नवदित कवयित्री एवं कथाकार कमला श्रेष्ठद्वारा रचित ‘जीवन एक परिक्रमा’ नामक पुस्तक भर्खरै बजारमा आएको छ । बौद्धिक आकारको कभर आवरणभित्रको पुस्तक सुन्दर बनेको छ ।
‘जीवन एक परिक्रमा’भित्र- शुभेच्छा पत्र, प्रकाशकीय, बेरोजगारहरू बेफुर्सदीहरू, कविता कस्तो हुन्छ, रक्सी अमृत भए, गीत जीवन एक सपना, नारीको विवशता, जीवन, खाली कागज, ठगिएको भाग्य, ‘जीवन एक परिक्रमा’, बेसहारा जीवन, गजल, मरेर जिउँदैछु, संसारमा एक्लै छु, मेरो कथा, र ईश्वरको अर्को रुपः नारी, फूल आफ्नै निम्ति फुल्छु, लक्ष्यविहीन यात्री, कसैलाई गुनासो पोखिन, विडम्बना, जिउँदैछु, प्रश्नोत्तर, आदर्शको दुःख, पुरानो मन्दिर, कोपिलामै बगर भो जिन्दगी, निर्रथक जिन्दगी, रहर, चार टुक्रा कविता र सेतो गुलाफको फूल कथा गरी जम्मा तीसवटा कविता, एक कथा र दुई अन्य गरी ३६ वटा रचनाहरू रहेको ‘जीवन एक परिक्रमा’ हुने विरुवाको चिल्लो पात भने अवश्य छ । सर्सती पुस्तक पढ्दा नवोदित प्रतिभा कमलामा तमाम प्रतिभाहरूमा हुने नून, भुटुन र अन्य मरमसलाहरू मनग्गै रहेका छन् । मोहन दुवालका अनुसार ‘अभ्यास र अध्ययनपछि कविता बन्दै जान्छन्’ भनेझैं कवयित्रीमा अध्यापन, साधन र आराधना अझै मनग्गै गर्नुपर्ने सल्लाह दिन्छु ।
प्रस्तुतः संग्रहका भावना र भोगाईहरू आमा कवि, साहित्यकारहरूमा मिल्नेजुल्ने छन्, कवयित्रीले आमसमयलाई बेरोजगार बनाएकी छन् । उनी भन्छिन्- फुर्सद छैन उनीहरूलाई । कसैलाई सहयोग गर्न फुर्सद छैन । भट्टीभित्र, बोतलभित्र हराएका यथार्थ र अबलाको अस्तित्वको कुरा पनि उठाएकी छन् कवयित्रीले । उदाहरणको लागि-
बेरोजगार छन् मेरा समयहरू
तर खोई – कुनै अबलाले अस्तित्वको
भिख माग्दा उठेनन् ती तिम्रा हातहरू
पीडाले चिच्याउँदा चिच्याउँदै लाश बन्छन्
तर सुनेका छौ – ती आवाजहरू
त्यसैले म भन्छु
तिमी निस्क्रिय भएर पनि
बेचिएको शरीर लिएर ।
कविता लेख्न प्रसंग नभेट्टाएर लेखेको कुरो मीठो नलागी नलागी कविता निबन्ध बनेको हो कि भन्ने शंकामा कवयित्री चिन्ताग्रस्त देखिन्छिन् । उदाहरणको लागि-
यो मेरो कविता हैन
तर कविता आफैलाई चित्त बुझ्दैन
खै ! कविता कस्तो हुन्छ….
कविताको कुरा गर्दागर्दै पेज नम्बर ५ मा गीत आउँछ । गीतमा विष पिउन नसकेको र बाँच्ने आँट नै नआएको पंक्ति यादले पिलाएको कुरा स्पष्ट बोलेको छ । उदाहरणको लागि-
मदिरा पिउन सकेछु, विष पिउन सकिनँ
बेहोस नभई एकदिन पनि बाँच्ने आँटै आएन
रुन मैले सकेछु, हाँस्न मैले सकिन
नरोई एकदिन पनि जिउने आँटै भएन
जिउने रहरमा होइन, पिउने रहरमा पिउँदैछु
पिइरहेछु मैले आफू आफैलाई पिउँदैछु ।
यस्तै जीवन छ, जगत छ र नारीमा वेदना छट्पटी छ । कतै जीवनको व्याख्या छ, मौनता छ, सृष्टि र सन्तुष्टि देखिएको छ । उता, अब अंगाल्ने कोशिस नगर भन्दै कसैलाई होशियार बनाएको छ । मलाई बिर्सिदेऊ भनी माया मार्ने काम पनि भएको छ । प्रस्तुत संग्रहमा मुक्तकहरू पनि रहेका छन्, हेरौं आँशु पिउने हरफहरू-
तिम्रो हर खुशीको लागि आँशु पनि पिइदिएकी छु
तिम्रो सारा इच्छाको लागि रोएर पनि हाँस्न सकेकी छु
मैले आँशु थोपा बहाएर नयनलाई निर्मल बनाएकी छु
आफ्ना सारा खुशी त्यागेर तिम्रो लागि बाँचिरहेकी छु ।
सेतो गुलाफ
‘मेरो प्रश्नले ऊ अञ्जान बनेर भन्छ, झ्याल खोल, स्वच्छ हावा त आउन देऊ भनेर विछ्यौनामा पल्टन्छ ।’
म उनको त्यो व्यवहार सहन सक्दिन र भन्छु- यस घरमा सबै कृतिमता छ, सबै नक्कली, देखावटी छ, तिमीलाई यो प्राकृतिक हावाको जरुरत के छ – यति भन्दाभन्दै म आवेशमा भन्छु- आज यो समयसम्म तिम्रो चाहनामा म बाधक बनिन तर आज म बाँझी शब्द सहन सक्दिन ….. ।
यसरी सोधे सबै भन्छन्, बेरोजगार छन्, मेरा कवितात्मक शब्दबाट सुरु भएको प्रस्तुत संग्रह म तिमीलाई अगाढ प्रेम गर्छु, यसैले मेरो प्रेमले सहन सकने । तर, एक सेतो गुलाफलको फूलले मेरो पराजय भयो । म तिमीसँग पराजित भएँ । त्यसैले मलाई माफी देऊ, यही संग्रहभित्रका आम रचना सकिन्छ ।
अन्त्यमा, नवोदिन कवयित्रीको प्रयास सुन्दर छ । अब झल्कने सूर्योदयले परिपक्व र उत्कृष्ट रचना जन्माउने छ भन्ने आशा राख्दै आजलाई… ।
कृतिको नामः ‘जीवन एक परिक्रमा’ ।
कवयित्री एवं कथाकारः कमला श्रेष्ठ प्रधान
प्रकाशनः टिसिएस इन्टनेशनल पब्लिकेसन, काठमाडौं
मूल्यः रु २५/
पुस्तक प्राप्तिका लागि हुलाक खर्च मात्र पठाउनु भएमा पुस्तक प्रेषित गरिदिने छु । विदेशमा डलर ५, रियाल १०, नेपालमा रु: ५०
पत्र रजिष्टरी गर्नुहोला ।
कमला श्रेष्ठ प्रधान, पोब नं: ४३५५, काठमाडौ, नेपाल ।
