सर्वत्र कोलाहल सुनिन्छ
र आधा सूर्य कालो देखिन्छ
नेपालगञ्ज पसेपछि
बिहानदेखि साँझसम्म
रुपहिडियाको उडुससँग
रतिरागको आनन्दमा लिप्त भएझैँ
आफैँ बिक्री हुनुमा तृप्त हुन्छन्
नेपालगञ्जीया
बिहानदेखि साँझसम्म
कहिलेकाँही मध्यरातमा पनि
नेपालगञ्जको छातीमा परेड खेल्छ
नानपाराको बन्दुकधारी दरोगा
जुम्लाका हटारु
र काला पहाड जाने
ज्यामीको लर्को देखँेपछि
अचानक चलायमान हुन्छ
आयातीत सभ्यताको घरवारी टोल
भक्तहरूको भेटीको भकारी
र काला बोकाहरूको रगतको कुण्डमा
मुन्टो घुसारेर मलसाप्राझैँ
निदाइरहन्छ-वागेश्वरीको पुजारी
सल्यानी बङ्गलाका मदिरा कम्पनी
फुल्टेक्राका जरसाहबहरू
दिनभर सुत्छन्
र रातभर जाग्राम बस्छन्
घांेसीटोलका व्यापारीहरू
एकलैनी बजारको क्रय बिक्रय
सदरलाइनको ढुसी परेको
साँउब्याजको वहिखाता
र त्रिभुवनचोकको
भग्नावशेष नेपाली राष्ट्रवादमाथि
तिरङ्गाको कफन हालेर
गौरवले पुलकिंत हुन्छ
प्राचीन नगरी-नेपालगञ्ज
कालो बस्त्र ओढिरहेको आकाशमुनि
चिप्लेकीराझैँ घस्रँदै
नेपाली वर्णमालाको
अक्षरअक्षर जोडेर
कब्जियतको विमारीझैँ ठस्ठसी कन्दै
हुटिट्याँउले आकाश थामेको आत्मरतिमा
अथवा महाभारतको किच्चकवधजस्ता
मुन्टो भाँचिएको
पुच्छर काटिएको
कथानक छापेर
सूचना साम्राज्यका बादशाहझैँ देखिने
नेपालगञ्जीया अखवारहरू
र कहिले नोटको नशामा- कहिले भोटको नशामा
कहिले सुभेरु – कहिले कुभेरु
रन्थनिँदै घुमिरहन्छ र सधैँ पछारिन्छ
नयाँ मुलुकको नयाँ नेपालगञ्ज
विषम प्रकृति ः विषम संस्कृति
पचाइरहेको नेपालगञ्ज
बेलावखत पानको रातो र्याल
गिजाबाट चुहाउँदै वेफ्वाँकमा रिसाउँछ
र नयनराजको उलारजस्तै
उलार हुन्छ कहिलेकाहीँ
कहिले मन्दिरमा उलार हुन्छ
कहिले मस्जिदमा हुन्छ
कहिले धोतीमा उलार हुन्छ
कहिले टोपीमा हुन्छ
उलारै उलारमा गुलजार छ
प्राचीन नगरी-नेपालगञ्ज
रामपुर, चितवन
मधुपर्क २०६८ बैशाख
