Skip to content


अहिलेसम्म एउटै हरफ पनि नलेखिएको पाना
प्रथम मुस्कुराहटको उज्यालोले ढकढक्याएपछि
खुलेको छ
म लेखिएको थिएँ त्यहाँ
सानो जवाफको रूपमा ।
यसको सेतोपनमा
यो शब्दहरूको लागि करिबकरिब जवाफ हुनेछ
बुकमार्कजस्तो केही प्रश्नहरू र गल्तीहरूलाई राख्तै
मैले लेख्न कहिले प्रारम्भ गरेँ ?
नवजात शिशुको सेतो कपडा हो पहिलो पाना
विवाहको लुगाको सेतो रङ हो
दोस्रो पानामा प्रवेश गर्ने ढोका
उकालो चढ्दा वा ओरालो झर्दाको मेरो आफ्नो अनुभव
कुनै ठाउँ खाली नछोडी बाटोभरि लेखिएकोजस्तो
म आफू सेतो कात्रोमा नबेरिएसम्म
लेखिनका लागि अझै हुनेछन् खाली स्थानहरू ।
कसैको उत्तेजक हात फैलन्छ
यो प्रारम्भ हो
लेखनको ढाँचाजस्तो मलाई विचारपूर्वक काममा लगाउने
त्यहाँ त्यस्तो केही चीज छ भन्ने विश्वास गर्दै…..।
कृपया हरफहरूको बीचमा पढ्नुहोस् !
हावाको कडा प्रहारजस्तो बोलिरहेको आवाज
यसले पानाहरूलाई पल्टाउँछ
नलेखिएका खाली स्थानहरूलाई हेर्दै ।

(जापानी कवयित्री चिकाय तानिगुचीको जन्म जापानको पुरानो मन्चुरियामा भएको हो । उनी मन्चुरियाबाट क्युसुमा परिवारका साथ बसाइँ सरिन् । टोकियोको प्रसिद्ध वाजेदा विश्वविद्यालयमा अध्ययन गर्दाको समयदेखि उनी कविता लेख्न थालिन् । उनका ‘नक बाई फस्ट बिम’, ‘एन्जेल इन ब्ल्याक लाइट’ तथा अन्य कविताका पुस्तकहरू प्रकाशित छन् । उनका कविताका पुस्तकहरू अङ्ग्रेजी भाषामा समेत अनूदित भई प्रकाशित छन् । उनी जापान पेन क्लब र मोर्डन पोइट्री क्रियटिभ गु्रप चिक्युकी सदस्य हुन् भने इन्टरनेसनल एक्सचेन्ज अफ जापान पोएट्स क्लबकी निर्देशक हुन् । प्रस्तुत कविता उनको ‘ले पेटिट कडेअउ’ नामको सानो विशेष संस्करण, २००६ बाट अनुवाद गरिएको हो ।)

अनुवादक ः भीष्म उप्रेती

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *