स्वागत स्वागत हे नयाँ वर्ष !
स्वागत स्वागत हे नयाँ वर्ष !
कदम्ब तरू-तल गाउन थाली
राधाझैं कोइली
मनै भो वृन्दावन,
बज्दैछ कृष्णको मुरली
पाखाभरि ढकमक्कै फुल्यो
गुराँस, गुहेली
रङ्गविरङ्गी पुतली उड्छन्
फूलै फूल तरेली
प्रकृति नव-पल्लव कपोलमा
लेख्तछ रक्तिम हर्ष
स्वागत स्वागत हे नयाँ वर्ष !
मानवता-सन्देश वेदको,
हिमाल गाइरहेछ
बुद्धको शान्ति गीत लिएर
खोला सुसाइरहेछ
जान्दछ नेपाल युगौंदेखि
लुटाउन फगत प्यार
शान्ति र प्रीति उपहार हाम्रो
स्वीकार संसार
चाहन्छौं हामी नयाँ चेतना,
नयाँ मूल्य उत्कर्ष
स्वागत स्वागत हे नयाँ वर्ष !
स्वागत स्वागत हे नयाँ वर्ष !
युवामञ्च २०६८ बैशाख
