Skip to content


जादूगर्नी छ माया, उसपछि वनमा लोभिएको शिकारी
बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी ।
भुल्छौं हामी अनेकौं झिलिमिलिहरुमा, मोह प्याला लिएर
आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर ।।

प्यालामा गुम्छ सारा भुलि अरतिहरू, बिर्सिहाल्छौं स्वदेश
सामग्रीमा विलासी घुमि घुमि रहँदा जान्छ सच्चाइ, होश ।
आफ्नो देखी अवस्था पछि पछि पछुतो लागि रोएर हिंड्छौं
आफू रोकेर बस्ने जति, पथ मिलदा स्वर्गको तर्फ बढ्छौं ।।

हाम्रो हो स्वर्ग राम्रो घर, जन त्यसमा देवता छन् उज्याला,
बाबा हुन् ब्रह्म हाम्रा, सकल सुख त्यही कल्पना झैं रसीला ।
उन्को कानून माने अचल सुख तथा शान्तिको राज्य मिल्छ
जे जे भित्रै चितायो उहि-उहि छिनमा जिन्दगीभित्र फल्छ ।।

काँढा कुल्चे फूल फुलदछन्, आँसु नै मोति हुन्छन्
घाऊ लागे सुख बनदछन्, रोदनै हास्य बन्छन् ।
दारिद्र्यैले ढुकुटि भरने, क्लेश बन्ने विलास
धर्मैको हो पथ पथिक हो ! धर्म हो एक आस ।।

2 thoughts on “जीवन वन”

  1. Wrong Poem !
    महाकवि देवकोटाको “जीबन बन”
    भन्ने कविता त
    “आँसु खसाली रोहीरहेथें जीवन बनका बीच !
    खोजी खोजी कतै नपाई मेरा मनका चीज !….”

    बाट पो शुरु हुन्छ त!

    यो माथिको हो र ! ?

  2. राजेन्द्र प्रसाईँजी, त्यो
    राजेन्द्र प्रसाईँजी, त्यो तपाईँले कुरा गर्नुभएको कविता चाहिँ “वन” भन्ने हो । मझेरीमा अँझै राखिसकिएको छैन । शीघ्र राख्नेछौँ, प्रतिक्षा गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *