Skip to content


“……आजभोलि चुपचाप
साँझ..ओर्लेर..वस्ती तर्साउने गर्छ
चुपचाप चुपचाप रात ओर्लेर
गाउँ तर्साउने गर्छ
सहर तर्साउने गर्छ ।”

कवयित्री सरस्वती श्रेष्ठ ‘सरु’ मान्छेको वस्तीमा साँझ अनि रातको घना उपस्थिति रहेको जनाउँछिन्, आफ्नो नवीतम कविताकृति ‘एक झुल्को घाम ओर्लेर सडकमा’ मार्फत । साँझ वा रातको अर्थ हो अन्धकार हुनु र अन्धकार फैलिँदै जानु । स्वभावतः अन्धकार डरलाग्दो हुन्छ । कवयित्रीलाई थाहा छ, उज्यालोको विरोधी हो अन्धकार । त्यो सधैँ घामको विपक्षमा उभिएको हुन्छ ।

उनी घामको खोजीमा छिन्, अन्धकार हटाउन/अन्धकार हटाउन उनी शब्दका प्रहार गर्छिन् र अन्धकारका ढिस्काहरू भत्काउन चाहन्छिन् । तबसम्म यस्तो चाह राख्छिन् जबसम्म उज्यालाका झिल्काहरू मनमा तरङ्गित हुँदैनन् । स्पष्ट रूपमा भन्नुपर्दा, उनी घामका किरण छर्न चाहन्छिन् ।

एक अर्थमा घाम ‘फूल’ हो, फक्रेको फूल । यही फक्रदो फूल प्रत्येक झोपडीहरूमा फुलाउन चाहन्छिन् उनी । यस दृष्टिकोणबाट सरस्वती श्रेष्ठ ‘सरु’ प्रगतिशील सोचबाट प्रभावित रहेकी देखिन्छन् एउटै समाजमा कोही भोकै छन्! तिनै भोकाहरूको फाइदा उठाइरहेछन् अर्का प्रकारका विशिष्ट मानिएका मान्छेहरू । जो अँध्यारोलाई झन् झन् घोर अन्धकार पार्ने कोसिस गरिरहेकाछन् । यस्तो असमान स्थितिको यो सामाजिक कुव्यवस्थाप्रति कवयित्री सरु सचेत मानसिकता लिएर देखा पर्छिन् र आहृवान गर्छिन्-‘नभाग कौवाहरू आफ्ना प्रदेश छाडेर, बरू हटाऊ कुहिरोलाई यो प्रदेशबाट ।’

पुस्तकका अधिकांश कविताहरू विचारप्रधान छन्, भावनात्मक उत्तिकै छन् । त्यसभन्दा बढी संवेदनशील छन् । यिनका अलावा, पाठकले प्रायः सबै कवितामा युगवोध रहेको महसुस गर्न सक्छन् । समयको यथार्थ रूप उनका कविताहरूको विशेष पक्ष हो । पहाड उक्लने कान्छाहरूको काव्यिक वर्णन छ, एउटा कवितामा – जो पहाडजत्तिकै गह्रौं भारी बोकेर पहाड उक्लिरहेका छन् । त्यो पहाड भोकको पहाड, प्यासको पहाड, रोगको पहाड, शोकको पहाड, पीडाको पहाड, अर्थात् गरिबीको पहाड ।

यसै सङ्ग्रहभित्र केही फरक धारका कविता पनि रहेका छन् । जस्तो कि, रोमान्टिक तबरले लेखिएका रातो गुलाबको कवितामा रातो गुलाबको प्रतीक बनाइएको बैंसमा उन्मत्त युवतीको तस्बिर छ । आकर्षक आवरणमा प्रकाशित ‘एक झुल्को घाम ओर्लेर सडकमा’ पुस्तक यस अर्थमा पनि पाठकका निम्ति रुचिकर हुनेछ कि आजको सशक्त कविहरू तीर्थ श्रेष्ठ र सरुभक्तले पुस्तकका कविता र यसका स्रष्टाका बारेमा उच्च मूल्याङ्कन गरेका छन् । “तिम्रा कविताहरू पढ्दा मलाई सधैँ एक प्रकारको ईर्ष्या हुन्छ । त्यो ईर्ष्याले पीडा दिँदैन-प्रेरणा दिन्छ । कविता लेख्ने हुटहुटी जगाउँछ …” (तीर्थ श्रेष्ठ) “समकालीन देशका पीडाहरू, समकालीन देशका अभिशापहरू, समकालीन देशका जीवनहरूको एउटा समकालीन विम्ब सञ्चयन हो, यो एक झुल्को घाम…” (सरुभक्त) । सडकमा कविता पढेर ताली पाएका भरमा तथाकथित कविको पगरी गुँथ्ने कलमवाजहरूका माझमा एक नारी स्रष्टा सरस्वती श्रेष्ठ ‘सरु’ जो तिनका लागि चुनौती बन्नेछिन्, बनेकी छिन्! पुस्तक चित्रका कविताहरू स्वयम् साक्षी बकिरहेका छन् ।

कृति ः एक झुल्को घाम ओर्लेर सडकमा
कवयित्री ः सरस्वती श्रेष्ठ ‘सरु’
प्रकाशक ः पोखरेली युवा सांस्कृतिक परिवार, पोखरा
प्रकाशन ः २०६७, असोज
पृष्ठ ः ८८+२५
मूल्य ः रु. १२५।-

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *