Skip to content


हिजो बन्द, भोलि पनि बन्द अनि आउँदो दिन पनि बन्द, त्यसपछि त कुन बेला बन्द हुने हो त्यो पनि टुङ्गो छैन । बन्द चर्चा र बन्दको भजन गाउँदै हामी गफिरहेका थियौँ भृकुटीमण्डप अघिल्तिर । बन्दै बन्दबीच बन्द नभएको दिनको मौका पारेर भेला गराएको थियो नेपाल लेखक सङ्घले । काठमाडौँबाट पोखरा जाने १९ सदस्यीय टोली जेठ २ गते नै पोखरा पुगेको एक डेढ घण्टामै कार्यक्रम सुरू भइहाल्यो । पोखराको पृथ्वी नारायण बहुमुखी क्याम्पसको सभाकक्षमा गण्डकी अञ्चलको विभिन्न जिल्लाबाट अनि काठमाडौँबाट पुगेको टोलीसमेत जोड्दा साहित्यकार र साहित्यप्रेमीको उल्लेख्य सहभागिता रहृयो । गण्डकी अञ्चल साहित्य सम्मेलन तथा गोष्ठीमा सहभागी हुन नेपाली लेखक सङ्घ, कास्कीको निम्तोमा भेला भएका थियौँ हामी ।

६० वर्षअघि गठन भएको नेपाली लेखक सङ्घको आफ्नै इतिहास, छ, वर्तमान अलि पट्यारलाग्दो भएकै हो, गतिविधि प्रायः शून्य जस्तै । कास्की शाखाले झकझक्याएपछि अब लेखक सङ्घले आफ्नो गतिविधि बढाउने विश्वास धेरैले लिए सम्मेलनमा ।

भानुभक्त, मोतीराम, लेखनाथ, सम, देवकोटा, धरणीधर, सिद्धिचरण, पारिजात, भूपि शेरचन आदिका तस्वीर वरपर राखिएको पृथ्वीनारायण बहुमुखी क्याम्पसको सभाकक्षमा स्रष्टाहरू छरिएर बसेका थिए । प्रमुख अतिथिका रूपमा पोखरा पुग्नु भएका डा. ध्रुवचन्द्र गौतम, डा. गोविन्दराज भट्टराई, डा. बेञ्जू शर्मा, डा. तुलसी भट्टराई, डा. विष्णु विभु घिमिरे, डा. ज्ञानू पाण्डे, डा. लक्ष्मणप्रसाद गौतमसहितको हाम्रो टोलीको स्वागतमा डा. कुसभाकर न्यौपाने उभिनुभएको थियो ।

नेपाली लेखक सङ्घ, कस्कीका अध्यक्ष डा. लक्ष्मीशरण अधिकारीको सभापतित्व, आख्यान जगत्का प्रसिद्ध व्यक्तित्व डा. ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्य, समालोचक डा. तुलसी भट्टराईको विशिष्ट आतिथ्यमा कम्प्युटर चलाएर डा. गौतमले कार्यक्रमको उद्घाटन अर्थात् जेठ ३ गते दिनको २ बजे सम्पन्न भएको थियो । अघिल्लो दिन चार घण्टे कार्यक्रममा सम्बोधन, मन्तव्य र कार्यपत्र प्रस्तुति, भोलिपल्ट सम्बोधन, मन्तव्य, कार्यपत्र र कवि गोष्ठीमा बाँडिएको थियो । यस बीचमा लालबहादुर, हरिबहादुर लगायत गन्धर्वहरूको सङ्गीत प्रस्तुति, लोकगायक अर्जुन गैरेको प्रस्तुति, गन्धर्वहरूको सम्मान, कलाकार एवं कला समीक्षक मुकेश मल्ल, स्रष्टा सरूभक्त, तीर्थ श्रेष्ठ, क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोइराला, डा. ओम शर्मा, डा. पशुपति तिमल्सिना, डा. बेञ्जू शर्मा, कार्यक्रम संयोजक डा. कुसमाकर न्यौपानेको शुभकामना मन्तव्य व्यक्त भएका थिए ।

डा. तुलसी भट्टराईको सभापतित्वमा दोस्रो सत्र थालिएपछि डा. गोविन्दराज भट्टराईको सिर्जना र लेखन स्वतन्त्रता, डा. कुसमाकर न्यौपानेको कर्खा विषयक कार्यपत्र प्रस्तुत भए । डा. न्यौपानेको कार्यपत्रमा गन्धर्वहरूको गीत, स्थानलाई प्रस्तुत गर्दै बूँदागत रूपमा कर्खाको समग्र जानकारी दृश्य मार्फत् प्रस्तुत गरिएको थियो । वर्तमान परिप्रेक्ष्यमा लेखकको भूमिका शीर्षकमा डा. ओम शर्माले, वी.पी. कोइरालाको औपन्यासिक यात्रा बारे डा. ज्ञानू पाण्डेको कार्यपत्र प्रस्तुत भए । बुद्ध जयन्तीको दिन दोस्रो दिन सोही सभाकक्षमा डा. बेञ्जु शर्माले प्रमुख आतिथ्य डा. विष्णु विभुले सभापतित्व गरेपछि कवयत्री सरस्वती शर्मा ‘जिज्ञासु’ को उद्घाटन कविता वाचनबाट कार्यक्रम थालियो । यसपछि सरूभक्त, देवीप्रसाद वनवासी, मुकेश मल्ल, हरिविनोद अधिकारी, ध्रुव मधिकर्मी, डा. बेञ्जू शर्मा, रमेश श्रेष्ठ, हनिफ मियाँ, तेजनारायण अधिकारी, लक्ष्मण थापा, विष्णुहरि घिमिरे, रमा पराशर, दीपक समीप, रामचन्द्र शास्त्री, सरस्वती सरू, सरस्वती ‘प्रतीक्षा’ आदिले कविता वाचन गरे । बीचमा डा. लक्ष्मण गौतम, कृष्ण धरावासीका समकालीन नेपाली कविता र साहित्य लेखनबारे कार्यपत्र प्रस्तुत भएपछि सुधा भट्टराई, हरिदेवी कोइराला, धर्मेन्द्र विक्रम, ठाकुर वेलवासे, नारायण चालिसे, आनन्द घिमिरे, डा. बलराम उपाध्याय, कमलामोहन वाग्ले,गणेश शर्मा आदिका कविता गीत गजल प्रस्तुत भए । आनन्दमणि रिजालको प्रतिवेदन, भानु कँडेलको धन्यवादपछि सभापति डा. विष्णुविभुले सभा विसर्जन गर्नुभयो ।

साहित्यिक गतिविधि, कला सिर्जना, लोकसंस्कृतिमा सक्रिय र नाम कमाएको पोखरामा नेपाली लेखक सङ्घ, कास्कीको यो प्रयत्न र सक्रियताले पोखराको साहित्यिक गतिविधि थपिएको छ । काठमाडौँ, स्याङ्जा, तनहुँ आदिबाट पोखरा पुगेका स्रष्टाहरूको स्वागत सत्कार कार्यक्रम संयोजन, व्यवस्थापन आदिमा व्यस्त आयोजकहरू त्यसमा पनि सात सातवटा कार्यपत्र प्रस्तुत, ५० भन्दा बढीका कविता गजल मन्तव्य, भेटघाट परिचय कार्यक्रम सबै जोड्दा दौडादौडमै सहभागी व्यस्त भए । काठमाडौँबाट डा. तुलसी भट्टराई, डा. विष्णुविभुको सक्रियता र निम्तोमा पोखरा पुगेका स्रष्टा र गण्डकीका विभिन्न जिल्लाबाट आएका स्रष्टाहरूबीचको अन्तक्रिया कार्यक्रमका उल्लेख्यपक्ष रहे । दौडादौडबीच सम्पन्न कार्यक्रममा कार्यपत्र प्रस्तुति अलि कम भएको भए, कवि गोष्ठीमा केही कविता मात्र वाचन भइदिएको भए छोटो समयमै चुस्त कार्यक्रम बन्ने थियो तर बिहान बेलुकाको समयमा कार्यक्रममाथि कार्यक्रम थपिँदै जाँदा समय अलि बढी नै लियो । समय सीमामा बाँधिएर कार्यक्रम आयोजना हुन सकेको भए सुनमा सुगन्ध हुने थियो र पनि भन्नैपर्छ नेपाली लेखक सङ्घको सोच, सक्रियताले कास्की मात्र होइन अन्य जिल्लालाई घचघच्याउन आयोजक सफल भए । लेखक संघको सक्रियताले निरन्तरता पाओस् ।

गोरखापत्र शनिबार
जेठ ७, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *