबाईयो र सबै जना सन्तुष्ट नै देखिन्थे । यो एक किसिमको पारिवारिक भोज जस्तै थियो । खाईवरी सकेपछि एक जना गाउँका दाइ (जो डिग्रीसम्मको अध्यन पश्चात एउटा बिद्यालयमा पढाउँछन् र उनको कमाई महिनाको यस्तै १५ देखि २० हजार जति देखिन्छ )ले प्याच्च भनि हाले “बिदेशका पैसा तर लगाए ।” त्यतिका पढेका र शिक्षक जस्तो व्यक्तिको यस किसिमको दरिद्र सोच सुन्नु पर्दा मैले मनमनै भने ‘ धिक्कार छ तिमीले आर्जेको शिक्षा !‘
मेरा एक जना डा. साथी छन् र हाल उनी अष्ट्रेलियामा कार्यरत छन् । उनी बाल्यकालदेखि नै टुहुरा थिए र उनका पिताको भारतीय सेनामा कार्यरत हुँदा स्वर्गेबास भएको रहेछ । टुहुरा ३ दाजु-भाइ, एक्ली आमा, परिवारको लालन पालन सुरुमा गार्हो साँघुरो हुँदा गाउँकै छिमेकीबाट निकै नै सास्ती बेहोर्नु परेको रहेछ र केही साथ-भाइले उनलाई निकै होच्याउँदै “हेरौं न कति पढ्दो रहेछ र के गर्दो रहेछ !” भनेछन् । हालका ती डा. साथीले स्कुल पढ्दै मलाई भन्थे “म पछि डाक्टर बन्ने छु र धेरै भन्दा धेरै सम्पत्ति कमाउने छु ।” कसरी भन्ने प्रश्नमा ‘साथी-भाइले उनलाई लगाएका वचन र गाउँलेहरूको हेपाहा प्रबृति कारण रहेछ ।‘ हाल उनी बार्षिक करोडको हाराहारीमा कमाई गर्छन् र अष्ट्रेलियामा आरामको जिन्दगी बिताई रहेका छन् । यसर्थ कसैले कसैलाई भनेका र लगाएका वचन सधैं घातक मात्र नभै फलदायी पनि हुने गर्छन् । गाउँघरमा एउटा उखान निकै प्रचलनमा रहेको पाईन्छ त्यो के भने “ईख नभएको मान्छे र बिख नभएको सर्पको कुनै काम छैन ।”
पुन प्रसंग पञ्चायत कालको । हामी कहाँ एक जना प्रधानपंच थिए । मैले जान्दासम्म लगातार ४ पटक उनी प्रधान पंचमा जित्न पुगे । जुन बेला पंचायतको चुनाब हुन्थ्यो त्यसको केही दिन अघिदेखि हातमा फिता टेप र १, २ जना सहयोगी लिएर उनी गाउँ गाउँ घुम्ने गर्थे । यो क्रम प्रत्येक चुनाबको बेला दोहोरिने गर्थ्थो । गाउँमा पानीको ठूलो समस्या थियो । उनी यसरी आँफै आएको देख्दा “लौ अब त तेजे आँफै आयो पानी आउला कि !” भन्दै गाउँलेहरू मख्ख पर्थे र उनलाई भोट दिने गर्थे । उनले पनि आँगनको डिलमा धारो राख्ने चिन्ह लगाउँदै हिंड्थे र भोट बटुल्थे । प्रत्येक चुनाव अगाडि गाउँका हरेक समस्यालाई उनले सम्बोधन गर्थे तर पुरा भने कहिल्यै गर्दैनथे । यसरी उनले गाउँलेहरूसँग गरेका बाचा र दिएको बचन तत्कालिन अवस्थामा चुनाब जित्ने अस्त्रको रुपमा प्रयोग हुन्थ्यो जस्को साक्षी म स्वयं थिएँ । यस्तै केही समय अगाडि स्वर्गेबास हुनुभएका सन्त नेता कृष्णप्रसाद भट्टराईले पनि काठमाण्डौबाट चुनाब लड्दै गर्दा आफ्ना भाषणहरूमा काठमाण्डौलाई सिंगापुर जस्तै बनाईदिने कुरा बोलेको निकै चर्चामा आउने गर्थ्थो । बहाँ पटक पटक प्रधानमन्त्री पनि हुनु भो तर वहाँले गरेका बाचा र समाजलाई दिएको बचन कता पुग्यो थाहा लागेन र काठमाण्डौ झन झन भासिंदै गयो । तर सार्बजनिक रुपमा यसरी बोलिएका कुराहरू पुरा नहुँदा बोल्ने व्यक्ति प्रतिको समाजको सोच के कस्तो हुन्छ भन्ने कुराको हेक्का कसैले राखेको पाईंदैन ।
संसारको ईतिहासलाई हेर्दा व्यक्ति व्यक्ति बिचको आरोप प्रत्यारोपले ठूल्ठूला युद्ध निम्त्याएको पाईन्छ । यस खालको आरोप प्रत्यारोपमा केही क्षणका लागि त अहँको तुष्टी होला र उस्लाई मानशिक शान्ति मिल्ला तर कालान्तरमा यस्ले पार्ने प्रभाब निकै नै घातक हुने गर्छ । द्रौपदी पाँच भाइमा बाँडिनुको कारण पछाडि महारानी कुन्तिको अबिवेकी निर्णय थियो । रामको १४ बर्षे बनवासको पछाडि पनि कैकेयीले राजा दशरथसँग लिएका वचनहरूले नै काम गरेका थिए । कुनै पनि देश देश बिच सम्बन्ध बन्नु र बिग्रनुको पछाडि पनि उक्त देशका जिम्मेवार नेताहरूले बेला बखत बोले बकेका कुराहरूले नै काम गरिरहेको हुन्छ । व्यक्ति व्यक्ति बिचको सम्बन्धको पछाडि पनि उनीहरूबाट प्रेसित भाव र वचन कै मूख्य भूमिका रहेको हुन्छ । यसर्थ सकिन्छ त सबैसँग राम्रो बोलौं, राम्रो ब्याबहार गरौं र भलो नै चिताऔं सकिंदैन त चुप लागेर बसौं, कसैलाई अनायक कटु बचनले प्रहार नगरौं र संयमता अपनाऔं । यसो भएमा सबै संगको सम्बन्धको सवालमा तपाईं जहिले पनि सुरक्षित नै हुनु हुनेछ । यसबाट बच्ने एउटा उपाए के देखिन्छ भने – साथीभाइ भेट हुँदा अनुपस्थित व्यक्तिको बारेमा चाहिने नचाहिने कुरा कानी गर्नु पूर्ब यदि उक्त व्यक्ति पनि आफूहरूसँगै सामेल छ भन्ने बलियो सोच राख्न सकियो र महशुस गरियो भने अर्काको कुरा काट्ने जस्तो निकृष्ट कार्यबाट बच्न सकिन्छ । यस्बाट कसैको हृदयमा कसैप्रति कहिल्यै पनि घृणाको भाव रहने छैन र बचनरुपी तीरले कसैलाई पनि पीडा दिने छैन ।
रत्न काफ्ले
