Skip to content

एक हौं, संयमताका साथ क्रान्ति गरौं

  • by


समानताको नारा घन्किदै गर्दा
बराबरीको निमित्त लडाँई चर्किदै गर्दा
गरिब र धनी बीचको गहिरो खाडल पुर्न
आफ्नो हक र अधिकारको लागि
आरोप प्रत्यारोपले चरमचुली छुदैँछ
वर्ग बिभेदको अन्धकारलाई चिर्न
एउटा नयाँ, नौलो, नितान्त बेग्लै
संसारको स्थापनको लागि
टाउकेहरूको जमघट हुदैँछ
शहरको ठूला ठूला पाँचतारे होटलहरूमा
मध्यरातमा ह्व्स्की र बियरका बोतलहरू फुट्दैछन्
हो-हल्ला र शोरशराब मच्चिदैछ
संसार नै आफ्नो खल्तीमा राखे झै
घमण्डले छाती फुलाउँदैछन्
क्रुर नियत र कुटिल अट्टहास छर्दैछन्
रङ्गमञ्चको दुनियाँमा झै सबै व्यस्त छन्
सबै आफ्नै ताल र सुरमा मस्त छन्
तर शहर यो भार थेग्न नसकी
आफ्नो छातीमा गह्रौँ पीडा बोक्दै
बिभत्स दृश्यहरू चुपचाप हेर्न बाध्य छ
रापिलो झिरले उनिए झै छट्पटिदैछ
तैपनि सारा दु:ख दर्दहरू लुकाएर
मनभरि पीडाका आगो दन्के पनि
हिउँ झै ठण्डा छ
हाँस्दैछ यो शहर, सहँदै छ व्याथा
किनकि त्यहि शहरको छेउमा
गरिबको घरमा टुकी त के
चुल्हो समेत नबलेको धेरै भैसक्यो
थालहरू रित्तै छन्
भोक र तिर्खाबीचको संघर्षले
बेजोडको पीडादायिक ध्वनी पैदा गरेको छ
तर ती ध्वनीहरू झुपडी बाहिर पुग्न सकिरहेको छैन
बन्द कोठामा बन्द भएका छन् आवाजहरू
कहि कतै विलिन हुदैछ
चकमन्न रात अनि शुन्य वातावरण
मुर्दा शान्ति कायम छ
एउटै रगत एउटै जीवन
फेरि यो असमानता किन?
कहिले सम्म यो वर्ग बिभेद?
उहि सन्तान प्रकृतीको
तै पनि यो भेदभावको बाछिटाहरू किन?
बाँच्ने शैलीमा आकाश पातालको फरक किन?
त्यसैले यो मुर्दा शान्तिभित्रको अशान्तिलाई ढाल्न
वर्ग बिभेदलाई शिसा झै झर्‍यम् झुरुम्म पार्न
असमानताबिरुद्दको युद्द छेड्नु पर्छ अब
आउ भत्काईदेउ यी सीमाहरू
च्यातिदेउ कानुनका ठेलीहरू
उन्मुक्तिको श्वास फेर्न
नयाँ संसारको भाग्य कोर्न
जहाँ जीन्दगी कुनै जेल जस्तो नहोस
हतकडी नेल जस्तो नहोस
फोहरी खेल जस्तो नहोस
जहाँ कुनै बेतिथि, बिसंगती नहोस
दुर्गन्धित दृश्यहरू नहोस
स्वार्थहरूको लुछाचुडी नहोस
मात्र समर्पण होस
आत्मिय भाईचारा र सद् भाव होस
भावनात्मक सम्बन्ध होस
सबैमा सबैलाई स्वीकार्यता गर्ने गुण होस
कुनै दमन बिरुद्दको आवाज उठाउन नपरोस
एक अर्का प्रति सम्मान होस
यस्तो संसार स्थापित होस जहाँ
उन्मुक्तिको श्वास फेर्न सकियोस
चैनको बास होस, एकरुपता होस
पीडामुक्त साम्राज्य होस
आउ यस्तो संसार बनाउन हातेमालो गरौँ
आलिंगन गरौं
काँधमा काँध मिलाई
अघि बढौं
एक हौं
संयमताका साथ क्रान्ति गरौं
फुटाऊ यो बिभेद
टुक्र्याऊ यो असमानता
मात्र समनता हुनेछ
मात्र स्वतन्त्र जीवन हुनेछ
उन्मुक्त हुनेछ
उच्छवासबात मुक्त हुनेछ
हरेक जीवन उज्यालोले सबैलाई चुम्नेछ
मिर्मिरेले सबैलाई स्वागत गर्ने छ !

राजेश रुम्बा लामा “अतृप्त

(आदिकवि भानुभक्त आचार्यको १९८ औं जन्म जयन्तीको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर तथा नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतारद्वारा संयुक्त रुपमा आयोजित ‘खुल्ला कविता प्रतियोगिता-२०६८’ मा मैले बाचन गरेका यो कविता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *