Skip to content

तिमी माथि, म तल, दुरी धनको डाँडो भयो


तिमी माथि, म तल, दुरी धनको डाँडो भयो,
तिम्रो माया मेरो मनमा बिझाउने काँडो भयो !

झुटा बाचा झुटा आशा देखावटी रैछ माया,
धन थियो त माया थियो सकिएसि ठाँडो भयो !

तन दिएँ मन दिएँ केही नराखी दिन बाँकी,
रित्तिएको जिन्दगानी आज मलाई घाँडो भयो !

कति सजिलै बिर्सिदियौ यति लामो सहयात्रा,
टुक्रा टुक्रा भयो मुटु माया किची-फाँडो भयो !

तिम्रै खुसी हेर्न चाहने मेरा दुई आँखाहरू,
आँसु थियो सकियो खाली रित्तो भाँडो भयो !

हे पापी भगवान के गरेको तैंले यस्तो,
मेरो मरणभन्दा पनि तिम्रो बिहे चाँडो भयो !

खिसी गर्छ दुनिया काखी ठोक्छ मलाई हेरी,
बिहे भाकै छैन तर “सुमन काले” राँडो भयो !

तिमी माथि, म तल, दुरी धनको डाँडो भयो,
तिम्रो माया मेरो मनमा बिझाउने काँडो भयो !

२०६६/७/१७ “सुमन काले”

2 thoughts on “तिमी माथि, म तल, दुरी धनको डाँडो भयो”

  1. गजल राम्रो लाग्यो
    नेपाली साहित्य फाँटमा अहिले युवा पुस्ताले फलाउने र फूलाउने एउटा राम्रो विधा हो, गजल र यस्तै राम्रो गजलको एउटा उदाहरण हो सुमन जी को यो गजल। नेपाली साहित्यलाई माया गरौं। मझेरी लाई यो साईटको लागि धेरै धेरै धन्यवाद छ है।

    1. thnx rajesh ji….
      …….मेरो गजल उदाहरणका रुपमा लिन योग्य त छैन ….तर उत्प्रेरणा को लागि मुरी मुरी धन्यवाद राजेश जी .!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *