Skip to content

आँसु चुहेको कार्यक्रम (पारिजात पुरस्कार वितरण २०६४)

  • by
NirveekRai-03


गैरवामपन्थी गणतान्त्रिक नेता नरहरि आचार्यको मञ्चआसनले म व्यग्रताको साथ उनको मन्तव्यको पर्खाइमा थिएँ । उनले बताए, “पारिजातको साहित्य आफूले पढेको छु । तिनीसँगको सामीप्य नभए पनि लक्ष्मीप्रसादजस्तै तिनी प्रतिभाशाली थिइन् । लक्ष्मीप्रसादले मुनामदनबाहेक सबै कृति जलाए हुन्छ भने र पारिजातले चाहिँ ‘शिरीषको फूल’ च्यातिदिए हुन्छ भनिन् तर कुनै पनि कृति छापिएर सार्वजनिक भएपछि त्यसलाई राख्ने वा मास्ने भन्ने अधिकार स्वतः पाठकमा रहने रहेछ अर्थात न ‘मुनामदन’ बाहेक देवकोटाको अन्य कृति जलाइए न पारिजातको ‘शिरीषको फूल’ नै च्यातिए ।”

पारिजातको ‘शिरीषको फूल’ को शून्यवाद वा निराशामा पाठकले आशा पाए भन्दै उनले भनिरहँदा केही थपडी पड्कियो । मेरो घैँटोमा घाम लागेकोले स्वस्फूर्त रुपमा मैले पनि रमाउँदै ताली ठोकेँ ।

पारिजात स्मृति प्रतिष्ठानको अध्यक्ष सुकन्याले बोलिन्, “तिनी जिद्धीवाल, कुनै बेला अराजक पाराकी । एक चोटि अर्काको घरमा अरुलाई भरेको तोङ्बा तनतनी पिएर लम्पसार सुतिन् । मलाई तनावले सताउँदा तिनको फोटो हेर्दा मात्र पनि तनाव कम भएको महसुस हुन्छ, शक्ति मिलेको अनुभव हुन्छ । तिनले अन्तिम क्षणहरूमा भनेकी थिइन् कि जस्तै सङ्कटमा पनि तैँले हरेस चैँ नखानु ।”

यी भनाइहरूको अन्तिमतिर मेरो आँखा निरन्तर रसाएर रुमालले सोस्नुपर्ने भइसकेको थियो । अनावश्यक भावुकता ठान्दै सम्हाल्ने मेरो प्रयास विफल हुँदै थियो । म एकलै भए निसङ्कोच, धीत मर्दो म आँसु बगाउँथें । पातलो अँध्यारोमा भए पनि आँसु चुहुँदा लाजले सताउँछ । तिनीले त्यसरी संस्मरण कहिरहँदा श्रोतादीर्घबाट चुकचुकाएको आवाजले झन् मेरो आँसु चुहाउन सघाइरहेको थियो ।

तिनले बोल्ने क्रममा अझै भन्दै थिइन्, “पारिजात कल्पनाशील थिइन् । अनेक योजना बनाउँथिन् ।” यी भनाइले साहित्यकार कल्पनाशील हुनुपर्छ वा आफू पनि त्यस्तै छु भन्ने लागेर मेरो खुब चित्त बुझ्दा आँसु उमार्न थप मद्दत गर्दै थियो । तिनले पारिजातसँगको संस्मरण भनिरहँदा पारिजातको संस्मरण पढ्दाको घतलाग्दो कुराहरू बल्झिएकोले ममा भावुकताको बाढी उर्लिरहेको थियो ।

पारिजातको ‘शिरीषको फूल’ को कला पक्षको मूल्याङ्कन गर्न नसकी पूर्वाग्रही ढङ्गले त्यसलाई लिने र त्यसको शून्यवादी दर्शनसँग असहमत हुने कथित प्रगतिवादी समालोचकले जे सुकै भने पनि म आफू भने तिनको उपमा नै उपमाले भरिएको र सूक्ष्म ढङ्गको विश्लेषणात्मक शैलीसँग अति लोभिएको र आफू निराशामा भासिएको बेला उक्सिन त्यसको शून्यवादी दर्शनलाई प्रयोग गर्दै आएको मान्छे परेँ । मैले सबभन्दा बढी दोहोर्याएर पढेको र किनेको पुस्तक ‘शरीषको फूल’ हो ।

कार्यक्रम सिद्धिएर मञ्च खाली हुँदै गरेकोमा मञ्जुल नरहरितिर लम्कँदै बोले, “राम्रो बोल्नुभयो ।” मैले पनि थपेँ, “पाठकले निराशामा नै आशा पाए भन्ने तपाईँको भनाइ मलाई सार्है चित्त बुझ्दो लाग्यो ।” मैले उनको राम्रो लागेको भनाइ उद्घृत गरी सर्कयाएँ न कि मञ्जुलले जस्तो राम्रो त राम्रो कुन राम्रो । उनले हाँस्दै मतिर हात बढाए ।

गोविन्द भट्ट, भद्रकुमारी घले, निनु चापागाईँ र रुद्र खरेललाई पनि त्यहाँ मैले देखें ।

२०६४, जेठ
जन्मथलो ः नेपालेडाँडा, भोजपुर, हाल ः मनमैजु, काठमाण्डू ।
पेसा ः स्वतन्त्र अध्ययन र लेखन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *