Skip to content

हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाऐ पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि पनि चढेर हिंडने एकोटा जनावरको प्रबन्ध गरिदिएका छन्। जस्तै- विष्णुलाई गरुड, देवीलाई बाघ, यमराजलाई राँगो र गणेशलाई मुसो। आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सट्टा हेलिकोप्टर दिइँदो हो। यस्तै आरुलाई पनि दर्जा हेरी कार, स्कुटर, रिक्सा, साइकल आदि वितरण गर्दै गणेशजीलाई चाहिं गाडाकै प्रबन्ध गरिन्थ्यो कि? भन्नाको मतलब आजका हिन्दूले महादेवको बन्दोबस्त गर्नुपरेको भए वा महादेव अहिलेसम्म रहेका भए त्यही साँढे चढी के हिंड्दा हुन्? यताउति हिंड्न कमसेकम एउटा मर्सिडिज कार र हिमालयमा ससुराली जान एउटा विशेष किसिमको हेलिकोप्टर त उनीलाई चाहिन्थ्यो, चाहिन्थ्यो। तर जान दिऊँ उस बेला जे भयो, भयो। महादेवको विशेष वाहनमा श्रीमान् साँढे नै नियुक्त भयो।

त्यति उच्च ओहदामा नियुक्ति पाउने योग्यता साँढेसित के थियो र भन्ने प्रश्न उठाउने आवश्यकता नै छैन। कारण योग्यताभन्दा माथिका दुइटा महायोग्यता ऊसित थिए। पहिलो त साँढे भनेको गाईको साक्खै लोग्ने हो, उसकी श्रीमतीसिति आमाजस्तै एउटा धार्मिक साइनो हाम्रो लागेको छ। यही साइनोले उपल्लो नातेदार भएको साँढेलाई तल्लो ओहदामा राख्ता उसको प्रतिष्ठा घट्ने कुरा त छँदै छ, दुनियाँमा नसनाताको महत्त्व नासिंदै जान बेर छैन। साँढेको अर्को महायोग्यता हो उसको फुँकार। आध्यात्मिक जगतमा ओंकारको जति महत्त्व छ व्यवहारिक जगतमा फुँकारको उत्तिकै महत्व छ भन्ने कुराको ज्वलन्त प्रतीक साँढेले पाएको सम्मान हो। ऊ रुष्ट भयो भने पर्खाल भत्काउन, बाली बेमाख पार्न र फाँक्क र फुँक्क गरी मान्छे हान्न सक्छ, त्यसैले उसलाई एउटा माथिल्लो पदमा सुशोभित गरिदिन पाए जुरो नचाउँदै जिभ्रो मिठ्याइरहन्छ, सायद यही सोचेर उसलाई त्यत्रो ओहदा प्रदान गरिएको हि कि? जे होस्-

महादेवको विशेष वाहनमा नियुक्त भएकोले साँढेको चुरीफुरी निश्चय नै कुनै मन्त्रीको पीएको भन्दा कम छैन। मन्त्रीज्यूको आदेश खोज्नेले पीएलाई सिझाउनुपर्छे भन्ने पद्धतिको श्रीगणेश नै हिन्दूहरुले साँढेबाट गरेका छन्। त्यसैले पशुपतिनाथको दर्शन गर्नुभन्दा पहिले उनको अगाडि लँगौटीसमेत नलगाएर गजधम्म बसेको लबस्तरो साँढेलाई साष्टाङ्ग प्रणाम गर्नुपर्छ। बाली फाँडोस् कि मान्छेलाई हानोस् उसलाई लट्ठी देखाउनु महापाप ठानिन्छ। जिमीदारले जतिसुकै अत्याचार र व्यभिचार गरे पनि नेपाली किसानले ठूलाबडासित जोरी खोज्नु हुन्न भनी सहनुपरेझैं हिन्दूहरुले साँढेको अत्याचार सहँदै आएका छन्। साँढेको सिङमा हाम्रो इहलोकको भाग्य निर्भर गर्छ भने साँढेको पुच्छर परलोकको निम्ति वैतरणीको झोलुङ्गे पुल हुन्छ रे! वृषोत्सर्ग हिन्दूको तर्ने उत्सव, गाईपुत्रले आजीवन छाडा हुने अधिकार पाउँछ – साँढा भएर खाने बिर्ता पाउँछ। उब्जाउने र कमाउने झन्झट साँढेलाई पर्दैन। तर अपशोच के भने साँढे हुने सौभाग्य दुई-चार भाग्यमानीले मात्र पाउँछन्, बहुसंख्यक गाईपुत्रहरुको निम्ति त बालकैमा भेसेक्टोमी गरेर मुखमा पेरुङगो लगाई काँधमा जुवा बोक्नु सिवाय अर्को बाटो रहँदैन। त्यसैले साँढे सामन्त हुन्छ, गोरु सर्वहारा। साँढे गोरा झैं रजाइँ गर्छ, गोरु निग्रा झैं कजिन्छ; साँढे शक्तिपूर्ण स्वतन्त्र र स्वच्छन्द नेता वर्गमा पुग्छ गोरु लुरेलाम्रे जनता!

साँढेको आफ्नो खुबी फुँकारर मात्र हो हुन त, जेजति अहङ्कार उसमा चढ्छ त्यो त्रिशुलको प्रतापको फल हो। यसो भनेर साँढेको सम्पूर्ण प्रसिद्धि महादेवको वाहन हुनाले मात्र भएको भन्नुचाहिं गाईको बेइज्जत गर्नु हो। उच्च ओहदामा पुग्ने श्रीमतीका श्रीमानले’चिन्नुभएन? म फलानीकी श्रीमान हुँ’ भनी फुलेर परिचय दिएझैं साँढे पनि जुरो नचाउँदै गर्व गर्छ- ‘म गौमाताको पतिदेव हुँ।’ मास्टरकी श्रीमतीलाई वर्णमाला नखारीकनै मास्टर्नी मान दिएझैं दिने हो भने साँढे पदेन हाम्रो गौपिता हो। पतिको अस्तित्वबिना पत्नीको अस्तित्व आधा हुने हाम्रो संस्कार अनुरुप गाईलाई मान्दा साँढेलाई नमान्नु आधा गाईको पूजा गर्नुजस्तै हो। तर यस तथ्यलाई कत्ति ध्यान नदिई हामी गाईतिहार मान्छौं, साँढेतिहार मान्दैनौं, गाईजात्रा गर्छौं, साँढेजात्रा गर्दैनौं। यो हेर्दा आफैंले सम्मान गरेको साँढेको आफैंले अपमान गर्न खोजेजस्तो लाग्छ। गाईतिहार, गोरुतिहार मानी साँढेतिहार नमान्नु जनाना र नामर्दको अगाडि पुरुषको उपेक्षा गर्नु होइन र?

तर होइन, छोरीले राजीनामा दिएको भोलिपल्ट ‘ज्वाइँ न स्वाइँ अगुल्टाले च्वाइँ’ भनेझैं गाईमैयाँले छाडिदिनासाथ राँको बालेर साँढे लखेट्ने चलन पनि यहाँ देखिएको छ। हाम्रो संस्कारमा जेसुकै होस्, व्यवहारमा गाईको निम्ति ‘उक्तदान’ बाहेक साँढेको अरु योगदान

के हुन्छ र? जिभ्रोमा लोभ, जुरोमा अहङ्कार, सिङमा रिस र मनमा ईख लिएको साँढे वास्तवमा फाँटफाँडा र समाजभाँडा तत्त्व हो, जो एक अर्कोसँग मिलेर बाँच्न सक्तैन। एकले अर्कोलाई देख्नासाथ भुइँ खोस्रँदै होक्काँ गर्छ र जुध्न थालिहाल्छ। कोही नपाए भित्तैमा पनि सिङौरी खेलेर तुजुक शान्त पार्ने साँढेको प्रवित्तिले मान्छेमा पनि साँढा हुने रहर जगाइदिन्छ। त्यसैले हामी कान्जी हाउस बनाएर थुन्न खोज्छौं, साँढेहेरुभनेर चिच्च्याउँछौं, साँढेहरु होक्काँ-होक्काँ गर्दै जुधीरहन्छन्, सम्भव छ एक दिन दुई-चारओटा हान्ने साँढेको जुधाइमा संसारका सम्पूर्ण शान्तिप्रिय बाच्छाहरु किचिन के बेर? मिचिन के बेर?

अर्पणबाट परिवर्तित

1 thought on “साँढे”

  1. Bhairab Aryal is one of the
    Bhairab Aryal is one of the awesome writer. Its typical sattire to the things happening around us. I love his writings since i read his “Jaya BHudi” when i was on grade Nine. He is writing style is much different from other common piece of writing!

Leave a Reply

Your email address will not be published. Required fields are marked *