लन्डन बसाइका क्रममा एकपटक मेडम टुसाउड छिर्ने लालसा मनभित्र बलियोसँग टाँसिएको थियो। जनवरीको मौसममा चिसोको बयान गरसिक्नु थिएन। आकाशबाट फुसफुस झररिहेको हिउँका थेग्लाहरूले शरीर काँपिरहेको थियो। म परिवारसमेत त्यो मुटु कमाउने जाडोमा निस्कने हिम्मत जुटाउन सकिरहेको थिइनँ। जाडोको साम्राज्य दिनभर कायम रहने संकेत बिहानीले दिइसकेकाले श्रीमती र बालबच्चा ह्याक्नी विकमा नै छोडेर ११ बजेतिर म एक्लै निस्किएँ लन्डनको जाडोसँग सिँगौरी खेल्न।
जाडो पचेका बेलायतीहरूको बाक्लै उपस्थिति थियो सडकमा। मान्छेहरूको त्यो बाक्लो भीडमा एक्लै थिएँ म। कसैलाई कसैको चासो थिएन। १२/१३ दिन लन्डन घुमिसकेकाले मलाई अब लन्डनका सडकमा कुद्ने बसहरूका रुट थाहा भइसकेका थियो। मैले मेडम टुसाउडका बारेमा अघिल्लो दिन नै जानकारी लिइसकेको थिएँ। बस स्टेसनको सिसामा १३, १८, २७ र ३० नम्बरका बसहरू बेकर स्ट्रिटको रुटमा जाने जानकारी टाँसिएको थियो। सोही अनुसार म बेकर स्ट्रिटतर्फ लागेँ बसमा।
बेकर स्ट्रिटसँगै जोडिएको मेरलिबोनरोडमा रहेछ मेडम टुसाउड। सडकको किनारमै गोलो टोपी घोप्ट्याएर राखेजस्तै हरयिो छानो भएको घरमा रहेछ मेडम टुसाउड। मनभरि कौतूहलको पोको बोकेर पुगेँ म मेडम टुसाउडको गेटमा। बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेछ खुल्ने समय। मन ढुक्क भयो। छुट्टाछुट्टै प्रयोजनका लागि पाँचवटा प्रवेशद्वार रहेछन्। तत्कालै टिकट काटेर प्रवेश गर्नेहरूका लागि रहेछ १ नम्बर द्वार। अन्य द्वारहरू अनलाइन टिकट काट्नेहरू, वाषिर्क पास होल्डरहरू र सामूहिक भ्रमणमा आएकाहरूका लागि भएकाले २५ पाउन्डको टिकट काटी १ नम्बर द्वारबाट प्रवेश गरेँ मैले। विभिन्न सुरक्षा जाँचपास गरेपछि मात्र म मेडम टुसाउडको पहिलो आकर्षणको रूपमा रहेको अ लिस्ट पार्टी हलमा पुगेँ। हलमा रहेका मान्छेहरूको घुँइचो देख्दा मलाई इन्द्रजात्रामा वसन्तपुर दरबार क्षेत्रमा लाग्ने दर्शनार्थीहरूको अनुभूति भइरहेको थियो। हलका विभिन्न कुना, मध्यभाग जताततै आ-आफ्नै पोजमा उभिएका थिए हलिउड र बलिउडका नामी फिल्मी हस्तीहरू। सबै आ-आफ्नो मन परेका कलाकारहरूको छेउमा उभिएर दबाउँदै थिए क्यामेराका बटन। मैले पनि त्यही मौका छोपेर क्यामेरामा कैद गरेँ भटाभट। फोटो खिचेर साध्यै थिएन। यस्तो लाग्थ्यो, आफूले फिल्ममा देखेका हस्तीहरू आँखैअगाडि सजीव उभिएका थिए। कलाकारहरूको मिहिनेत र कला अचम्मको थियो।
सायद रङ, पहिरन र संस्कारले पनि होला मैले पहिला अमिताभ बच्चन र ऐश्वर्या रायको फोटो खिचेँ। यस क्रममै नाओमी क्याम्पबेल, एन्जेलिना जोली, जेसीका सिम्पसन, मार्लिन मुन्रो, ब्राड पिट, आर्नोल्ड, स्टेलोनलगायत धेरै हलिउड स्टारहरूसँग फोटो खिचेँ। बुझ्दै जाँदा स्टारहरूको प्रसिद्धिका आधारमा त्यहाँ मूर्ति राखिँदोरहेछ र मेडम टुसाउड यस्तो लोकपि्रयता र प्रसिद्धिको पर्याय रहेछ। फिल्मका आफ्ना पि्रय पात्रहरूसँग आफूखुसी ढंगले फोटो खिच्न पाउँदा मनभित्रको एउटा तृष्णा मेटिएको अनुभवचाहिँ गर्दा रहेछन् सबैले। नत्र किन हुर्रिर्न्थे २५/२५ पाउन्ड महँगो टिकट काटेर यी मैनका मूर्तिहरू हेर्न।
मेडम टुसाउड बाहिरबाट सामान्य देखिए पनि भित्रको फैलावट देखेपछि कताबाट छिरौँ र के के हेरौँ भन्ने हतारोले पिरोल्दो रहेछ। यो फिल्मी कक्ष पार गरेर अ रोयल अपार्टमेन्ट र कल्चर ब्लकमा पुगेपछि मलाई हलिउड र बलिउड स्टारहरूलाई भेटेको क्षणले भन्दा कता हो कता रोमाञ्च र आनन्द दियो।
बेलायती राजपरिवारका सदस्यहरूदेखि लिएर संसारका शक्तिशाली राष्ट्रहरू अमेरिका, बेलायत, चीनलगायत कैयौँ देशका राष्ट्रप्रमुखहरूको उपस्थिति थियो त्यहाँ। संसार हाँक्ने हस्तीहरूको त्यस भीडको कुनामा आइन्सटाइन र पिकासोहरूको पनि कल्पनै गर्न नसकिने मूर्तिहरू देखिए।
एक ठाउँ अब्राहम लिंकन, चर्चिल, मन्डेलाहरूको भीडमा लामो कदको फिडेल क्यास्ट्रो उभिइरहेका थिए हरयिो आर्मी पोसाकमा। तिनलाई जति हेर्दा पनि अघाइनँ म। मेरा आँखा अचानक यही भीडभाडमा खाकी पोसाकमा उभिएको सद्दाम हुसेन र नाकमुनि मात्र जुँगा पालेको हिटलरको अनुहारमा टक्क अडिए। सद्दाम र हिटलर दुवैका अनुहार अत्यन्तै चम्किला र उज्याला थिए। विश्व इतिहासका दुई निरंकुश पात्रलाई बेलायतजस्तो प्रजातन्त्रको जननी भनेर चिनिने राष्ट्रले यसरी सम्मानपूर्वक मूर्ति बनाएर राखेको देखेर म अचम्भित भएँ। सद्दामकै आडमा उभिएका थिए लिबियाली तानाशाह कर्नल गद्दाफी। सायद प्रजातान्त्रिक संस्कार भनेको यही होला। सायद बेलायतीहरूले संसारलाई देखाएको उदारता भनेको पनि यही होला।
बाहुनवादको आरोपमा आदिकवि भानुभक्त र महाकवि देवकोटाको सालिक उखेलिएको र सामन्तीको मुद्दा लगाएर पृथ्वीनारायण शाह र राम शाहको सालिक फोरिएको मेरो देशको अवस्था बुझेको मेरो मस्तिष्कमा अनौठो भ्रम सिर्जना भइरहेको थियो त्यसबेला। परविर्तनको बहानामा इतिहास भत्काएर पुराना नामहरू मेटी धमाधम नयाँ न्वारानहरू गररिहेको धमिलो वर्तमान भोगेको एउटा नेपाली हुनुको अर्थमा बेलायतीहरूको त्यस उदारतादेखि म नतमस्तक हुनपुगेँ। मलाई निरंकुश नै भए पनि, क्रूर नै भए पनि सद्दाम र हिटलरको समीपमा उभिएर फोटो खिच्ने रहर पलायो। किनभने, जति नै क्रूर भए पनि त्यो इतिहास थियो। मैले तत्कालै सद्दाम र हिटलरलाई आफूसँग कैद गरेँ क्यामरामा।
मेरै सामुन्नेमा सद्दामसँग बसेर फोटो खिच्नेहरू धेरै थिए। तीमध्ये कतिले सद्दामको घाँटीमा दुई हातले निचोरेर पनि फोटो खिचे। कसैले सद्दामलाई मुड्की ताकेर फोटो खिचे। त्यो फेरि अर्को स्वतन्त्रताको नमुना थियो। कमसेकम सद्दामलाई मन पराउनेहरूलाई अँगालो मार्ने र मन नपराउनेहरूलाई मुड्की ताक्ने अवसर त मिल्यो मेडम टुसाउडमा। जसले माने पनि नमाने पनि कुनै दिन विश्वका शक्तिशाली भनाउँदाहरूलाई तर्साउन सद्दामको फोटो र नाम नै काफी थियो।
हिटलरलाई मैले पढेको मात्र हुँ तर सद्दाम मेरै समयको भएकाले मैले उसलाई धेरैपटक टेलिभिजनको पर्दामा देखेको हुँ। उसलाई फाँसी दिइँदैको समयमा मैले उसको क्रूरता र निरंकुशतालाई बिर्सेको थिएँ। मभित्रको मानवीयताले उसको मृत्युदण्डलाई स्वीकारेको थिएन। यद्यपि, ऊ मर्दामर्दै पनि बहादुरीको मृत्यु मररिहेको छजस्तो लागिरहेको थियो मलाई। आफूलाई शाक्तिशाली ठान्नेहरू सद्दामको छायादेखि पनि डराइरहेका थिए त्यतिबेला। उसको साहस र अडानलाई मैले मनबाटै सलाम गरेको थिएँ। त्यसैले पनि होला, सद्दामको मूर्तिअगाडि धेरैबेर उभिएर टोलाएँछु म।
सद्दामको गठिलो शरीर र हँसिलो मुहारमा मैले त्यही जीवित सद्दामको कान्ति देखिरहेको थिएँ। अहिल्यै बन्दुक बोकेर फेरि लडाइँको मोर्चा सम्हाल्न हिँड्लाजस्तै देखिएको सद्दामको मूर्तिलाई यति सम्मानका साथ राखेर संसारभरकिा मान्छेलाई हेर्ने अवसर दिने मेडम टुसाउडलाई मनमनै धन्यवाद दिएँ मैले। इतिहासलाई यति नजिकबाट साक्षात्कार गर्ने अवसर पाउँदा मन खुसीले उत्पात् मात्तिएको थियो।
बेलायतीहरूले सद्दामको मूर्ति बनाएर देखाएजस्तै गरी मेरो देशका भावी पुस्ताले पनि मुलुकका इतिहासका पात्रहरूलाई साक्षात्कार गर्न पाउनुपर्छ भन्ने भावना पाकिरहेको थियो मभित्र। हरेक जनतालाई इतिहासका पात्रहरूको सालिकअगाडि उभिएर श्रद्धा लागेमा फूल चढाउने र घृणा लागेमा थुक्ने अवसर मिल्नुपर्छ। तर, इतिहास नै नामेट पार्नु हुँदैन। इतिहास मेट्न खोज्ने मेरो देशका नवबुद्धिजीवीहरूले सद्दाम र हिटलरजस्तो वर्तमान विश्वकै दुष्टहरूको मूर्ति ठड्याएर राख्ने बेलायतीहरूको प्रजातान्त्रिक संस्कारबाट केही सिक्नुपर्ने हो कि जस्तो लागिरहेको थियो मलाई।
मेडम टुसाउडमा चर्चिलसँगै हिटलर अटाएको थियो। मन्डेलासँगै सद्दाम अटाएको थियो। लिंकनसँगै फिडेल क्यास्ट्रो अटाएको थियो। समग्रमा विख्यात, कुख्यात सबै इतिहास अटाएको थियो त्यहाँ। भगवान्हरूलाई ढोग्ने अवसर थियो। दुष्टहरूलाई थुक्ने अवसर पनि थियो। वास्तवमा मेडम टुसाउडको यात्रा एउटा रोमाञ्चकारी यात्रा थियो।
मेडम टुसाइडभित्र म धेरैबेर आइन्सटाइन बूढोलाई हेरेर घोत्लिएँ। सेक्सपियरसँग उभिएर रमाएँ। पिकासोको छेउमा बसेर रंगिएँ। एलिजाबेथसँग भलाकुसारी गरेँ। अमिताभलाई अँगालो हालेर लिसोझैँ टासिएँ। नाओभीसँग मातिएँ। सबै अवलोकनपछि फेरि एकपटक सद्दामको अनुहारमा आँखा घुमाएँ। ऊ पहिलाजस्तै यथावत् उभिइरहेको थियो। नजिकै गएर ऊसँग फेरि फोटो खिँचेँ, नजिकैबाट आखा जुधाएँ। यसपटक सालिकको सद्दाम मुसुक्क हाँस्यो, मैले पनि यसलाई हाँसो फर्काएँ। उसले नेपाली भाषामा नै बोल्यो, “मित्र ! मेरो इराक त दुस्मनहरूले पहिला नै ध्वस्त पारसिके। प्रजातन्त्रका नाममा ब्वाँसाहरूले मेरो देशको इज्जतलाई खुलेआम लुटे। म ढलेँ। म ढलेपछि मेरा सालिकहरू ढालियो। मेरो देशको छातीमा असंख्य मिसाइलहरू खसालियो। कति निर्दोष र निर्बोध इराकीहरू मारिए, हिसाबै भएन। अब विदेशी बमहरू पड्किने पालो तिम्रो देशको हो। विदेशी सेनाहरू पस्ने पालो तिम्रो देशको हो। अब रगतको खोलो बग्ने पालो तिम्रो देशको।” ऊ फेरि जस्ताको त्यस्तै मूक भयो। म सद्दामसँग तर्सिएर त्यहाँबाट हिँडेँ। सद्दामको आवाज धेरैबेरसम्म मेरो कानमा गुन्जिरह्यो।
सद्दामको भूतले मलाई लखेटिरह्यो। सद्दामलाई बिर्सन म मेडम टुसाउडभित्रैको स्पिरडि्स अफ लन्डनको कार-यात्रामा लागेँ। विभिन्न समयको लन्डनको इतिहास, कला र संस्कृतिका ऐतिहासिक झलकहरू देखाउँदै कार-यात्रा अगाडि बढ्यो। केहीबेरको कार-यात्रा सकिएपछि मेडम टुसाउडको भ्रमण पनि सकियो। भित्रको वातानुकूलित अवस्थाबाट म फेरि बेकर स्ट्रिटको चिसोमा आइपुगेँ। मेडम टुसाउडका सबै सम्झनाहरूलाई मनभित्र सुरक्षित राख्दै फेरि हान्निएँ म ह्याक्नी विकतर्फ।
बेकर स्ट्रिट छाडेको धेरै बेरसम्म पनि मलाई सद्दामसँगको त्यो भेट र सद्दामको बोलीले बारम्बार चिमोटिरह्यो। बारम्बार तर्साइरह्यो। आजसम्म पनि यदाकदा म सद्दामको त्यो बोलीसँग तर्सिरहन्छु। देशको वर्तमान किचलो देख्दा मनमा चिसो पस्छ कतै सद्दामले भनेजस्तै नियति मेरो देशले भोग्नुपर्ने त होइन। कतै मेरो देशको छातीमा विदेशी सेनाले परेड खेल्ने त होइन? सम्झँदा पनि छाती चिसो हुन थाल्छ।
नेपाल साप्ताहिक ४५०
