केही महिनाअघि वैरागी काइँलाको एकल कवितावाचन कार्यक्रम गुरुकुलले गर्न चाहे पनि उनी बिसन्चो भएकोले रद्ध हुँदा मैले विस्मात मानेँ । उनको कविताहरू ‘मफलर भए त मेरो माया’ र ‘मातेको मान्छेको भाषण’ पिउँदा, वैरागी काइँला हतपती कवितावाचन गर्दैन भन्ने कुरा मैले सुन्नु र ‘रेडियोसगरमाथा’ बाट प्रसारित उनको अन्तरवार्ता मैले कानमा थापी उनीसँग म पट्टिएकोले गुरुकुलसम्म पुग्ने मेरो जाँगर चल्यो । नत्र कविता सुन्नु पर्ने त्यहीमाथि नोटको पाती चढाई चढाई । कत्ति चित्त नबुझ्दो कुरा ! आफू कवि हुन बल गरिरहेको भए पनि कविता सुन्ने कुरा मेरो लागि पट्यार लाग्दो पनि हो । किनकि एकान्तमा निधार खुम्च्याएर, ध्यान गाड्दै दोहोर्याई-दोहोर्याई कविता पढ्दा त मलाई आनन्द मिल्दैन र म कविता बुझ्दिनँ । सरसरती पढिएको कवितामा ध्यान गाडिएर मजा पाउँनु मेरो लागि एकदम चर्को कुरा हो । म पूर्वाग्रही हुनु, कवितामा कहानी नहुँदा मेरो ध्यान नडोरिनु र म चेक्दा (लठुवा) श्रोता हुनु नै त्यसको कारणहरू म ठान्छु ।
“अरुको बदख्वाइँ गरेर समय बर्बाद गर्नु भन्दा त्यसको विरुद्धमा लेख्न घुँडा धसिहाल्ने भन्ने दाजुको भनाइअनुसार तपाईँको ‘मृत्युकविता’ ले अर्को कविता जन्माएको छु, ”मञ्जुलसँग प्वाक्क बोलेँ ।
“हैन । आनीले भने अनुसार …..।” उनीबाट मेरो भनाइको खण्डन भयो ।
फेरि मैले भनाइ सच्च्याउने मनले थपेँ, “मृत्युबारेको कुरा दाजुले कुनकुन छुटाउनु भो भनेर खोज्दा छुटेको कुराहरू पाई कवितामा उतार्ने प्रयास गरेको छु ।” त्यत्रो अगुवा र सम्मानित कविलाई मैले धाक दिएजस्तो उनले ठाने कि ? बोल्ने ढङ्ग मेरो त्यस्तै छ ।
“अनि भाइको अल्बमहरू के हुँदैछ ?” उनको नजरमा म गायकको रुपमा देखिएको व्यहोरा प्रकट भयो ।
“गीत गाउन छाडेँ । पार नलाग्ने लाग्यो । अचेल कविता लेखनतिर धसिएको छु ।”
“तपाईँको गायन राम्रै थियो त ।” उनको त्यो भनाइ एउटा औपचारिकता मात्रै पनि हुन सक्थ्यो । “ननफिक्सन घटनाहरू लेखेर नभ्याउने हुँदा कथा, उपन्यास, नाटक लेख्न मन लाग्दैन । दाजुको संस्मरण ‘क्षितिजबाट हामफाल्दै’ बाट प्रभावित भएर संस्मरणात्मक निबन्धलेखन पनि जारी राखेको छु ।”
“ननफिक्सनमा फिक्सन थपेर लेख्दा पनि राम्रो हुन्छ ।”
पार्किङस्थलको उत्तर–पश्चिमको कुनामा रही तरकारीमा ढड्याएको चिउरा खानुथालेँ । मोटरबाइकमा आएका सांसद विजय सुब्बाले ठम्याउँदै बोले, “सुमन सुसेली होइन ?”
त्यति प्राचीन मेरो टाइटलसमेत जोडेर मेरो पुरानो नामबाट बोलाउँदा म फुरुक्कै परी उनीनजिक हुर्रिएँ । हरेक मान्छेलाई आफ्नो नाम र पदवि कत्ति प्यारो !
गुरुकुलको आँगनमा श्रोताहरूको भीड झन् बाक्लियो । आफ्नो टाइटल सम्बोधन गरेकोमा विजय सुब्बालाई कृतज्ञता व्यक्त गर्दै फुर्काउने मेरो सुर चढ्यो, “हैन ! राजनीति र जनसांस्कृतिक मञ्चको जिम्मेवारीको बोझले थिचेको गिदीले २०४३–४४ साल (२० वर्षअघिको) तिरको कुरा ‘सुसेली’ पनि सम्झिरहन सकेको गाँठे !’
“सुसेलीको ‘झन् झरी बादलु’ गीत नि त,” उनले थपे ।
२
“त्यति पुरानो गीतको बोल समेत नबिर्सेको ओ हो हो !”
मलाई उनले अग्घोर खुसी बनाए । त्यो गीत २० वर्षअघि (२०४३ तिर) ‘साहित्यसन्ध्या’ मा मैले घन्काएको थिएँ । तर त्यो गीत उनले कसरी याद गरे ? म छक्क परेँ । किनकि त्यो गीत टुहुरेको ‘आमा दिदी बैनी हो’ जस्तो फैलिएको थिएन ।
कार्यक्रम चल्न थाल्यो । डा. अभि सुवेदीले काइँलाको बारे फलाक्न थाले, “फ्रान्सेली कवि बोधलियाको दर्शन ‘कविताले क्रान्ति गर्छ’ भन्ने नै दर्शन छ, काँल्दाइको पनि । तर पनि उहाँ प्रचण्डसँग ‘कवि स्वतन्त्र हुन्छ भन्न छाड्नु हुन्न । आइडिओमेटिक ढङ्गले उहाँ भाषालाई प्रयोग गर्ने, संरचना नभत्काइकन । कोमलता र कठोरताको विचित्र सङ्गम छ उहाँको रचनामा ।”
ढाका टोपीले छोपेको शिरमुनि दौरासुरुवाल, कोट पहिरिएको, ‘वैरागी’ पदविको ठीक उल्टो प्रायः फक्रिएको मुहारमा देखिने र रसिक बोलीले घरीघरी हसाउँने स्वभावको वैरागी काइँला मञ्चमा बसिरहेको आसनबाट उठ्दै छेउको अग्लो सोते (mic) तिर जाने विचार जनाउँदै थिए, “पूजा गर्नु बसेको जस्तो पो भयो । उभेरै बोल्नु पर्यो ।” चखिलो उपमासँग बोल्दै उनले श्रोता एक झमट हसाँए ।
कविता सुनाउनु अघि उनले बोल्दै, “आयोजकलाई मैले आउनबित्तिकै सोधेँ— सुरक्षाको कस्तो बन्दोबस्त छ ? श्रोताको चित्त बुझाउन नसक्दा कतै जुत्ता, सेन्डलको झट्टी त भेटिने होइन ?” यो प्रचलित भनाइ भए पनि अर्को झमट उनले श्रोता हलल्ल हँसाई हल थर्काए ।
मञ्जुल उनलाई पहिलो पालो दिनु माइकअघिल्तिर लम्के । उनले बुनेको भूमिका त झन् रसिलो थियो, “उहाँ ठूलो कवि हुनुहुन्छ । उहाँको प्रेमकविता वाचन गरी उहाँको बैसालु दिनहरूको लोभ लाग्दो सम्झना गराई उहाँलाई तन्नेरी बनाउन म कोसिस गर्छु ।”
औँलाहरू चुमेर ……
मेरो हजुरलाई ……
कविताको भावअनुसार उनले वाचन मात्र नगरी उच्चारण (मस्कीमस्की हात, मुन्टो, जीउ मर्काईमर्काई, खेलाईखेलाई) समेत गर्दै उक्त कविता सुनाएर युवा श्रोतालाई रोमाञ्चित बनाएको आभास हलभरि फिजियो । उनले काइँलाको प्रेमकविता नै किन रोजे ? उनको हरमोनमा शृङ्गाररस (टेस्टोस्टेरेन हर्मोन ) को मात्रा बढ्नाले उनले त्यसो गरेको म ठान्छु ।
उनले माग राखे, “मलाई उज्यालोे मन पर्छ ।” फेरि उनले तुरुन्तै आफ्नो भनाइ सच्याए, “अँध्यारो पनि मन नपर्ने होइन मलाई । तर उज्यालोमा श्रोताहरूको अनुहार हेर्दै कविता सुनाउन मलाई बढी रमाइलो लाग्छ ।” उनले ‘लिजियङ नदी र अभिशप्त पहाडहरू’ (प्रकृतिको बयान भएको कविता) पनि सुनाए । यसबाट उनी प्रकृतिप्रेमी भएको बुझिन्छ । कवितावाचन गर्दा भावअनुसार हाउभाउ गर्ने चलन राम्रो हुँदाहुँदै पनि पुरानो भएकोले मैले त्यसलाई रुचाउन छाडेँ । भावअनुसार उच्चारण खेलाउन सक्नु चाहिँ राम्रो वाचनकला हुनु हो भन्ने म ठान्छु ।
जो झुक्दैनन् जति डाँडाहरू
टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि
उफ ! भाँच्चिएर लडिदिन्छन्
हिमालयका ढाडहरू
आहाल–आहाल रात छादेर मेरा सडकमाथि ।
३
काइँलाले माथिका हरफहरू वाचन गरिरहँदा “वाह ! वाह ! उख !” गर्दै आफूलाई घोचेको अभिव्यक्ति शब्दमा प्रकट गर्दै मञ्जुल हुरुकहुरुक भएको मैले सुनेँ, देखेँ । कुनै बेलाचाहिँ उनको प्रतिकृयामा कृतिमपन झल्किएको जस्तो लागी मलाई लाजले छोप्यो । हुन त उनी संवेदनशील छन् । ‘ल्पान्चेटको टेबल’ पनि उनले सुनाए ।‘ ‘फूल उघ्रिन्छ ,’ ‘कोपिला फुट्छ ’ जस्ता शैलीहरू म उदेक रुचाउछु ।
राजेन्द्र सलभ, विष्णुविभु घिमिरे र कृष्ण धरावासीले पनि उनलाई कवितावाचनमा टेको दिए ।
‘बाँकी प्रश्नहरू’ र ‘शरणार्थिविचार र मालीगाँउमा चितुवा’ कवि स्वयम्ले वाचन गरे । ‘बाँकी प्रश्नहरू’ माओवादी जनयुद्धको पीडा र प्रतिगमनविरोधी भावनाहरूले छपक्कै छोपेको कविता थियो । दोस्रो कवितावाचनको भूमिका उनले यस्तो बुने, “पूर्वमा लिम्बूलाई होचाएर भन्नु परे ‘चितुवा’ भन्ने चलन छ । मालीगाउँमा चितुवालाई मार्दा आफैलाई हिर्काएको जस्तो मर्म पर्यो ।” सान्त्वना मिसिएको हाँसोले हल थर्कियो । दाजु (बाघ) बाट भाइ (चितुवा) लखेटिएको प्रतीकलाई अरु जातको राजाबाट किराँती राजा लखेटिएको प्रसङ्ग मिलाएकोमा किराँती श्रोताहरू चुकचुकाउँदै मर्माहत हुने अवस्था त्यहाँ खडा भयो । त्यसरी अन्य जातको राजाबाट खेदिनुमा किराँती राजा आफै कमजोर हुनु हो भन्ने कुरालाई पनि आत्मसात् गर्नु पर्छ न कि विजेता राजाको विरोध गर्नु मात्रै । लुतेले खेदिनु पर्ने बलियोले राज्य गर्नु पर्ने ‘सरभाइबल अफ द फिटेस्ट’ को नियमले तोकेकै छ । उक्त कवितामा ‘तीतेमाछा’ र ‘पानीओत’ को चर्चादेखि वनमा हुने चितुवाको स्वतन्त्रता पनि वनविनाशसँगै मासिएको चर्चा मुटु घोच्ने खालको थियो । “मृत्यु ठूलो कुरा होइन, ठूलो कुरा त चितुवाको बाँच्ने र स्वतन्त्रताको अधिकार खोसिनु हो” भन्ने भनाइ कवितावाचनमा व्यक्त हुँदा मञ्जुल थपडी पड्काउँदै आह्लादित भए । छेउछाउकोले देख्दा र सुन्दा अस्वाभाविक भए पनि त्यो उनको आदत छ जसलाई अति संवेदनशीलता भन्नु पर्ला ।
धमेन्द्र नेम्बाङसँग श्रवण मुकारुङ बोल्दै थिए, “बूढा (वैरागी काइँला) ले टिक्न नदिने पर्यो (वा गरी खानु नदिने पर्यो) त ।“ अन्तिममा वाचित कविता ‘शरणार्थी विचार र मालीगाउँमा चितुवा’ ले आदिवासीश् रोतालाई स्तब्ध पारेको नतिजाको प्रतिकृयास्वरुप वा ‘बूढो बाघ’ बाट ‘तन्नेरी स्यालहरू’ लाई गतिलो चुनौती आएको मैले बुझेँ ।
२०६४ पुस २३, जनवरी, २००८
