Skip to content


“डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन, खायो कि वाकवाकी गर्छ । चाँडै थाक्छ । खेल्दा पनि खेल्दैन, धेरै सुस्त भैसक्यो । के भएको हो राम्ररी हेरिदिनुस् न है ।” सुस्केरासहित बुद्धवीर थचक्क मेचमा बस्यो । उसको एक्लो छोरालाई महिना दिनदेखि सन्चो थिएन । बिरामी भएको भनेर त्यसो त बच्चो ओछ्यानमै थला परेको थिएन तर अरू बच्चाहरूले जस्तो चुलबुल गर्न भने छाडेको थियो । अघिपछि त खरायोझैँ घरभरि उफ्रेको उफ्र्यै गर्थ्यो, एकछिन चुप लागेर नबस्ने । सन्चो हुन छाडेपछि भने छोरो घरमा भएको-नभएको पत्तै हुन छाड्यो । ऊ निन्याउरो मुख लाउँदै स्कुल गएर आउँथ्यो, जसोतसो होमवर्क सकाएर पल्टिरहन्थ्यो । केही सोधे पनि मन लगाएर जवाफ फर्काउँदैनथ्यो, केवल चुप लागेर बसिरहन्थ्यो । छोराको चाला देखेर घरमा सबै आत्तिए । बुद्धवीर बढी आत्तियो । नआत्तियोस् पनि किन । एक्लो छोरा, त्यो पनि उमेर ढल्केपछि पाएको । योभन्दा अघि दुइटी छोरी उसका । जेठीको त अझ बिहे गर्ने उमेर पनि हुन थालिसक्यो ।

छोरामा आएको अस्वाभाविक परिवर्तन देख्दा सुरुसुरुमा त घरमा सबैलाई उसलाई “केही लागेको” आशङ्का भयो । त्यसैले धामी झाँक्री र जान्नेकहाँं देखाउँदैमा, पूजा र भाकलमै लागिरह्यो ऊ । रोग बीसको उन्नाइस पनि नभएपछि उसले छोरालाई गाउँकै स्वास्थ्य चौकीमा देखायो, छोरा ठीक भएन । त्यसपछि भने ऊ छोरालाई लिएर काठमाडौँ आएको थियो । होटेलतिर कति दिन सक्नु र बस्नु उसले ? उसमाथि महँगी चुलिएको काठमाडौँमा दुईचार सयले पुग्ने होइन । अरू त अरू, पिउने पानीसमेत किन्नु पर्ने । यै कारणले, बुद्धवीरलाई काठमाडौँ देख्दैमा दिक्क लाग्छ, आउनै नपरोस् भनेझैँ गर्छ । बाध्यता परेपछि के गर्नु ? यसपालि पनि छोरालाई जँचाउनै परेर मात्र ऊ काठमाडौँ आएको थियो । आउनु एक रात अघि मनमनै सोच्यो उसले, यस्तो बेला सहयोग गर्ने को छन् त काठमाडौँमा ! उसले सम्झ्यो, पाँच वर्षअघि उसको टाढाको आफन्त गाउँबाट काठमाडौँमा आएका थिए । हुन त, आफन्त भन्दैमा के गर्नु, के सोच्ने हुन् ? उनीहरूका पनि आफ्ना समस्या होलान् । तैपनि हुनसम्मको अप्ठ्यारो मान्दै पनि ऊ त्यही आफन्तकहाँ बस्न गयो । अलि बढ्तै स्वाभिमानी भएपछि पनि व्यवहार चलाउन असजिलो हुने रैछ । आ ऽ ! यस्तै बेलामा त हो आफ्नो भन्नु, आखिर धेरै दिन बस्ने पनि त हैन, यही सोचेर उसले आफ्नो मनमा ढाढस बँधायो र आफूलाई सहज बनाउन खोज्यो ।

उसको काम भनेकोे बिहानैदेखि अस्पतालको चक्कर लगाउनु हुन्छ । जँचाउनलाई लाइन बस्नुपर्ने झन्झट, बिरामीका भीड, औषधिका गन्ध, दिगमिग लाग्ने दुर्गन्धहरू र ठाउँठाउँमा कुर्नुपर्ने बाध्यताले गर्दा छोरालाई जँंचाउँदाजँचाउँदै ऊ आफैँलाई बिरामीजस्तो अनुभव भैसक्यो । “मलाई त यस्तो अस्पतालमा आउनै नपरे हुन्थ्यो जस्तो लाग्छ । दिनभरि कुर्‍यो बल्ल पालो आउँछ । फेरि गन्ध पनि, केके मात्र आउने हो ?” उसले नाक खुम्च्याउँदै सुनाएको सास्ती सुनेर छेउमै बसिरहेको एक जना बिरामी कुरुवाले हाँस्दै भन्यो, “हैन दाइ, अस्पतालमा आएपछि यस्तो गन्ध पचाउने बानी गर्नुपर्छ । सरकारी अस्पताल हो, ढिलो त भैहाल्छ । चाँडो र सुबिस्ता चाहिएको भए बरू कुनै निजी क्लिनिकमा जँचाए हुन्थ्यो नि ।” हुन पनि भीडभाडमा कोचिनु पनि नपर्ने र राम्ररी जाँचिएला भन्ने आशामा उसले पनि क्लिनिकमा जँचाउनु ठीकै ठान्योे ।

व्यस्त सडकको छेऊमा रहेको त्यो निजी क्लिनिकमा अलि बेर कुरेपछि, बल्ल उसको पालो आयो । रिसेप्सनिस्टले नाम बोलाएपछि छोरालाई बोकेर ऊ कोठाभित्र पस्यो । हेर्दा भर्खरको जस्तो देखिने ती कलिला डाक्टरले उसको छोराको नाक, कान, घाँटी जाँची स्टेथस्कोप लाएर छाती र ढाड पनि जाँच्यो । “अलि टन्सिल बढेजस्तो छ । एक हप्ताका लागि औषधि लेखिदिएको छु । भएन भने खवर गर्नुहोला ।” तर हप्ता दिन औषधि खुवाउँदा पनि केही सुधार देखेन बुद्धवीरले छोरामा । उसको छोरा त्यत्तिकै थकित र गलेको देखिन्थ्यो । ऊ फेरि डाक्टरकोमा पुग्यो । “भैहाल्यो, त्यसो भए त्यो औषधि नखुवाउनुस् । यो अर्को औषधि लेखिदिएको छु, साँझ-बिहान खुवाउनु होला ।” छोरालाई जाँच्दै डाक्टरले नयाँ प्रेस्क्रिप्सन लेखिदिए । यसपालि पनि औषधिले खासै असर गरेन । “डाक्टर साब, खै यो औषधिले त छुँदै छोएन छोरालाई । केही फरक नै देखिएन । अब त छाती पनि पोल्यो भनिरहन्छ ।” अर्को पटक आएर डाक्टरसामु यसरी भन्दा बुद्धवीरको आफ्नै छाती पोलिरह्यो । “यसो गर्नुस्, म अर्को एउटा औषधि पनि थपिदिन्छु । पहिलेको पनि खुवाइ नै राख्नुस् । यसले कस्तो हुन्छ हेरौँ । एक हप्तापछि आउनु होला ।”

झन् त्यो थपिएको औषधि खान थालेदेखि छोराको जीउभरि दाना निस्कियो, चिलाउने र डाहा हुने हुनथाल्यो । दुई तीन दिन त छोराको छट्पटाहटलाई उसले आँखा चिम्लेर सहृयो । औषधिले बिसेक गरिहाल्छ भनेर मन बुझाउन खोज्यो । अति भएपछि उसले छोरालाई फेरि क्लिनिक दौडायो । “औषधिको साइड इफेक्ट हो, आत्तिनु पर्दैन, त्यो बन्द गर्नुस् । म अर्को औषधि लेखिदिन्छु, शायद यसले ठीक गर्छ ।” त्यही रातदेखि डाक्टरले लेखिदिएका मलम पनि लाइदिन थाल्यो बुद्धवीरले छोराको खटिरामा । नयाँ औषधिले यसपालि पक्कै बिसेक गर्ला कि, उसलाई आशा लागिरह्यो । मलमले छोराको जीउमा आएका दानाहरू सुके । शायद औषधि कडा थियो, शरीरमा भने कालोकालो दाग बस्न थाल्यो । दुईचार दिन भन्दाभन्दै घरबाट आएको निकै दिन भैसकेको थियो । “अझै ठीक भएको छैन बाबुलाई ?” अफिस निस्कनुअघि आफन्तले कोठामा आएर सोधेको थियो । “छैन । हेर्नुस् न, यत्तिका दिन भैसक्यो ।” एक त छोराको बिमारी, अर्को कुरा अरूका घरमा त्यसरी बस्नु परेको थियो । आफन्तहरूले त्यस्तो केही नभने पनि त्यसरी बस्नु परेकोमा ऊ आफैँलाई अप्ठ्यारो लाग्थ्यो । बिरामी छोरा खान मन पटक्कै गर्दैनथ्यो । नखाएकोले दिन परदिन दुब्लाउँदै गैरहेको छोरालाई हेर्दै अनिँदो, अरूचि र तनावले बुद्धवीर आफैँ पनि गल्दै थियो । औषधिमाथि औषधि, पैसा पानीझैँ बगिसक्यो । न रोगै पत्ता लाग्यो न, त छोरालाई सन्चो हुनसक्यो ।

केही दिनका लागि त हो, त्यसपछि फर्कंदा घरपरिवारलाई पनि किनमेल गरी लगिदिउँला भनी ल्याएको थोरै पैसा पनि सकिन लागिसक्यो । आज पनि क्लिनिक जानुपर्ने दिन । आफ्नो अगाडि विरक्तिएर उभिएको बुद्धवीरतिर हेर्दै डाक्टरले भने, “एक पल्ट केही टेस्टहरू गर्नु पर्ला जस्तो छ । यो डायग्नोसिस सेन्टरमा मैले लेखिदिएका यी टेस्टहरू गराउनुस् । अनि अर्को औषधिहरू लेखिदिउँंला ।” त्यसपछि ब्लड टेस्ट, युरिन टेस्ट, स्टुल टेस्ट र भिडियो एक्सरेहरूपछि औषधिको थुप्रो बोकेर ऊ छोरासँग फर्कियो । छोरालाई के भएको छ, थाहा हुन सकेको छैन, रिपोर्ट हेरेपछि मात्र भन्न सकिने कुरा डाक्टरले उसलाई भनेका थिए । तीन दिन कटाउन पनि निकै गाह्रो भयो उसलाई । तेस्रो दिन ऊ रिपोर्ट लिन गयो । “रिपोर्टमा खासै कुनै खराबी देखिँदैन । केही भएको छैन । यो औषधिले त छुनै पर्ने हो । पाँच दिनका लागि यो औषधि हरेक राति सुत्नुअघि खुवाइ हेर्नुस्, ठीक हुनुपर्छ ।” यसपालि पनि एउटा अर्को अनुमान, एउटा अर्को परीक्षण ।

ऊ काठमाडौँ आएको दुई महिना भैसक्यो । उसको छोराको अवस्था अझै सुध्रे्रको थिएन । छोरो टाउको दुख्यो भनी पल्टेपछि आँखै खोल्न मान्दैन । दुब्लाएर हाडछाला मात्र भैसक्यो । आँखामुनि गहिरा खोपिल्टाहरू परिसके । अरूचि र अनिद्राले कमजोर बनाई पहेँलिएको छोराको शरीर देख्दा हतास बुद्धवीरको हातखुट्टा त्यसै फतक्क गल्थे ।

थोरै खाना खाएर भर्खरै दिइएको औषधि खाएपछि छोरो भुसुक्कै निदायो । छोरो निदाएकोले अव त शायद ठीक हुन्छ भन्ने झिनो आशा पलायो उसमा । व्यंूँझनेबित्तिकै भने उसको छोरोले उल्टी गरुँलाझैँ गरेर वाकवाक गर्न थाल्यो । एकपल्ट हैन, दुईपल्ट हैन, त्यसपछि निरन्तर उल्टी गर्न थालेपछि हठात् उसले छोरोलाई त्यत्ति नै बेला ट्याक्सीमा हाली क्लिनिक कुदायो । डाक्टर क्लिनिकमा थिएन । बाहिर मिटिङमा गएको भन्ने बुझियो । टेलिफोनमा कुरा गरौँ न भन्दा, बोलाउन नमिल्ने, अन्यथा गाली पाइन्छ भन्ने जवाफ फर्कियो उनका असिस्टेन्टहरूबाट । साँझ मात्र आउँने भनिएका डाक्टरलाई उसैले आफ्नो मोबाइलबाट फोन गरेर उल्टी मात्र रोक्ने भए पनि औषधि लेखिदिन भक्कानिएर अनुरोध गर्‍यो ।

साँझ डाक्टर आउँदा अलि रुष्ट थियो । “तपाईं अलि बढी आत्तिनु हुन्छ । को बिरामी हुँदैनन् । हेर्नुस्, हामीले त तपाईंका छोराजस्ता धेरै बिरामी हेर्नुपर्छ । योभन्दा सिरियस केस हुन्छन् । तपाईंका जस्ता पीर के अरूलाई हुँदैन र ?” डाक्टरले यसो भनिरहँदा ऊ केही बोल्नै सकेन । उसको आफ्नो पो छोरो । डाक्टरका लागि को हो र ? मात्र एक बिरामी । यस्ता र यीभन्दा धेरै जटिल बिरामी उनका सामु अनेकौँ आउँदा हुन् ।

“डाक्टर साब, ठीक त हुन्छ हैन, मेरो छोरो ? यता गाह्रो हुने हो भने बाहिर लानु पर्ने पो हो कि ?” बुद्धवीरका गला अवरुद्ध भए । “हेर्नुस् ! डाक्टर भनेका पनि मान्छे नै हुन्, हामीले गर्ने भनेको प्रयास हो र हामी सक्दो प्रयास गर्छौं । नआत्तिनुस् । मैले सकेजति गरेको छु, अब पनि कोसिस गर्छु, बाँकी कुरा भगवान्को हातमा । अहिले मलाई हतार छ । मिटिङ पनि भ्याउनु छ । औषधि लेखिदिएको छु, दिनको तीन पटक ख्वाउँदै गर्नुस् ।” डाक्टर आफ्नो ब्रिफकेस लिएर बाहिरियो ।

विचरा बुद्धवीर, एक हातमा प्रेस्क्रिप्सन र विभिन्न टेस्ट रिपोर्टका बिटो समाती अर्को हातले काँधमा रोगले गलेर लत्रिएको छोरो च्यापेर अन्यमनस्क डाक्टर गएको दिशातिर टोलाइरह्यो ।

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *