जल, थल, नभ सर्वत्र छाएर आऊ
अविरल, बेरोकटोक गड्गडाएर अधर्मसित लड्न
मृत्युको ढोल बजाउँदै आऊ
सुनामी भएर आऊ/हिमपात भएर आऊ
प्रकृतिमाथि बलात्कार गर्नेहरूका टाउकाटाउकामा खस्ने
भयानक गोला, बारुद र एटम बम भएर आऊ ।
प्रमिथसले दिएका आगाका एक एक झिल्का
मान्छेका हातबाट ननिभिउन्जेल
बर्षा ! तिमी भागीरथी भएर आऊ
सप्तकोसी भएर आऊ/हिन्दमहासागर भएर आऊ
अन्यायको रापले पिल्सिएको प्रचण्ड भूमिमा
तिमी पहिरो भएर आऊ/बाढी भएर आऊ, महाप्रलय भएर आऊ
हो, अब नष्ट हुनैपर्छ पूरै वर्तमान
सट्टामा, एउटा नयाँ युगको सूत्रपात हुनुपर्छ
र, संसारमा डढेलो सल्काएर खरानीको आगोमा रमाउने
अग्निहोत्रीका आयुरेखाहरू अब वर्तमानसितै सदाका लागि मेटिनुपर्छ ।
बर्षा तिमी जननी जीवनदायिनी मेरो पुकार छ, तिमीलाई
सुमेरु पर्वतमा बाँधिएर प्रमिथसले पाएको पीडाझैँ
उफ्, ऐय्या, आत्था भोगिरहेको म
काकाकूलझैँ लम्पसार परी धर्तीमाथि
आकाशतिर छाती फर्काएर एकोहोरो चिच्याइरहेछु
भन्छु, जलिरहेको आत्मामाथि न्याय होस्
मेरो इच्छा,
चिसिएर यहीँ म माटो माटो बनूँ/पग्लिएर यहीँ म पानी पानी बनूँ
पृथ्वीमाताको सानो अंश म उसको केवल एउटा रजकण मात्र बनूँ ।
मेरो प्रार्थना, हे ! आकाशदेव
मेरी आमा प्रकृतिमाता/नयाँ चोला फेर्न छटपटिएकी छन्
त्यसैले धर्तीमाथि एउटा सर्वाेत्तम सुनामी वीर्यपात होस् भन्छु
नयाँ सृष्टिको, नयाँ सिर्जनाको, नयाँ जीवनको
नयाँ मूल्य र मान्यता अनि सौन्दर्य र अमरत्वको
हरे, हिंसा र आतंकबाट मूच्छिर्त धर्तीमाता
रगताम्मे भएर मौन भाषामा/चीत्कार गरिरहेछ
सुनिन्छ, त्यही चीत्कार प्रतिध्वनित भएको छ सर्वत्र
अब तिमी बर्षाको पवित्र जलद्वारा पखालिएर
सदावहार, हरियाली र कञ्चन बन/मेरो लाख शुभकामना तिमीलाई
पृथ्वी, मेरो लाख लाख वन्दना तिमीलाई
बर्षा ! तिम्रो स्पर्श पाएर चितामाथि पनि
जीउन पाऊँ
तड्पिँदा अग्निकुण्डमा समेत तिम्रै शीतलता पिउन पाऊँ ।
नेपाल साप्ताहिक ४५३
