Skip to content

गन्नु पर्छ गणकहरुले


देशको सेवामा
गणकहरू छन्,
उनीहरू
आँकडा र आशाको
तस्वीर खिच्दैछन् !
स्यान्जीबुटी,
टिकुलिया र
मैराम्रीहरूलाई
कालो अक्षर-
भैंसी बराबर!
तिनका आँखाहरूमा
उर्ध्वगामी फपर्के
छनक छैन!
पापी समयले निलेको
तिनको सपनाका अक्षरहरू
एक एक गन्नु पर्छ
गणकहरूले !

गिटी झैं कुटिएका
अक्षरहरू
निसृत मनको पानामा कोरिन्छन् !
पिएर झल्लो
गड्तिरे कान्छो
नेप्टीको मायाँले पग्लँदैन!
काठको बाकसमा
बहादुरहरूका लाश फर्कन्छन्!
तनावग्रस्त छ – रेमिट्यान्स
खुला एवाकसका अंकहरू
गन्नु पर्छ
गणकहरूले!

समय राप्तीको धार आज
गणकहरूको
नाममा बग्छ !
अन्तरेको मृत्युपछि
डाँडो बाँझै छ/
उनको छोरो
बेपत्ता छ – उहिल्यैदेखि/
रंगटेको टोकाई सहेर
पुतली
सालको पात टिप्छे /
अनि
प्याशहरूको टपरी गाँसेर
खसमको न्यानो
स्पर्श सम्झँदै
रात्रीकालिन कुहिरोका
काला गुजुल्टाहरूमा चिसिन्छे
मानौं, चिसिनु उसको कर्म हो
उसको कर्मका
संवेग, आवेग र प्रवेग सबै
गन्नु पर्छ
गणकहरूले!

मकैबारीको विचै वीच
हिलाम्मे बाटोमा-
बुर्कुसी मार्छन् -साइकलहरू /
गाउँमै पुग्छ:
मोटर अचेल /
थाप्लोमा भारी
कानमा मोबाइल र
मुस्कुराहट छ मुखमा:
गुरुङ ठागुको !
उनको सुखका रङ्ग पनि
गन्नु पर्छ
गणकहरूले !

झिनुवाको
बाला झुल्ने खेत
सहर बनेर उभियो!
छत छतमा मान्छेहरू
घिरौंलाको खेती गर्छन् /
कारखानाका मजदुरहरू
आगो पिएर बाँच्दछन् !
निर्बश्त्र छ-
सिंहदरवार,
त्यसैले निर्बश्त्र दौडन्छन् –
मुसहरबस्तीका बच्चाहरू!
साहूको मेलो
जोतेको जोत्यै छन्-
असार पन्ध्रका शिक्षकहरू !
रित्तो खाता
अँझै यो समय
सामन्तबादको डोली चढ्छ !
यसका सबै अवशेषहरू
गन्नु पर्छ
गणकहरूले!

देशको सेवामा
गणकहरू छन्,
सबै विचारका रङ्गहरू
अनि
रगतका धब्बाहरू
गन्नु पर्छ
गणकहरूले!

Leave a Reply

Your email address will not be published. Required fields are marked *