खुशीको एक त्यान्द्रो
टुसाउनै लाग्दा,
बिहानीको किरणसँगै एक हुल
समस्याको बथान आएर
जदौ गरिदिदाँ
खुशीको टुसा
पिंडालुको गाभा जस्तै
लच्याक-लिचिक्क
गल्दो रहेछ
अनि
निहुरिएर हेर्न विवश हुँदो रहेछ आफ्नै लाज,
शायद
आफैं लाज बोध भएर होला
या त
आफैलाई लाचारपनाको आभाष हुन्छ,
फेरि ऊ शिर उँभो पारेर
सुन्दर बिहानीको प्रतिक्षामा हुन्छ…
हुन सक्छ कञ्चन शीतलाई
आफ्नो कर्कलोमा राखेर
टलपलाउन चाहन्छ..
फगत ! ती चाहना
प्रकृतिले कहाँ बुझ्छ र.!!
शीतलाई हिराको गहना
बनाई टल-पलाउन त्योई ऋतुको
आवश्यक्ता छ जुन ऋतुले
आफ्नो वार्षिक उत्सब मनाउदै
धुम-धामका साथ
शीतरुपी अमृत छार्किन्छ धर्तीमा
तातो रातो प्रकाशको बटालियन सहित
बिहानीले बलात्कार गरी क्षितिज नाघ्दा
उफ्! ती खुशी मर्दै पाखा बारीका गह्राहरू
निधारमा देखाउदै आफ्नो विवशताको परिचय
दिन्छ …
र आफू जन्मेको अनि बाँचेको आफैसँग
अर्थ खोज्छ …
राजेश रुम्बा लामा “अतृप्त”
०६-०७-२०११
