म पूर्व–पश्चिम
लमतन्न ढल्केर बसेको छु
मेरो शरीरभरि
पिलो निस्केको छ
कसैले अलिकता छुदा पनि
कति विघ्न दुख्छ भने
यो पिलो !
आ……हा..हा …हा !
अलि चर्को स्वरले
छोराछोरीहरूलाई हकार्दा पनि
यही पिलो दुख्छ
गुहारका शब्दहरू कराउँदा पनि
दुखेर खपिनसक्नु हुन्छ
यसो बाहिर फेरो
निस्कनु भने पनि
कसैले छोइदेला
र हुरुक्कै हूँला कि भन्ने डर
हे ईश्वर
कस्तो पीडा !
आफैले आफैलाई
सुम्सुमाउदा पनि
पीडाले तर्सेर बुरुक्कै उफ्रिन्छु
खै कसरी सहनु ?
कता जाउँ ? के गरूँ ?
छोएर छोइ नसक्नु छ
यो पिलो
निचोरी फुटाउने त
कुरै नगरौं
डाक्टरलाई देखाउँ भने
चिरिदेला
आ……हा..हा …हा !
सम्झिदा पनि
कति दुख्छ यो पिलो !
शरीर त मेरो
सुन्दर छ नि
तर पिलोले दुखेको छु
शीरमा मुकुट त छ नि
सगरमाथा !
तर दुखाइले
लोक प्रियता कमाएको छु
मेरो शरीरैभरि
नसैनसा छ
नसाभरि नदी–नालाहरू
तर म रातभरि
तारा गनी बस्छु
जून पनि
पूर्णिमाको रातमा मात्रै
हास्दो रहेछ
मेरो निम्ति ।
मलाई मेरो पिलोबाट
कसले मुक्ति देला ?
मैले कहिले
आरामसँग / उन्मुक्तिका साथ
लडिबडी गर्न पाउने होला ?
शहीद त मैले कति देखिसकें
विचरा बाँचेका भए
कति दुखिबस्थे होला !
यही पिलो जस्तै
सान्त्वनाले
पीडा कहाँ विलाउदो रहेछ र !
भोगाइ भन्दा पर
अर्को सत्य कहाँ छ र ?
यहाँ पिलोले
हुरुक्कै पारेको बेला
त्यसका बाउको
मसाज सेन्टर !
मन समाल्नुको कुरै छोडौं
मन हुनेको पो मन दुख्छ
मेरो त
मनै भाँचेको छ
त्यसैले पिलो मात्र दुख्छ
दुखिबस्छ ।

PILO aayo
Ahile malai pilo aayako chha. tapaiko kabita le mero pilo dukhai kam garayo.
Dhanyabad
Dhanyabad