Skip to content


समयको पखेटा काटेर
स्थिर उभिन्छ
असमय,
अनि घुम्न थाल्छ
घडीको सुइको
विपरीत दिशामा !

असमयका मान्छेहरू
अमान्छेहरूमा परिणत भइसके !

यो ट्विन’ प्याराडोक्स’ सापेक्षता
सहन विवस छु !

मलामी मनका
लस्करहरू
खालि मृत्युको
धावा बोल्छन्

असमयको सपथ लिन्छन् !
प्रकृति भन्दा धेरै पर
समयको मृत्यु भएको सहरमा
ईश्वर त स्वतन्त्र छैन भने
अरुको के कुरा!!

विषयसुखमा आशक्त
राजा ययाति
छोरोसित
कलिलो यौवन माग्छ/
यो असमयको प्रतिक
समयसितको प्रतिशोध हो!

रातो माटाको ढिस्कोमा
सृष्टिको रातो बिहान पुरिन्छ !
असमयका
संक्रमित ब्लो अप’हरू
रक्तमुच्छेल शान्तिको
बिगुल फुक्छन् !
अनि
इतिहासको गर्भ तुहिन्छ !
मानवताबादको धज्जी उँड्छ !!

झ्याउँकिरीका
सुमधुर उन्मुक्त भाखामा
भन्छन् –
आजभोलि असार गाउनु पर्छ!
तर यो असमय
चैत फर्केर
सुसाइरहन्छ !!

घन्टाघर
समयको बिष्फोट बजाउँछ/
त्यसपछि
विचारहरूको प्रयोगशालामा
प्रतिपदार्थहरूको
प्रतिक्रियाबाट
असमयको उत्पादन शुरु हुन्छ !!

एक टेस्ट ट्यूब
वीर्य
एक टेस्ट ट्यूब
मायाँ !
समय र असमयको फ्युजनबाट
बिचित्रवीर्यको जन्म हुन्छ –
मृत्युको कुवामा !

असमयक्रमकी
छाउपडी,
मेरी छोरीको
स्निग्ध अनुहार-
फेसबुकको संजालमा देखिँदैन !
आकास खसेको बेलामा
हुटिट्याउँहरूलाई सोध्नु पर्ला-
समयको मृत्युका कारणहरू!!

भुइँचालोहरूमा अभ्यस्त
असमय
सहिद सम्झेर रुँदैन !
हिमाल सम्झेर रुँदैन !!
प्रलयकालमा प्रविष्ट
असमय
सीमान्तकृत बस्तीहरूको
नेपाल सम्झेर रुँदैन !!

असमयलाई
च्यातेर छिरेका
समयका किरणहरूले
बन्द कोठाको
चिस्यान तातिन्छ
अनि
असमयको घेरोबाट
बाहिर उभिन्छ समय,
र क्रमश: घुम्न थाल्छ
घडीको सुइको
अनुकूल दिशामा !

(अमेरिकामा सम्पन्न अन्तराष्ट्रिय कविता महोत्सव २०११ मा दोस्रो भएको कविता)

1 thought on “असमय”

  1. सरलाई बधाई!
    सरलाई बधाई! कविता साह्रै भावपूर्ण रहेछ, पुरस्कारको लागि साँच्चै योग्य लाग्यो ।

    यो कवितामा मैले बुझेका कुराहरू पछि राख्नेछु, तर अहिलेको लागि मझेरीमा यो उत्कृष्ट कविता राखिदिनुभएकोमा हार्दिक धन्यवाद छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *